काठमाडौँ । क्रिसमस डेलाई लक्षित गर्दै नयाँ गीत ‘येसु जन्मिनुभयो’ सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गीतमा शंकर थापा (स्माइल) र अनु चौधरीको स्वर रहेको छ । गीतमा राजु सुन्दास र सुरेन्द्र दियालीको शब्द छन् । गीतमा संगीत भर्ने काम भने गायक शंकरले नै गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा भिडिओ प्रिमियर पनि गरिएको थियो । गीतको भिडिओमा कलाकार अभिषेक श्रेष्ठ र बिना राउतसँगै समाजसेवी तथा कलाकार हन्ना बादीको अभिनय रहेको छ । गणेश शाहीले निर्देशन गरेको भिडिओले क्रिसमसलाई उल्लासका साथ मनाउन आग्रह गरेको भाव दिएको छ । भिडिओ खिच्ने काम विशाल थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि लोकप्रिय गायिका सलोमी तिमोथी (लेप्चा) ले गीतको प्रशंसा गरिन् । उनले गीतको अडियोदेखि भिडियो उत्कृष्ट रहेको भन्दै बधाई तथा सफलताको शुभकामना दिइन् । यस्तै गीतकार राजु सुन्दासले गीतलाई पूर्णता दिनका लागि आजसम्म सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिए । गायक शंकर थापा (स्माइल) आफूले अहिलेसम्म काम गरेको झण्डै २ हजार गीतमध्ये यस्तो किसिमको गीत पहिलोपटक बनाउन र स्वर दिन पाएको भन्दै अनुभव साटे । कार्यक्रममा गायिका अनु भने अनुपस्थित थिइन् ।
यस्तै भिडिओका निर्देशक गणेश शाहीले भिडिओ निर्माणका लागी गीतकारसमेत रहेका गीतका निर्माता राजु सुन्दासले कुनै पनि कुरामा कमी हुन नदिएको बताए । उनका अनुसार भिडिओमा ७ लाख लगानी भएको छ । दरबारमार्गस्थित राइजिङ मलको फिल्म हलमा १ घण्टा सञ्चालित कार्यक्रम पासाङ तामाङको प्रार्थनाबाट सुरु भएको थियो । कार्यक्रममा समिर अधिकारीले स्वागत मन्तब्य दिएका थिए ।
प्रतिक्रिया