कार्यालय सहयोगीको भरमा किमाथांका भन्सार !

संखुवासभा । संखुवासभाको किमाथांका भन्सार कार्यालय १ जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ । ९ जनाको दरबन्दी रहेको यस भन्सार कार्यालयमा १ जना कार्यालय सहयोगीबाहेक अन्य कर्मचारी छैनन् । भन्सार कार्यालय कर्मचारीविहीन हुँदा भोटखोलावासीले सास्ती पाएका छन् ।

किमाथांका भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि १ जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ ।

उत्तरी क्षेत्र किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारीमा छ । भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ । उता किमाथांका सीमा भन्सार कार्यालय करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

किमाथांका सीमा भन्सारको कामका लागि ३–४ दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो । उत्तरी क्षेत्र किमाथांका नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलाबासीले सास्ती पाएका छन् ।

भन्सार कार्यालयले गत वर्ष ७५ हजार ५५७ रुपैयाँ राजस्व संकलन गरेको थियो । जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथांका भन्सार कार्यालयले १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । किमाथांका नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा ३–४ दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ ।

किमाथांकाबासी सीमा पासका आधारमा सीमापारिका चाँगा, देन्दाङलगायत चिनियाँ बजारमार्फत् सामान आयात गर्दै आएका छन् । किमाथांका सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौँरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीबाट किमाथांकाको दुरी १६२ किमी छ ।

प्रतिक्रिया