७ बर्से कलिलो उमेरमा ‘कर्तव्य’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका सुरज पाण्डेले सुरुआती समयमा ‘दुई किनारा,’ ‘नेपाल,’ ‘दोबाटो’लगायत सिनेमामा आफ्नो अभिनय क्षमता प्रदर्शन गर्दै अघि बढे । यही सिलसिलामा सिनेमा ‘लभ लभ लभ’ मा मुख्य नायकका रूपमा देखा परेका पाण्डेले आजको अवस्थासम्म आइपुग्दा नेपाली सिनेमा निर्माण र व्यवसाय कसरी गर्न सकिन्छ भन्ने राम्रैसँग बुझिसकेका छन् । उनकी आमा शर्मिला पाण्डेले आधा दर्जन सिनेमा निर्माण गरिसकेकी छिन् । घरपरिवार नै सिनेमा बुझेको भएपछि उनको काममा सरसहयोग र समर्थन नहुने त कुरै भएन । नेपाली सिनेमा क्षेत्रमा अहोरात्र संघर्ष गरेका कारण सुरज पछिल्लो समय कलाकारितासँगै चल्तीका निर्देशकको पहिचान बनाउन पनि सफल भएका छन् ।
सिनेमा ‘परस्त्री’ बाट निर्देशनको क्षेत्रमा अघि बढेका सुरजले ‘घर,’ ‘आमा,’ ‘चिसो मान्छे’लगायत सिनेमामा काम गरिसकेका छन् । नेपाली सिनेमामा नौलोपनको खोजीमा जोड दिने र सिनेकर्मीहरूको रोजाइका निर्देशक सुरज पाण्डेसँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको कुराकानीको सम्पादित अंशः
कसरी बित्दै छ तपाईंको दैनिकी ?
संघर्ष जारी छ । यस क्षेत्रमा थप नयाँ केही फरकपन ल्याउने प्रयासमा छु । मेरो दैनिकी नै भोलिका दिनमा के ल्याउने भन्नेमै बितेको छ ।
भनेपछि फुर्सदमा त पक्कै हुनुहुन्न । आगामी दिनमा कस्ता नयाँ प्रस्तुति दिने तयारीमा हुनुहुन्छ ?
दसैँ, तिहारको माहोलमा केही दिन त्यसमै व्यस्त भइयो । छठ पर्व सकिएसँगै पहिलाका भन्दा अझै नयाँ फिल्म निर्माणको गृहकार्यमा जुटेको छु ।
नेपाली सिनेमाको स्तरोन्नतिका लागि निर्देशकको दायित्व कस्तो हुनुपर्छ ?
निर्देशक त्यस्तो व्यक्ति हो, सिनेमा कस्तो बनाउने सब निर्देशकको निर्णय हो । स्टोरी छनोटदेखि कलाकारसम्म निर्देशकको आफ्नो अधिकारभित्र पर्छ । अधिकांश निर्माताले सिनेमा बुझिसकेकाले निर्देशकलाई सिनेमा कस्तो बनाउने भनेर जिम्मा दिन्छन्, निर्धक्कसँग सिनेमा बनाउन भन्छन् । यस्तो अवस्थामा एउटा निर्देशकले राम्रो काम पनि गर्न सक्छ । निर्देशक आफ्नो सिनेमा राम्रो बाउन सधैँ अग्रसर रहन्छ । निर्देशकलाई थाहा छ राम्रो, नराम्रो, हरेक जस–अपजस निर्देशक नै हो ।
वर्तमान नेपाली सिनेमाको अवस्था, भविष्य र सिनेकर्मीको जीवनस्तरलाई माथि उठाउन उचित पहलकदमी के हुन सक्छ ?
सिनेमा क्षेत्रमा यतिबेला सोचेजस्तो छैन । नेपालमा हाम्रो राज्यको प्रोत्साहन नीति नेपालीभन्दा पनि विदेशी सिनेमामा फोकस देखिन्छ । नेपाली सिनेमाको निर्माण समयदेखि प्रदर्शन समयसम्म राज्यले काममा अंकुश लगाउँछ । सिनेमाले विकृति देखाउँछ र अत्य गर्न भूमिका खेल्छ, त्यहीअनुसार कथा बन्छ । यहाँ हरेक संस्था आफ्नो र आफूले गरेको विकृतिलाई ढाकछोप गर्न विभिन्न नियम बनाउँछन्, जसले गर्दा विभिन्न निकायमा धाउनुपर्ने बाध्यता रहन्छ ।
नेपाली सिनेमालाई विश्वभरमा देखाउनका लागी हिजोआज विश्व बजारमा उपस्थित भएको डिजिटल माध्यमलाई आत्मसात् गर्ने नै हो ।
यति बेला नेपाली सिनेमालाई दुबई, अमेरिकालगायत देशहरूमा प्रदर्शनको अवसर जुरेको छ, यसलाई कसरी लिनुभएको छ ?
फिल्मकर्मीहरूका लागि यो खुसीको कुरा हो । यसलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेतर्फ सबैको सकारात्मक धारणा बन्नुपर्छ । जसले गर्दा नेपाली सिनेमाले ५० प्रतिशतभन्दा बढी व्यापार गर्ने र देशमा विदेशी मुद्रा पनि भित्रिने हुन्छ । नेपाली सिनेमाले देशको अर्थतन्त्रमा देखिने गरी योगदान दिनेमा विश्वास गर्न सकिन्छ । आफ्नो घरखेत बेचेर निर्माण गरेका सिनेमा निर्मातालाई सिनेमा बनाउन प्रोत्साहन मिल्नेछ, जसले गर्दा प्राविधिक, कलाकारको पनि रोजगारी बढ्नेछ ।
मनोरञ्जन पनि हुने, लगानी पनि नडुब्ने, सामाजिक दायित्वको निर्वाह पनि हुनका लागि सिनेमामा कस्तो विषयवस्तु उठान गर्नुपर्ला ?
हामीले इतिहास र सामाजिक परिवर्तनका कथालाई बढी महत्व दिनुपर्छ । सिनेमा हेर्ने दर्शकले मनोरञ्जनसँगै ज्ञान, शिक्षा प्राप्त गर्ने खालको बनाउनुपर्छ । साथै दर्शकलाई इतिहास र वर्तमान अवस्थालाई चित्रण गर्ने खालका बनाउनुपर्छ ।
कति इतिहास हामीले नदेखेका तर सत्य घटनासँग नजिक हुन्छन् । तिनलाई अध्ययन गरी सिनेमा निर्माण गर्दा पछिसम्म सम्झना रहन्छ ।
अर्काे कुरा हामीले अहिलेको समाजमा आयातित संस्कारलाई अँगालिरहेका छौँ । राजनीतिले आपसमा मिलेर बसेको समाजलाई जातमा र धर्ममा आधारित द्वन्द्वलाई बढाउने कार्य गरेको देखिन्छ । यस्ता राजनीतिक विकृतिविरुद्ध सिनेमाबाट नै चेतना जगाउने र भड्किन लागेको सामाजिक द्वन्दलाई मत्थर बनाउने कार्यमा सिनेमाले भूमिका खेल्न सक्नुपर्छ ।
तपाईंले काम गर्ने निर्माताको लगानी सुरक्षित हुनुपर्ने कुरामा कत्तिको ध्यान दिनुहुन्छ र पर्छ ?
मैले काम गर्दा यो परिस्थिति आउँछ भन्ने कुराको पहिला नै जानकारी दिने गरेकाले होला, मसँग काम गरेका निर्माता दोहो¥याएर फेरि पनि मसँग काम गर्छन् भन्नेमा विश्वस्त छु ।
मनोरञ्जन र चेतना अभिवृद्धिको एउटा सबल र प्रभावकारी माध्यमका रूपमा सिनेमालाई लिइन्छ, यसो हुनुको कारण ?
सिनेमाप्रेमीहरूले आफ्नो आइडियलका रूपमा कलाकारलाई हेर्ने गर्छन् । जसले गर्दा एउटा कलाकारको भूमिकाले सकारात्मक विचार अभिनयमार्फत् देखाउँछन् र समाजमा राम्रो नराम्रो पक्ष पनि छुट्याइदिन्छ ।
दर्शकलाई मनोरञ्जनसँगै ज्ञान चेतनामा वृद्धि गराउँछ । सिनेमा भनेको एउटा ऐना हो, यसले झलक देखाउँछ र मानिसलाई गल्ती सच्चाउने बाटो पनि देखाउँछ त्यस अनुरुपको सिनेमा बनाउनु उपयुक्त हुन्छ ।
विकसित प्रविधि भित्रिएसँगै निर्देशक र कथाकारले कल्पना गरेजस्तै सिनेमालाई पर्दामा उतार्न कत्तिको सम्भव छ ?
अहिलेको प्रविधिले सिनेमा निर्माणलाई सजिलो बनाइदिएको छ । जसको कारणले हामीले कल्पना गरेका आधारमा सिनेमा बनाउन सक्छौँ र समय पनि बचत हुन्छ । आर्थिक दृष्टिकोणले पनि कम खर्चमा सिनेमा बनाउन सकिन्छ ।
नेपाली सिनेमा हेर्ने दर्शक घटेका हुन् ?
बिल्कुलै होइन, दर्शकका रुचीका सिनेमा नबनेर हो । हालै प्रदर्शनमा आएका सिनेमालाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘छक्का पन्जा–५’ र ‘१२ गाउँ’, ज्वाइँ सा’ब र पछिल्लो ‘पूर्णबहादुरको सारंगी’लाई दर्शकले औधी रुचाएका छन् । दर्शक घटेको भन्दा पनि हामीले दर्शकका रुचीको विषयवस्तु छनोट र सिनेमा दिन नसकेका हौँ कि भन्नेतर्फ ध्यान दिनुपर्छ जस्तो लाग्छ ।
युवा पुस्ता बिदेसिनुले दर्शक घटेको त मान्नुहुन्छ नि ?
यो कुरालाई मान्नुपर्छ । अहिलेको अवस्थामा नेपाली सिनेमा हेर्ने दर्शक देशको परिस्थितिले बिदेसिन बाध्य भएकाले नेपाली सिनेमालाई नेपालीको बाहुल्य भएका विभिन्न देशमा प्रदर्शन गर्न राज्यले नै पहल गर्नुपर्छ ।
अब बन्ने चलचित्र कस्तो हुनुपर्छ ?
अब बन्ने नेपाली सिनेमा मौलिक, देशको प्रतिनिधित्व गर्ने र साथसाथै राष्ट्रप्रेमी, मनोरञ्जनात्मक हुनुपर्छ । देशको मौलिक संस्कृति झल्किने र मार्गनिर्देशक हुनुपर्छ ।
प्रतिक्रिया