पदीय हैसियत बिर्सेर अयोध्या पुगे मधेसका मुख्यमन्त्री

कूटनीतिक निम्तो न वैधानिक प्रक्रिया

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह पदीय मर्यादा र कूटनीटिक प्रक्रिया नै पूरा नगरी भारत भ्रमणमा निस्किएका छन् । विश्व हिन्दु परिषद् धनुषाले आयोजना गरेको ‘तिलकोत्सव भार’सँगै मुख्यमन्त्री सिंह भारतको अयोध्या गएका हुन् । मुख्यमन्त्री सिंहसहितको २५१ सदस्यीय टोली २१ मंसिरमा हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगन्जबाट अयोध्यास्थित श्रीराममन्दिर पुगेको हो ।

विश्व हिन्दु परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले नेतृत्व गरेको टोलीमा सिंह सामान्य नागरिक पिकनिक खान गएजसरी सहभागी भएपछि चौतर्फी विरोध हुन थालेको छ । मुख्यमन्त्री सिंह भारत जाँदा न उनलाई कूटनीतिक निम्तो आएको छ न त आवश्यक प्रक्रिया नै पूरा गरेका छन् । विश्व हिन्दु परिषद् अयोध्याको विशेष सक्रियतामा परिषद् धनुषाले तिलकका लागि भार लिएर गएको गएको टोलीमा मुख्यमन्त्री सिंहलाई कूटनीतिक तवरबाट निम्तो छैन ।

टोलीको नेतृत्व गरिरहेका साहलाई विश्व हिन्दु परिषद् अयोध्याका महासचिवले स्वागत गर्ने कार्यक्रम तय भएको छ । तर, बिनानिम्तो नै गएका मुख्यमन्त्री सिंहलाई भने उत्तर प्रदेश सरकारका तर्फबाट स्वागत गर्ने कुनै कार्यक्रम तय नभएको बताइएको छ । मुख्यमन्त्री सिंहले उत्तर प्रदेश सरकारबाट निम्तो पाउन अथक प्रयास गरेका थिए । तर, निम्तो नआएपछि उनी टोलीमा समावेश हुँदै अयोध्या गएका हुन् ।

यसअघिका विवाह महोत्सवमा तिलक भार लिएर मुख्यमन्त्री अयोध्या जाने चलन थिएन । कूटनीतिक निम्तो र कानुनी प्रक्रियाबिनै भारत जान लागेको विषयमा सौर्य दैनिकले प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री सिंहले आफूलाई श्रीराम–जानकी विवाह बारात यात्रा आयोजन समिति धर्मयात्रा महासंघ कारपुरम जानकीधाम र विश्व हिन्दु परिषद् अयोध्याबाट निम्तो आएको बताए ।

जबकि भारतस्थित गैरसरकारी संस्थाबाट निम्तो आउँदा भ्रमणमा जान पाउने भए पनि त्यसका लागि संघीय सरकारको अनुमति लिनु अनिवार्य हुन्छ । दौत्य सम्बन्ध भएका मुलुकबाहेकका गैरसरकारी संस्थाको निम्तोमा विदेश भ्रमण जान त संघीय सरकारले रोक नै लगाएको छ । २३ भदौ, २०७९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै प्रदेश सरकारलाई प्रदेश पदाधिकारी र कर्मचारीको विदेश भ्रमणलाई व्यवस्थित गर्न भन्दै पत्राचार नै गरेको थियो ।

सो परिपत्रअनुसार प्रदेश तथा स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणका लागि संघीय सरकारको सहमति अनिवार्य गरिएको छ । भ्रमणको प्रकार र औचित्यका आधारमा कतिपय भ्रमणमा परराष्ट्र मन्त्रालयले सहमति दिन सक्छ भने कतिपयमा मन्त्रिपरिषद्को निर्णयले नै सहमति दिनुपर्ने उल्लेख छ । व्यक्तिगत निम्तो र औचित्यहीन कार्यक्रमका लागि भ्रमणमा जाने प्रवृत्ति बढेको भन्दै सरकारले यसमा कडाइ गरेको हो ।

