काठमाडौँ । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डको आयोजनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा कार्कीले ‘प्रसाद–२’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बने । कार्यक्रममा सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जित्यो । ‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले प्राप्त गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो ।
उत्कृष्ट सम्पादकको पुरस्कार ‘महाजात्रा’का लागि मित्र डी गुरुङले पाए । उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लिम्बू भाषाको ‘लोजिमा’ घोषित भयो ।
प्रतिक्रिया