प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला बिहीबार सम्पन्न भयो । कार्यशालामा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.बालाकृष्ण अधिकारीले ‘अनुसन्धान लेखको संरचना र प्रक्रिया’ शीर्षकको कार्यपत्रमा आफ्नो विचार राखे ।

डा.अधिकारीले अनुसन्धान लेखको परिचय, संरचना, लेखका अंगको परिचय, अनुच्छेदको संगठन लगायतका विषयको चर्चा गर्दै शोधलेखनले ज्ञानको व्यवस्थित प्रकाशन र नवीन ज्ञानको खोजी गर्दै अनुसन्धानमा मौलिक पद्धतिको अवलम्बन गर्नुपर्ने विषयमा जोड दिए । साथै उनले कार्यपत्र प्रस्तुतिपश्चात् सहभागीहरूबाट उठाइएका विभिन्न प्रश्नहरूको समाधानको उपायसमेत सुझाए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अन्य विधाका अनुसन्धान र ललितकलाको अनुसन्धानबीचको भिन्नता बुझेर गम्भीर अवलोकनपछि मात्रै ललितकलाको प्राज्ञिक लेखन गर्न सकिने विचार व्यक्त गरे ।

साथै उनले अग्रज र विशिष्ट योगदान दिएका कलाकारहरूको जीवनीलाई अनुसन्धान गराउँदैै नवप्रतिभालाई उत्प्रेरित गर्ने बताए । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा ललितकला प्रज्ञा जर्नलका कार्यकारी सम्पादक विष्णु ज्ञवालीले कार्यपत्रमाथि टिप्पणी गर्दै अनुसन्धान लेखनलाई जटिलतातर्फ नलगी वस्तुपरकतातर्फ उन्मुख गराउनुपर्ने बताए ।

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्व निर्देशक प्राडा विष्णु दहालले पूर्वीय र पाश्चात्त्य शोध पद्धतिका आधारमा ललितकलाका सबै विधाको अनुसन्धान गर्दै प्राज्ञिक लेखन गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तेजविलास अधिकारीले ‘प्राज्ञिक अनुसन्धानले सिर्जनालाई परिचित तुल्याउँदै सम्मानको वातावरण सिर्जना गर्छ, साथै यसले ललितकलाका विविध फाँटमा अनुसन्धानका लागि मार्ग प्रशस्त गर्ने विचार राखे । यस किसिमका कार्यशालाले अनुसन्धातालाई लेखन कार्यमा उत्प्रेरित गर्ने बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानका विभिन्न गतिविधिबाट प्राज्ञिक लेखनका निम्ति वातावरण तयार गर्दै अगाडि बढेको विषय उल्लेख गरे ।

ललितकलाका क्षेत्रमा शोध, अनुसन्धान अपर्याप्त रहको विचार राख्दै त्यसको प्रवद्र्धनका लागि नियमित रूपमा छलफल चलाइएको बताए । साथै उनले नेपाली कलाको सैद्धान्तिकीकरण र नेपाली कलालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने विचार राखे ।

कार्यपत्र प्रस्तुतिमाथि प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, प्राज्ञ एससी सुमन, अजय शर्मा, विक्रममणि त्रिपाठी, केशवराज खनाल, जगत् वाशिष्ठलगायतले प्राज्ञिक लेखनका विविध पक्षमा जिज्ञासा राखे ।

कार्यशालामा नेपाल ललितलका प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ र केशव सिलवाल लगायतको उपस्थिति थियो । यसैगरी, एनबी गुरुङ, पारस ढकाल, नरबहादुर बिसी, घनबहादुर थापा, रेनु अधिकारी मौनता, लोकनाथ भुसाल, देवी मैनाली, सन्तोष राई र सुशील विके पनि उपस्थित थिए । जेनी घले, रेनुका ढकाल, नारायण ढुंगाना, हरिराम अधिकारी, राजमान महर्जन, दीपक श्रेष्ठ लगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।

प्रतिक्रिया