‘… विदेश भ्रमणको सहमतिका लागि विभिन्न प्रदेश सरकारबाट सिफारिस भइआएको विषयमा विश्लेषण गर्दा धेरैजसो नियमन्त्रणा व्यक्तिगत स्तरमा प्राप्त भएको, कार्यक्रमहरू प्रायः गैरसरकारी संस्थाहरूबाट आयोजना हुने प्रकृतिको रहेको, कतिपय कार्यक्रम सम्बन्धित पदाधिकारीको कार्यक्षेत्रसँग सम्बन्धित नरहेको र कतिपय अवस्थामा आमन्त्रण गर्ने संस्थाको आधिकारिकता पुष्टि हुन नसकेको तथा कतिपय विदेश भ्रमणको मनोनयन निर्देशिकाको प्रावधान अनुकल भई नआउने गरेको जस्ता समस्या देखिएका छन्,’ पत्रमा भनिएको छ, ‘व्यक्तिगत नाममा प्राप्त भएको निमन्त्रणाका आधारमा कुनै पनि पदाधिकारीलाई विदेश भ्रमणका लागि मनोनयन नगर्ने । नेपालसँग दौत्य सम्बन्ध कायम भएका विदेशी सरकार, नेपाल सदस्य भएका अन्तर्राष्ट्रिय संघसंस्था, संयुक्त राष्ट्रसंघ र सो अन्तर्गतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आयोजना गर्ने कार्यक्रमबाहेक स्थानीय गैरसरकारी संघसंस्थाको कार्यक्रममा मनोनयन नगर्ने ।’

मुख्यमन्त्रीको भ्रमणका लागि सम्बन्धित देशस्थित नेपाली नियोगसँग पनि समन्वय हुनु जरुरी हुन्छ । यस्तै, भ्रमणको उद्देश्य प्रष्ट हुनका साथै शिष्टाचार र प्रोटोकलको पालना पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भ्रमणका लागि मनोनयन भएर आए पनि संघ सरकारले उद्देश्यको औचित्य देखेन भने सहमति नदिन पनि सक्छ । यसअघि मधेसकै मुख्यमन्त्री लालबाबु राउत अमेरिकामा हुने कार्यक्रममा जान चाहे पनि संघ सरकारले रोक लगाएपछि उनको भ्रमण रद्द भएको थियो ।

तर, मुख्यमन्त्री सिंहले भ्रमणका लागि आफ्नो नाम मनोनयन गराएर संघ सरकारको सहमति लिनु त परको कुरा, प्रदेश सरकारको मन्त्रिपरिषद्बाट निर्णय पनि गराएका छैनन् । यसरी बिनाप्रक्रिया मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्ति एउटा संस्थाको निमन्त्रणालाई आधार मानेर अयोध्या गएपछि मधेस प्रदेशमा उनको विरोधमा प्रतिक्रिया आएका छन् । मुख्यमन्त्रीको कदमले प्रदेशसँगै देशकै गरिमामा आँच आएको धार्मिक अभियान्ता र कूटनीतिक मामलाका जानकारहरू बताउँछन् ।

मुख्यमन्त्री सिंहले पदीय गरिमा र कूटनीतिक मर्यादा बेवास्ता गर्दै देशकै इज्जत धमिल्याउने काम गरेको गौ संरक्षण मञ्चका राष्ट्रिय अध्यक्ष जगदीश महासेठ बताउँछन् । शनिबार जनकपुरबाट तिलक भारलाई बिदाइ गरेका मुख्यमन्त्री सिंह आइतबार वीरगन्जबाट टोलीमै सहभागी भएपछि महासेठले भने, ‘गलत चलन चलाउन मुख्यमन्त्रीलगायत केही व्यक्ति उद्यत् देखिएका छन् । यसले कूटनीतिक क्षेत्रमा त नराम्रो सन्देश जान्छ नै, धार्मिक रूपमा पनि यो गलत भएको छ ।’

महासेठले जानकी विवाहजस्तो पवित्र कार्यका लागि प्रदेश सरकारबाट निर्णय गराएर सहमति लिएर गएको भए विवाह महोत्सवको गरिमा अझ बढ्नेमा त्यसो नगर्दा झन् विवादित बन्न सक्नेप्रति चिन्ता व्यक्त गरे ।
कार्यवाहक दिँदा पनि खुलाइएन कारण मुख्यमन्त्री सतीशकुमार सिंह आफू भारत भ्रमणमा लागेपछि भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

तर, कार्यवाहक दिँदा पनि आफू जानकी विवाह उत्सवको निम्तो दिन अयोध्या जान लागेको खुलाइएको छैन । मुख्यमन्त्री सिंहले आइतबार लेखेको पत्रमा ‘आफू काम विशेषले प्रदेशबाहिर हुने भएकाले फर्की नआउन्जेलसम्मका लागि मधेश प्रदेश सरकार कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई दिएको’ उल्लेख छ ।
‘यो पार्टीको होइन, सरकारको विषय हो’

