नेपालको बिजुली भारतको प्रसारण लाइन हुँदै बंगलादेश निर्यात भएको छ । गत शुक्रबार दिउँसो १ बजेदेखि राति १२ बजेसम्म जम्मा ११ घण्टा ४० मेगावाट बिजुली निर्यात भएको हो । यस वापत नेपाल विद्युत् प्राधिकरणले करिब २८ हजार अमेरिकी डलर प्राप्त गरेको छ । एक दिन मात्रै, त्यही पनि ११ घण्टा मात्रै किन विद्युत् निर्यात भयो ? त्यसपछि निर्यातले किन निरन्तरता पाउन सकेन ? भन्ने जिज्ञासा धेरैलाई छ । तर, यसमा एउटा मात्रै कारण छैन । पहिलो कारण त नेपालबाट बढीमा ४० मेगावाट बिजुली १ असारदेखि ३० कात्तिकसम्म मात्रै बंगलादेश निर्यात गर्न पाइने स्वीकृति छिमेकी देश भारतले दिएको छ ।
भारतकै प्रसारणलाइन प्रयोग गर्नुपर्ने भएकोले उसको स्वीकृतिभन्दा दायाँबायाँ गर्न मिल्दैन । दोस्रो कुरा गत १ असारदेखि नै विद्युत् निर्यात गर्ने अन्तिम सम्झौताको तयारी हुँदै गर्दा बंगलादेशमा राजनीतिक उथलपुथल तथा सत्ता परिवर्तन भयो । अन्तिम संझौता १७ असोजमा मात्रै भयो । १७ असोज लगत्तै विद्युत् निर्यात थालिहाल्नुपर्ने थियो, तर एकातिर भारतले आफ्नो प्रसारण लाइन विधिवत स्वीकृति दिन ढिलाइ ग¥यो, अर्कातर्फ भदौ ११ र १२ गतेको बाढीले माथिल्लो तामाकोसी लगायतका कतिपय जलविद्युत् आयोजनामा क्षति पुगेका कारण नेपालसँग निर्यातका लागि पर्याप्त बिजुली रहेन ।
बंगलादेशमा बिजुली निर्यातको योजना यसवर्ष सफल नहुने अनुमान गर्दैै गर्दा गत बिहीबार भारतले आफ्नो प्रसारण लाइन प्रयोग गर्न दिने अन्तिम स्वीकृतिको पत्र पठायो । पत्र प्राप्त भएको भोलिपल्टै नेपालले बंगलादेशमा बिजुली निर्यात गरेको हो । अब आगामी १ असारदेखि बंगलादेश बिजुली निर्यात गर्न भारतको स्वीकृति पर्खनु पर्दैन । सरासर बिजुली निर्यात हुन्छ । आगामी असारसम्म राष्ट्रिय प्रसारण लाइनमा करिब ५०० मेगावाट जलविद्युत् थपिने भएका कारण बंगलादेशमा ४० मेगावाट निर्यात गर्न नेपाललाई खासै समस्या पर्दैन । बंगलादेशमा ५ वर्षसम्म ४० मेगावाट बिजुली निर्यात गर्ने गरी नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता भइसकेको छ । उक्त सम्झौताअनुसार कुन कुन आयोजनाको बिजुली बंगलादेश निर्यात गर्ने ? भन्ने मामिलामा नेपालले भारतको स्वीकृति लिनुपर्नेछ । नेपालको जलविद्युत् उत्पादन तथा निर्यातमा आफ्नो हात माथि पार्न भारतले यो सर्त राखेको हो । वर्षायाममा उत्पादित बिजुली खेर जाने र भारतबाहेक अर्को ग्राहक नभएका कारण यो सर्त मान्नुपर्ने वाध्यता नेपाललाई छ ।
वर्षको ५ महिनासम्म बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्दा नेपालले करिब १ करोड अमेरिकी डलर प्राप्त गर्छ । आर्थिक दृष्टिले नेपालका लागि यो खासै ठूलो कुरा होइन, तर भूपरिवेष्टित देश नेपालले छिमेकी देशको भूमिमार्फत तेस्रो देशमा बिजुली निर्यात गर्न सक्ने नजीर कायम भएको छ । यो नजीरले भविष्यमा नेपाललाई ठूलो लाभ प्राप्त हुनेछ । तर, तत्कालका लागि भने भारतलाई नै ठूलो परिमाणमा जलविद्युत् आवश्यक परेको अवस्थामा नेपालबाट बंगलादेशमा पर्याप्त बिजुली निर्यात हुने संभावना छैन । नेपाललाई पनि बंगलादेशमा विद्युत् निर्यात गर्नभन्दा भारतमा निर्यात गर्न सजिलो छ र आवश्यक पनि छ । किनकी भारतसँग नेपालको व्यापार घाटा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि अहिलेसम्म जलविद्युत्बाहेक अर्को भरपर्दो बस्तु नेपालसँग छैन । तर, जलविद्युत् निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने भन्दै जे जसरी भाषणबाजी भइरहेका छन्, त्यसमा खासै सत्यता छैन ।
किनकी जलविद्युत् उत्पादनको लागत निकै महँगो छ । एक मेगावाट जलविद्युत् उत्पादन गर्न सरदर २५ करोड रुपैयाँ लागत पर्छ । १ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले वर्षभरी करिव ५० करोड युनिट बिजुली उत्पादन गर्छ । अहिले भारत तथा बंगलादेशलाई बिक्री गरिएको प्रतियुनिट ८ रुपैयाँको हिसाब गर्ने हो भने वार्षिक ४ करोड रुपैयाँ आम्दानी हुन्छ । २५ करोड लगानी गरेर वार्षिक ४ करोड रुपैयाँ प्राप्त हुनु भनेको खासै ठूलो नाफा होइन, तर एकपटक लगानी गरे सयौँ वर्षसम्म उत्पादन हुने भएकोले दीर्घकालिन दृष्टिले निकै लाभप्रद छ । दीर्घकालीन आर्थिक समृद्धिको दृष्टिले जलविद्युत् निर्यात कोसेढुंगा हुनसक्छ ।
प्रतिक्रिया