बिनानिम्तो भारत गएका मुख्यमन्त्री ‘पोहा’ र चिया खाएर फर्किए

औपचारिक निम्तो आएको र वैधानिक प्रक्रिया पूरा गरेर जानुभएको भए मुख्यमन्त्रीले पाउनुपर्ने सम्मान पाउनुहुन्थ्यो । कुनै प्रक्रिया पूरा नगरी आफूखुसी आमनागरिक जसरी जाँदा उहाँले त तिरस्कृत हुनुपर्यो, प्रदेश र देशकै गरिमामा आँच आयो – लालबाबु राउत, पूर्वमुख्यमन्त्री

रामललाको मूर्ति बनाउन जनकपुरधामबाट शिला पठाउँदा मलाई पनि बोलाइएको थियो । तर आफ्नो मर्यादालाई ख्याल गर्दै म गइनँ । कमसेकम अयोध्या जानुअघि मुख्यमन्त्रीज्यूले हामीसँग सल्लाह गर्नुपथ्र्यो, गर्नुभएन । जसले सल्लाह दिनुभयो, गलत सल्लाह दिनुभएछ । – सरोजकुमार यादव

जनकपुरधाम । कूटनीतिक निम्तो र वैधानिक प्रक्रियाबिनै भारतको अयोध्या पुगेका मधेसका मुख्यमन्त्री सतीशकुमार सिंहलाई उत्तर प्रदेश सरकारले कुनै सत्कार र वास्ता नगरेपछि मधेस प्रदेशकै बेइज्जत भएको टिप्पणी हुन थालेको छ ।

मुख्यमन्त्री सिंह भारतको अयोध्याबाट मंगलबार बिहान पोहा (चिउराको परिकार) र चिया खाएर जनकपुरधाम फर्केका छन् । विश्व हिन्दु परिषद् धनुषाको अगुवाइमा तिलकोत्सव कार्यक्रममा सहभागी हुन गएको टोलीमा उनी कुनै कूटनीतिक प्रक्रिया पूरा नगरी गएका थिए । परिषद् अयोध्याका महासचिव राजेन्द्रसिंह पंकजलाई तिलक हस्तान्तरण गरी मंगलबार बिहान तिलकोत्सवको टोलीसँगै उनी जनकपुरधाम फर्किएका हुन् ।

विगतमा जानकी मन्दिरले हजाम (ठाकुर) मार्फत् अयोध्यास्थित राम मन्दिरका सन्तहरूलाई भोजपत्र (निम्तोपत्र) पठाउने गरेको थियो । तर यस पटक विश्व हिन्दु परिषद् धनुषाले विश्व हिन्दु परिषद् अयोध्याको विशेष आग्रहमा तिलक भारसँगै भोजपत्र लिएर गएको थियो । परिषद्ले पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार बिहान राम मन्दिर ट्रस्टका सचिव चम्पत राय र विश्व हिन्दु परिषद् अयोध्याका महासचिव सिंहलाई तिलक हस्तान्तरण गरेको थियो ।

तिलक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री सिंह, उनीसँगै गएका प्रदेश मन्त्रीहरू, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलगायतको सहभागिता थियो । अयोध्यामा जिल्लाको अतिथि गृहमा मुख्यमन्त्री सिंहले मुस्किलले बास पाए पनि मन्त्री र सांसदहरू राम मन्दिर ट्रस्टको धर्मशालामा बसेका थिए ।
सरकारी निम्तोबिनै अयोध्या पुगेका मुख्यमन्त्री सिंह, मन्त्री र सांसदहरूले हदैसम्मको तिरस्कार सहनुपरेको सहभागी एक मन्त्रीले बताए । ‘हामी अचानक पुगेका कारण विशिष्ट व्यवस्था हुन सकेन,’ ती मन्त्रीले भने, ‘मुख्यमन्त्री बसेको सर्किट हाउसमा लामखुट्टेको प्रकोप रहेकाले ट्रस्टको धर्मशालामा बस्यौँ ।’

बसाइ जे–जस्तो भए पनि राम मन्दिरमा दर्शनका लागि भने लाम लाग्नुनपरेको उनले बताए । ‘विश्व हिन्दु परिषद्का सदस्यहरूले सोझै मन्दिरमा लगेर दर्शन गराइदिए,’ उनले भने, ‘हाम्रो स्वागतमा विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्रसिंह पंकज लगायतको टोली थियो ।’

मुख्यमन्त्री सिंहसहितको सरकारी टोलीलाई अयोध्याका कुनै सरकारी कर्मचारी अथवा नगर निगमका पदाधिकारीले स्वागत गर्नु त परको कुरा, भेट्दा पनि भेटेनन् । मुख्यमन्त्री र मन्त्रीहरू अयोध्या जाँदा परराष्ट्र मन्त्रालयको सहमतिसमेत लिएका थिएनन् । तिलकको भारको नेतृत्व गरेको विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साह नेतृत्वको समूहमा मुख्यमन्त्री सिंहसहित मन्त्रीहरू आइतबार वीरगन्जबाट मिसिएका थिए ।

‘मुख्यमन्त्रीले पदीय मर्यादा भुलेर प्रदेशकै बेइज्जत गरे’


मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउतले बिनानिम्तो मुख्यमन्त्री विदेशको कुनै पनि कार्यक्रममा सहभागी हुनु मर्यादाविपरीत रहेको बताए । ‘विदेश भ्रमण गर्नका लागि औपचारिक रूपमा संघ सरकारसँग सहमति लिनुपर्ने थियो । त्यसपछि सरकारले जान दिने निर्णय गरेपछि जाँदा मुख्यमन्त्रीले पाउनुपर्ने सम्मान पाउनुहुन्थ्यो,’ उनले भने, ‘तर, औपचारिक कुनै प्रक्रिया पूरा नगरी आफूखुसी भ्र्रमण गर्दा मुलुककै गरिमामाथि प्रश्न उठेको छ ।’

मुख्यमन्त्री सिंहको गैरजिम्मेवार कदमले सबैभन्दा धेरै जनसंख्या भएको मधेस प्रदेशकै इज्जतमाथि प्रश्न उठेको उनको भनाइ थियो । उनले आफू मुख्यमन्त्री भएका बेला भारतमा भएको एक कार्यक्रममा सहभागी हुन आमन्त्रण आएको र यसका लागि संघ सरकारले सहमति नदिएपछि कार्यक्रममा जान मन हुँदाहुँदै पनि नगएको बताए । उनले भने, ‘पदीय मर्यादालाई ख्याल गर्नु एकदम जरुरी छ ।’


‘हामीसँग सल्लाह गर्नुभएन, दिनेले गलत सल्लाह दिएछन्’


मधेसका अर्का पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बिनाछलफल र संघ सरकारलाई नै जानकारी नदिई मुख्यमन्त्रीले गरेको भारत भ्रमण गलत रहेको टिप्पणी गरेका छन् ।

उनले मुख्यमन्त्री व्यक्ति मात्रै नभएर एउटा संस्था भएकाले गरिमाको ख्याल राख्नुपर्ने बताए । ‘राम मन्दिरका लागि रामललाको मूर्ति बनाउन जनकपुरधामबाट शिला पठाउँदा पनि ठुलै पूजा गरिएको र धेरै भारहरू पठाइएको थियो । त्यसमा मलाई पनि बोलाइएको थियो । तर आफ्नो मर्यादालाई ख्याल गर्दै जनकपुरधामबाट बिदाइ गरेँ, तर म गइनँ,’ उनले भने, ‘कमसेकम अयोध्या जानुभन्दा पहिले मुख्यमन्त्रीज्यूले हामीसँग सल्लाह गर्नुपथ्र्यो, गर्नुभएन, जसले सल्लाह दिनुभयो, गलत सल्लाह दिनुभएछ ।’

उनले मुख्यमन्त्रीले आत्मालोचना गर्नुपर्ने पनि बताए । ‘भारत भ्रमणमा जाँदा धार्मिक, उपचार, पारिवारिक अथवा सरकारी भ्रमणबारे पहिले नै स्पष्ट गर्नुपर्छ,’ उनले भने, ‘आधा दर्जनजति मन्त्रीसहित अयोध्या पुगेका मुख्यमन्त्रीले परराष्ट्र मन्त्रालयसित समेत स्वीकृति लिनुभएन ।’ यस्ता भ्रमणमा नेपालस्थित भारतीय राजदूतावास वा भारतको उत्तरप्रदेश सरकारसित भ्रमणबारे समन्वय हुन आवश्यक रहेको उनले बताए । ‘आमन्त्रणबिना नै गएपछि मधेस प्रदेशको अपमान भएको छ,’ विगतमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाममा भव्य स्वागत गरिएको स्मरण गर्दै उनले भने, ‘उत्तरप्रदेशमा जाँदा पनि मधेस प्रदेशका मुख्यमन्त्रीको स्वागत त्यहीअनुसार हुन सरकारी आमन्त्रण आवश्यक हुन्छ ।’

विवाहोत्सवको कार्यक्रममा पनि प्रश्नचिह्न

अयोध्यामै गएर भगवान रामको तिलकोत्सव गरिसकेपछि जानकी मन्दिरले आयोजना गर्दै आएको तिलकोत्सवमाथि पनि प्रश्न उठेको छ । जानकी मन्दिरले हजाममार्फत् पठाउने भोजपत्र (निम्तो) लिएर गएको टोलीले भगवान रामलाई तिलक चढाइसकेपछि एउटै विवाहका लागि कति पटक तिलक चढाउने भने प्रश्न उठेको हो ।


अयोध्यामा भगवान रामको तिलकोत्सव गरिएलगतै जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी मन्दिरबाट राम मन्दिरमा गरिने तिलकोत्सव नहुने बताएका छन् । सीताराम विवाह महोत्सवको ७ दिने कार्यक्रममा राम मन्दिरमा तिलकोत्सवको कार्यक्रम पनि पर्छ । तर, मिथिला परम्पराअनुसार एउटा बेहुलालाई एक पटक मात्र तिलक चढ्ने भएकाले दोहर्याएर तिलक चढाउन नमिल्ने महन्त दासको कथन छ ।

‘जनकपुरधामबाट अयोध्याधाममै पुगेर मुख्यमन्त्री, मन्त्रीहरूले भगवानलाई तिलक चढाए,’ उनले भने, ‘अब जनकपुरधाममा फेरि तिलक चढाउनु मिथिला परम्परा र संस्कृतिविपरीत हुनेछ ।’ विगतमा जानकी मन्दिरबाट राम मन्दिरमा तिलकको भार जाने गथ्र्यो । भारसँगै जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव महराज जनकको भूमिका निर्वाह गर्दै राममन्दिर परिसरमा पुगेपछि तिलकोत्सव समारोहको आयोजना गरिन्थ्यो । त्यसमा भारतको अयोध्याबाट आउने जन्तीको पनि सहभागिता रहने गरेको थियो ।

प्रतिक्रिया