काठमाडौँ । अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म ‘बम बहादुर’ को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ । फिल्म ५ पुसमा नेपाल र भारतमा एकै दिन रिलिज हुने जनाइएको छ ।
सन्देशमूलक र ऐतिहासिक कथावस्तुको फिल्मले भारत दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुबर्समा बसोबास गर्ने नेपालीभाषी समुदायको संघर्षलाई प्रस्तुत गर्छ । १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि फिल्म आधारित छ । फिल्मका निर्देशक जोन राईले फिल्म भारतका नेपाली समुदायले भोगेको संघर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न बनाएको बताए । यसले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स, र सोसल ड्रामाको अनुभव गराउने राईले बताए ।
उनले यस चलचित्रले ‘बम बहादुर’ नामक पात्रको जीवनमा ४ दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको छ भन्ने कथा प्रस्तुत गर्ने जनाए ।
निर्माता सञ्जीव सार्कीले सन्ततिले आफ्नो इतिहास बिर्सिन नपरोस् भन्ने उद्देश्यले यो फिल्म बनाएको बताए । बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको यस फिल्मको प्रमुख भूमिकामा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय छ ।
जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस फिल्मको छायांकन सुजोय कुमार घोष ‘मुन्ना’ ले गरेका छन् भने सम्पादन ज्ञान गुरूङको छ । रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले फिल्म वितरण गर्नेछ ।
प्रतिक्रिया