१० गतेसम्म भिसा, हवाई टिकट र कार्यक्रमको सेड्युल नै नपाएको बताएका अधिकारीले ११ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र त्यही सबै डकुमेन्ट पाएको शंकास्पद बयान दिएका हुन्
काठमाडौँ । मानव तस्करी जस्तो जघन्य अपराधको अभियोग लागेका कोसी प्रदेशका पूर्व गृहमन्त्री लीलाबल्लभ अधिकारीलाई सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने आधार र कारण नदेखिएको भन्दै ‘क्लिन चिट’ दिएको छ । प्रहरी प्रतिवेदनले मानव तस्करीमा संलग्न भएको आधार देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरे पनि सरकारी वकिल कार्यालयले सोमबार मुद्दा नचलाउने निर्णय गरेपछि सोमबार नै रिहा भइसकेका छन् ।
अधिकारी कोसी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकै बेला जापानमा हुने ‘एक्सेस टु होम कल्चर २०२४’ को ७ दिने कार्यक्रममा भाग लिन भन्दै जापान गएका थिए । तर, उनीसँगै जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा पनि मन्त्रालयकै फर्जी कागज बनाएर जापान पुगेपछि मन्त्रीसहितलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।
अधिकारीले नै जापान पुगेर सो प्रकरणबारे जानकारी दिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । प्रहरीले भने अधिकारीसहित १२ जनालाई ३ वटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिए पनि राजनीतिक दबाबका कारण अधिकारीलाई उन्मुक्ति दिइएको हो ।
प्रहरी अनुसन्धानका क्रममा अधिकारीले दिएको बयान नै शंकास्पद देखिएको छ । उनले जापान जाने चाँजोपाँजो आफ्नै साथी योगराज गौतमले मिलाएको बताएका छन् । १० कात्तिकमा गौतमले नै ‘तपाईंको भोलि जापानको टिकट छ’ भनी जानकारी गराएको र आफूले कार्यक्रमको सेड्युल र टिकटबारे सोध्दा पठाइहाल्छु भन्दै आलटाल गरेको अधिकारीले बयानका क्रममा बताएका छन् ।
‘१० कात्तिकमा मलाई योगराज गौतमले फोन गरी तपाईंको जापानको फ्लाइट भोलि बेलुका ९ बजेको समयमा छ, टिकट मैले हिजो नै ह्वाट्सएपबाट पठाइदिएको छु भनी खबर गरेकाले मैले उनलाई कार्यक्रमसम्बन्धी सम्पूर्ण कागजात पठाइदिनु भन्दा हुन्छ, हुन्छ भन्दै आलटाल गरी बसे, तर पठाएनन्,’ बयानमा अधिकारीले भनेका छन् ।
तर, जापानको भिसा लागेको राहदानीको प्रमाण, हवाई टिकट, कार्यक्रमको सेड्युल नै नपाएका अधिकारी ११ कात्तिकको साँझ ५ बजे नै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको उनैले बयानमा भनेका छन् । ‘११ कात्तिकको बेलुका ५ बजेको समयमा मेरो भिसा लागेको राहदानी, प्लेनको टिकट र कार्यक्रमको सम्पूर्ण कागजातहरू समेत मलाई योगराज गौतमसँग आएका महेश पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको बाहिर रहेको कान्तिपुर क्याफेमा भेट गरी दिएका हुन् ।’
आफूले महेश पाण्डे भन्ने व्यक्तिलाई त्यतिबेला मात्रै देखेको र भेटेको बताउँदै उनले भनेका छन्, ‘सोही बेलामा मेरो अंगरक्षकलाई फोटो खिच्न लगाएको थिएँ, सो फोटो पनि मैले प्रहरीलाई तत्कालै पठाइसकेको छु । महेश पाण्डेले मलाई सबै कागजात यसैमा छ हेर्नु भनी दिएपछि मैले ती कागजातहरू आफ्नो झोलामा राखी अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरी जापानका लागि क्याथे प्यासिफिक विमानबाट जापानतर्फ प्रस्थान गरेको हुँ ।’
पहिलो त प्रदेशसभाको सदस्य, त्यसमाथि प्रदेशको गृहमन्त्री जस्तो पदमा बसेको व्यक्ति भिसा नै नलागी, टिकट नै नआई र कहाँ कुन कार्यक्रममा जाने हो भन्ने टुंगो नहुँदै विमानस्थल किन पुग्यो भन्ने प्रश्न उब्जिएको छ । यसबाटै उनी मानव तस्करीमा संलग्न रहेको हुन सक्ने यथेष्ट प्रमाण रहेको एक कानुन व्यवसायी बताउँछन् ।
त्यति मात्र होइन, अधिकारीले जापान जान कुनै पनि वैधानिक प्रक्रिया पूरा गरेका थिएनन् । प्रदेश वा स्थानीय सरकारका प्रतिनिधिले विदेश भ्रमणमा जाँदा संघीय सरकार वा परराष्ट्र मन्त्रालयको सहमति अनिवार्य लिनुपर्ने प्रावधान छ । तर, तत्कालीन अवस्थामा प्रदेशको गृहमन्त्री रहेका अधिकारीले संघीय सरकारको सहमति लिनु त परको कुरा प्रदेशकै मन्त्रिपरिषद्बाट समेत स्वीकृति लिएका थिएनन् ।
जापान उड्ने अघिल्लो दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फोन गरेर ‘म भोलि जापान जाँदै छु’ भनेर जानकारी गराएका थिए । मन्त्रीको फोनपछि आश्चर्यमा परेका मुुख्यमन्त्री कार्कीले प्रदेशको मन्त्री विदेश जाँदा अपनाउनुपर्ने प्रक्रियाका बारेमा जानकारी गराउँदा पनि अटेर गरी उनी जापान उडेका थिए ।
अर्को कुरा तत्कालीन मन्त्री अधिकारी कुनै सरकारी वा कूटनीतिक निमन्त्रणामा जापान गएका थिएनन् । यो कुरा उनले अनुसन्धान अधिकारीसँगको बयानमा पनि खुलाएका छन् । ‘साथी गोपाल भन्ने योगराज गौतमले मलाई फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदै छ, आयोजककै खर्चमा जाने गरी पठाइदिन्छु भनेकाले म गएको हुँ,’ बयानमा उनले भनेका छन्, ‘यसअघि पनि वल्र्ड युथ फेडेरेसनको आयोजनामा दक्षिण अफ्रिकाको जोहनेसवर्गमा भएको विश्व युवा सम्मेलन, वल्र्ड पिस काउन्सिलको आयोजनामा फिलिपिन्स, श्रीलंका समेतमा भएको कार्यक्रममा भाग लिइसकेको छु ।’
लायन्स इन्टरनेसनलको कार्यक्रमबाहेक अन्य कार्यक्रममा भाग लिन जाँदा आयोजकले नै सबै खर्च बेहोरेका हुँदा जापानमा हुने कार्यक्रममा पनि आयोजकले नै सबै खर्च ब्यहोर्ने भनेकाले आफू गएको उनको बयान छ ।
प्रतिक्रिया