जाडो मौसम सुरु भएको छ । सामान्यतया १५ डिग्री सेल्सियसभन्दा तल तापक्रम झरेपछि जाडो महसुस हुन थाल्छ । गत कात्तिकको अन्तिम सातादेखि नै राजधानी काठमाडौँको तापक्रम १५ डिग्रीभन्दा तल ओर्लन थालेको हो । एक साता यता तापक्रम ह्वात्तै घटेर ६–७ डिग्रीको हाराहारीमा आइपुगेको छ । अझै डेढ महिनासम्म तापक्रम घट्दै जाने सिलसिला निरन्तर रहन्छ ।
काठमाडौँको तापक्रम कहिलेकाहीँ शून्य डिग्री सेल्सियसभन्दा पनि तल झर्ने गरेको छ । हिमाली क्षेत्रमा त यो याममा जाडो छल्न पशु चौपायसमेत लिएर तल्लो भेकमा बसार्इं नै सर्ने चलन छ । हिमाली गाउँहरू यतिबेलासम्म रित्तिइसकेका छन् ।
उच्च पहाडी क्षेत्रमा पनि जाडो याममा जीवनयापन निकै कष्टकर हुन्छ । तुलनात्मक रूपमा तराई क्षेत्रमा कम जाडो हुन्छ । तर पछिल्ला दशकहरूमा वायु प्रदूषण बढेका कारण तराईमा पनि कैयौँ दिनसम्म घाम नलाग्ने र शीतलहरको अवधि पनि लम्बिने समस्या देखिएको छ । जाडोमा कठांग्रिएर मानिसको ज्यान जाने गरेका घटना तराईमा समेत बढ्न थालेका छन् ।
मौसम परिवर्तन तथा मौसम अनुसार हावापानी परिवर्तनको चक्र नेपालको मुख्य विशेषता हो । यसले जैविक विविधतामा सहयोग पु¥याएको छ । सानो भूखण्डमा समेत धेरै प्रकारका वनस्पतिहरू पाइनुका कारण हवापानी परिवर्तनको चक्र हो । जसलाई प्रकृतिको वरदानसमेत मानिएको छ । तर, प्रकृतिविरुद्ध मानवीय क्रियाकलाप बढ्दै गएका कारण विषमता पनि बढ्दै गएको छ । हिउँदमा शीतलहरको अवधि लम्बिँदै जाने, गृष्म ऋतुमा तातो हावा लु चल्ने अवधि लम्बिँदै जाने, वर्षायाममा एकैचोटी धेरै पानी पर्ने लगायतका समस्याहरू बढ्न थालेका छन् । हिउँद याम हिमाली क्षेत्रको जनजीवनका लागि कष्टदायक भए पनि बाँकी क्षेत्रका लागि भने रमाइलो मौसम मानिन्थ्यो । जाडो बढे पनि स्वास्थ्यका लागि अनुकूल नै मानिन्थ्यो । तर पछिल्ला वर्षहरूमा वायु प्रदूषण बढेका कारण हिउँदयाम कष्टकर बन्दै गएको छ । वायु प्रदूषणका कारण घाम नलाग्ने, घाम नलागेका कारण चिसो अझ बढ्ने, चिसो बढेका कारण वायु प्रदूषण पनि थप बढ्ने समस्या देखिन थालेको छ । विगतमा जाडोको मौसममा अस्पतालहरू खाली हुन्थे, तर पछिल्ला वर्ष जाडोको मौसममा अस्पतालहरूमा सबैभन्दा बढी भिड देखिने गरेको छ । सबैभन्दा बढी मृत्युदर पनि जाडोकै मौसममा हुन थालेको छ ।
केही दशक अघिसम्म राजधानी काठमाडौँ हावापानीको दृष्टिले दक्षिण एसियाकै उत्कृष्ट सहरमध्येमा पथ्र्यो । तर अहिले विश्वकै सबैभन्दा प्रदूषित ६ वटा सहरको सूचीमा राजधानी काठमाडौँ पनि परेको छ । हिउँदयाममा राजधानी काठमाडौँ बस्न लायक नभएको ‘एयर क्वालिटी इन्डेक्स’ले उल्लेख गरेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १५५ एक्युआई छ । जबकी एक्युआईअनुसार शून्यदेखि एक्युआई ५० राम्रो मानिन्छ । ५१ देखि १०० सम्मको एक्युआईलाई होसियार रहनुपर्ने सूचीमा राखिएको छ यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ मानिन्छ । १०० एक्युआई कट्नासाथ श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्ने विज्ञहरू बताउँछन् । १५१ देखि २०१ सम्मको एक्युआईले सबैलाई असर गर्ने र अस्वस्थ भन्ने बुझिन्छ । राजधानी काठमाडौँ उपत्यकाको वायु प्रदूषणले खतराको तह पार गरेको एक दशक अघिदेखि नै हो । यो क्रम घट्दो होइन बढ्दो छ । तत्काल समाधान गर्न सकिने समस्या होइन यो ।
त्यसैले जाडोको मौसममा सकेसम्म अथवा विकल्प भएसम्म राजधानी काठमाडौँ बाहिर गएर बस्नु राम्रो हुन्छ । खासगरी मध्य पहाडी क्षेत्र खासै प्रदूषित छैन । सरकारले पनि काठमाडौँ उपत्यकामा केन्द्रित गरिएका अवसरहरूलाई विकेन्द्रित गर्नेतर्फ ध्यान दिनुपर्छ ।
प्रतिक्रिया