प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महाननगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को आपसी द्वन्द्वले सामान्य राजनीतिक शिष्टाचारको पनि सीमा नाध्न थालेको छ । पछिल्लो पटक गत शुक्रबार काठमाडौंको दरबारमार्गमा अराजकता विरुद्ध खबरदारी सभा भन्दै सत्तारुढ एमालेले आयोजना गरेको सभास्थलमा फोहोर गरेको आरोपमा काठमाडौं महानगर प्रहरीबलले १ लाख रुपैयाँ जरिमाना गरिएको पत्र काटेपछि यो टसल थप छताछुल्ल भएको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेको सभास्थल दरबारमार्गमा सडक तथा सडक पेटीमा फोहोर गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले जरिमानाको पत्र एमाले केन्द्रीय कार्यालयको नाममा पठाएको थियो । एमालेले १ लाख कार्यकर्ता उतार्ने भन्दै आयोजना गरेको कार्यक्रमस्थलमा फोहर गरेको भन्दै कार्यक्रम सकिंदा नसकिंदै सोही दिन १ लाख रुपैयाँ जरिमाना गरिएको पत्र काटेपछि बालेन आफूप्रति पूर्वाग्रही भएको आरोप एमालेले लगाएको छ ।
नदी किनारका सुकुमबासी व्यवस्थापनको विषयमा होस् कि धरहराको व्यवस्थापापनको जिम्मा दिने विषयमा होस् काठमाडौं महानगरका मेयर साह र प्रधानमन्त्री ओली बिचको कटाक्ष सार्वजनिक हुने गरेका छन् । मेयर निर्वाचित भएलगत्तै उनले महानगरभित्रका अन्डरग्राउन्ड खाली गराएर पार्किङका लागि खुला गर्न खोज्दादेखि सुरु भएको यो द्वन्द्व अहिलेसम्म आइपुग्दा पूर्वाग्रह र प्रतिशोधमा बदलिएको छ ।
एमालेकी प्रदेश सांसद रेखा शर्माको घरमा राखिएकी बालिकामाथि श्रम शोषण र दुव्यर्वहार भएको भन्दै महानगरले उद्धार गरेको थियो । शर्मालाई कारबाहीबाट जोगाएको भन्दै फोटो नै सार्वजनिक गरेर ओलीलाई प्रश्न गरेका थिए मेयर साहले । त्यस्तै गिरीबन्धु टी–इस्टेट प्रकरणमा मेयर साहले सञ्जालमा ओली माथी कटाक्ष गरेपछि त झन यी दुईको सम्बन्ध थप तीतो हुँदै गयो ।
सामन्यतः सार्वजनिक मञ्चमा नदेखिने मेयर साह सार्वजनिक मञ्चमा भन्दा सामाजिक सञ्जालमा कटाक्ष गर्छन् भने प्रधानमन्त्री ओली सार्वजनिक मञ्चदेखि सञ्जालमा मेयर साहमाथि निशाना साँधीरहेका हुन्छन् । देशको प्रधानमन्त्री र राजधानीको मेयरको यो दोहोरी हेर्दा यी दुईको दुश्मनी व्यक्तिगत तहमै ओर्लेको भान हुन्छ । पहिला यी दुईको व्यक्तिगत सम्बन्ध त्यति नराम्रो भने होइन ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई हराउँदै स्वतन्त्र उम्मेदवार साह निर्वाचित भएपछि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा बोलाएर मेयरको कार्यकाल सफलताको शुभकामना दिएका थिए । तर पछिल्लो समय ओली–बालेन सम्बन्धले असहिष्णुताको सीमा पार गर्न थालेको छ ।
व्यक्तित रुपमा केपी शर्मा ओली र बालेन्द्र साह (बालेन)को सम्बन्ध जस्तोसुकै होस् जनतालाई सरोकारको विषय होइन तर संघीय सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली र संघीय राजधानी समेत रहेको स्थानीय सरकार प्रमुख बालेन्द्र साह (बालेन)को सार्वजनिक दन्तबझान शोभनीय होइन । संघीय राजधानी रहेको महानगरका मेयर र प्रधानमन्त्रीबीच आपसी समन्वयमा काम गर्नुपर्नेमा यी दुईजना भने आपसी द्वन्द्वमा फस्दै गएका छन् । महानगरको कार्यक्षेत्रका काममा पनि संघ सरकारले हस्तक्षेप गर्ने र त्यसको प्रतिवादमा बालेनले आक्रामक अभिव्यक्ति दिँदा विकास निर्माणदेखि जनतालाई दिनुपर्ने न्युनतम् सेवा सुविधाका काम पनि प्रभावित भएका छन् ।
जनतालाई दिनुपर्ने न्यूनतम सेवा पनि यी दुईको द्वन्द्वको शिकार भएका छन् भन्ने त अस्ती भर्खर असोज दोस्रो हप्तामा आएको बाढीबाट प्रभावितहरुप्रति काठमाडौं महानगरपालिकाले देखाएको उदासिनताले पुष्टि गरेको छ । जे होस् सरसफाईको नाममा कार्यक्रम नै सकिंदा नसकिँदै जरीमानाको पत्र थमाउने हतारोले महानगरको काम कारवाही पूर्वाग्रही देखिन्छ ।
यसरी संघीय सरकार प्रमुख र स्थानीय सरकार प्रमुख नै एक अर्काबिच प्रतिशोधमा उत्रने हो भने जनताका आधारभूत आवश्यकताका सवाल ओझेमा पर्दै जानेछन् र जनतामा बढ्दै गएको असतुष्टि आक्रोशमा परिणत हुनेछ । पदले मात्रै कद बढाउने होइन पद अनुसारको आचरण र ब्यवहार पनि उत्तिकै जरुरी हुन्छ ।
प्रतिक्रिया