सीमापार अपराध नियन्त्रणका लागि नेपाल–भारत सहमत

सीमा सुरक्षा बैठक

काठमाडौँ । सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्षसहित नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी २ देशका अधिकारीबीच ३ दिनदेखि जारी उच्चस्तरीय बैठक सोमबार सकिएको छ । ३ दिनसम्म चलेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै सीमाबाट हुने अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो ।

गत शनिबार सुरु भएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले ११ वटा एजेन्डामा छलफलपछि संयुक्त हस्ताक्षर गरेका छन् । संयुक्त प्रतिबद्धतापत्रमा सीमापार अपराध नियन्त्रण तथा सीमा सुरक्षाका विषयमा सहकार्यका गर्ने विषय समावेश छन् ।
बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले बैठकले सीमा अपराध नियन्त्रण, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रणलगायतका विषयमा थप प्रभावकारी कदम चाल्ने निष्कर्ष निकालेको जानकारी दिए ।

उनका अनुसार नेपालको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको बैठकले सीमा सुरक्षालाई अझै व्यवस्थित बनाउने, दशगजा क्षेत्रलाई अतिक्रिमणमुक्त पार्ने, मानव बेचबिखन, सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने विषयमा पनि संयुक्त हस्ताक्षर भएको छ ।

बैठकमा नेपालका तर्फबाट सशस्त्रका महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता रहेको थियो । भारतका सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा ६ सदस्यीय टोली सहभागी थियो ।
बैठकमा भारतीय पक्षले तेस्रो मुलुकका नागरिकको पहिचानमा समस्या भएकाले आपसी सहकार्य जरुरी रहेको धारणा प्रस्तुत गरेका थिए । यस्तै, भारतले तेस्रो मुलुकबाट नेपाल हुँदै भारतमा सुन तस्करी भइरहेकाले त्यसको नियन्त्रणमा सहकार्य जरुरी भएको औँल्याएको छ ।

उक्त बैठक हरेक वर्ष पालैपालो नेपाल र भारतमा हुँदै आएको थियो । अब भने हरेक ६/६ महिनामा पालैपालो बैठक बस्ने प्रस्तावसमेत पारित भएको छ । सीमा सुरक्षा अधिकारी र जिल्ला जिल्लाका अधिकारीको बैठक नियमितरुपमा बस्ने विषयमा पनि दुवै पक्ष सहमत भएको जनाइएको छ ।

प्रतिक्रिया