यसैबीच, जनमत पार्टीले मुख्यमन्त्री सिंह कूटनीतिक प्रक्रियाविपरीत भारत भ्रमणमा गएपछि पार्टीको धारणा बुझ्न खोज्दा यो विषय पार्टीको नभई प्रदेश सरकारको भएको भन्दै यसबारेमा उतै सोध्न भनेको छ । पार्टीका प्रदेश तहका शीर्ष नेताले नाम नबताउने सर्तमा भने, ‘यो कूटनीतिक विषय हो, यसमा पार्टीले जबाफ दिने होइन । सरकारले नै देला, उतै सोध्नुस् है ।’

जनकपुरधामका मेयर पनि सहभागी

मुख्यमन्त्री मात्र होइन, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसमेत आश्यक प्रक्रियाबिनै अयोध्या पुगेका छन् । स्थानीय तहका पदाधिकारीले पनि विदेश भ्रमणमा जाँदा प्रदेश सरकार हुँदै संघ सरकारको सहमतिको प्रक्रिया अनिवार्य पूरा गर्नुपर्छ । स्थानीय तहको स्थिरता र विकासका दृष्टिकोणले भ्रमणको उद्देश्य स्पष्ट र प्रभावकारी हुनुपर्छ । तर, बिना प्रक्रिया टोलीमा मिसिएर भारत गएपछि उनको पनि चर्को आलोचना भइरहेको छ ।

पहिलो पटक अयोध्या लगियो तिलक

विश्व हिन्दु परिषद् धनुषाले पहिलो पटक जनकपुरधामबाट तिलक लिएर अयोध्या जाने चलन सुरु गरेको छ । मिथिलामा बेहुली पक्षले बेहुलालाई तिलक चढाउने चलन भए पनि जानकी मन्दिरबाट अयोध्या तिलक पठाउने चलन थिएन । पहिलो पटक विश्व हिन्दु परिषद्को अगुवाइमा भगवान श्रीरामलाई अयोध्यामा तिलक चढाउन लागिएको हो । तिलक लिएर हिँडेको टोली शनिबार राति बाराको गढीमाईमा विश्राम गरेको थियो भने आइतबार साँझ अयोध्या पुगेको छ ।

सोमबार बिहान अयोध्यामा राममन्दिर ट्रस्टका सचिव समेत रहेका चम्पत रायलाई भारसँगै जानकी मन्दिरको आमन्त्रण पत्र हस्तान्तरण गरिने बताइएको छ । परिषद् अयोध्याका महासचिव राजेन्द्रसिंह पंकजको विशेष सक्रियतामा जनकपुरधामबाट अयोध्यामा तिलक मगाइएको हो । यसअघि पनि जानकी मन्दिरबाटै तिलक पठाउन महासचिव पंकजले दबाब दिए पनि जानकी मन्दिरको तिलक अयोध्या तिलक लाने चलन नरहेको भन्दै गौ संरक्षण मञ्चका अध्यक्ष महासेठले विरोध गरेपछि मन्दिर पछि हटेको थियो ।

विश्व हिन्दु परिषद्को सक्रियतामा यस पटक थपिएको तिलक कार्यक्रमबारे स्थानीय र साधुसन्तहरू नै विभाजित छन् । तिलकमा साधुसन्तहरू सहभागी छैनन् । जानकी मन्दिरको प्रतिनिधित्व नरहेको तिलकको सम्पूर्ण तयारी विश्व हिन्दु परिषद् धनुषाले नै गरेको हो । यद्यपि, तिलकको भार जानकी मन्दिर परिसरबाट नै पठाइएको हो । तिलकसहितको टोलीलाई बिदाइ गर्नेमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव पनि सहभागी थिए ।

२१ मंसिरमा हुने विवाह महोत्सवमा अयोध्याबाट राममन्दिर ट्रस्टका सचिव चम्पत रायको नेतृत्वमा ५०० भन्दा बढी संख्यामा जन्ती आउन लागेको छ । हप्ता दिन लगाएर स्वयंवरको दिन जन्ती जनकपुरधाम आइपुग्नेछ । सीता स्वयंवरमा अयोध्याबाट आउने जन्ती पनि सहभागी हुने बताइएको छ ।

लित लिएर गएको टोलीले विवाह महोत्सवमा जन्ती आउन निम्तोसमेत दिनेछ । जानकी मन्दिरबाट जन्तीका लागि औपचारिक निम्तोपत्र लिएर गएको परिषद् धनुषाका अध्यक्ष साहले बताए । जानकी विवाह महोत्सवमा सहभागी हुन प्रतीकात्मक रूपमा भगवान श्रीरामका साथै चारै जना दाजुभाइ र ३ महारानीका लागि सौगातस्वरूप लत्ताकपडा, गरगहनासँगै मखान, दहीचिउरा, फलफूल, पकवान्न, मिष्ठान्न हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया