भरतपुर । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य राख्न निर्देशन दिएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा शुभारम्भपछि मन्त्री पौडेलले अस्पतालले फार्मेसीमा कुनै औषधि छैन भन्न नपाउने बताए । ‘अस्पतालमा सबै औषधि उपलब्ध हुनपर्छ,’ उनले भने, ‘कुनै पनि औषधि छैन भनेमा त्यो अब गैरकानुनी ठहर्छ ।’
अस्पतालले आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्दा अस्पताललाई नै नाफा हुने भन्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा उपलब्ध भएको औषधि अन्तभन्दा सस्तो हुँदा सेवाग्राहीलाई पनि सजिलो हुने बताए । अस्पतालका सबै फार्मेसीमा औषधि उपलब्ध गराउने योजनाका साथ मन्त्रालयले काम गर्दै आएको बताउँदै पौडेलले औषधिको मूल्य पनि प्रष्टसँग देखिने गरी टाँस्नुपर्ने बताए ।
मन्त्री पौडेलले अस्पतालको सेवामा दुई सिफ्ट लागू गरिएको भन्दै तेस्रो सिफ्ट पनि सञ्चालनको तयारीमा लागेको जनाए । उपलब्ध जनशक्ति परिचालन गरेर धेरैभन्दा धेरै सेवा दिनुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहाना बनाएर सेवा दिन कञ्जुस्याइँ नगर्न निर्देशन दिए ।
प्रतिक्रिया