जोहन्सबर्ग । सञ्जु सामसन र तिलक बर्मा दुवैले शतक प्रहार गरेपछि भारतले दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलामा कीर्तिमानको ओइरो लगाएको छ । जोहन्सबर्गमा भएको चौथो तथा अन्तिम खेलमा दुवैले शतक प्रहार गरेपछि भारतले पाँचौँपटक दक्षिण अफ्रिका विरुद्धको टी–२० शृंखला जितेको हो । भारत १३५ रनले विजयी भयो ।
भारतले दिएको २८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १४८ रनमा सीमित भएको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टियन स्टब्सले ४३ तथा डेभिड मिलरले ३६ रन बनाउनुबाहेक अन्य खेलाडीले खासै प्रभाव राख्न सकेनन् । मार्को जोन्सनले १२ बलमा २९ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत सुरुआतदेखि नै आक्रामक भएको थियो । अभिषेक शर्मा १८ बलमा ३६ रन बनाएपछि आउट भए पनि सञ्जु सामसन र तिलक बर्माले आक्रमण जारी राखेका थिए ।
म्यान अफ द म्याचसमेत घोषित बर्माले ४७ बलमा १२० रन प्रहार गर्दै शतक पूरा गरे । यो उनको लगातार दोस्रो टी–२० शतक हो । हैदरावादका २२ वर्षीय बर्मा १९औँ टी–२० अन्तर्राष्ट्रिय खेल्दा महत्वपूर्ण कीर्तिमान राख्न सफल भएका हुन् । उनी टी–२० अन्तर्राष्ट्रियमा लगातार शतक प्रहार गर्ने दोस्रो भारतीय तथा समग्रमा पाँचौँ ब्याट्सम्यान हुन् । बर्मा खेलका म्यान अफ द म्याच तथा म्यान अफ सिरिज पनि घोषित भए । पहिलो खेलमा शतक प्रहार गरेर लगातार २ खेलमा शून्यमा आउट भएका सामसन पनि शृंखलामा दोस्रो शतक प्रहार गर्न सफल भए । सामसनले ५६ बलमा १०९ रन जोडे ।
आइसिसीको पूर्ण सदस्यको विरुद्धमा एउटै शृंखलामा ४ शतक प्रहार भएको यो पहिलोपटक हो । यो दक्षिण अफ्रिकामा सबैभन्दा धेरै योगफल हो । भारतले बनाएको दोस्रो ठूलो योगफल पनि हो । एउटै पारीमा २ शतक पनि यो तेस्रोपटक प्रहार भएको हो ।
दक्षिण अप्रिकाका प्रशिक्षक रब वाल्टरले यस हारपछि अनुभवी खेलाडी र युवा खेलाडी बीचको भिन्नताले असर गरेको बताएका छन् । दक्षिण अफ्रिकाले शृंखलामा ३ खेलमा २०० भन्दा बढी रन खर्चियो ।
अहिले अन्ुभवी कासिगो रबाडा घाइते छन् । यसैगरी, लुङ्गी एनगिडी घाइते छन् । एन्चिर नोर्तजे र टाब्रियल साम्सी राष्ट्रिय टोलीको सम्पर्कभन्दा बाहिर छन् । मार्को जेन्सन र गेरोल्ड कोयट्जे भर्खर इन्जुरीबाट मुक्त भएर शृखलामा सहभागिता जनाएका हुन् । एन्डाइल साइमलानेले यसै शृखलाबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । क्युवा पिटरले पहिलोपटक घरेलु भूमिमा अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । लुथो सिपाम्ला ३ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
सन् २०२३ मा वाल्टरले जिम्मा लिइसकेपछि दक्षिण अफ्रिकाले ७ वटा द्विपक्षीय शृंखला खेलेको छ । यसमा कुनै पनि सफलता हात लागेको छैन । परन्तु गत यसै वर्ष भएको टी–२० विश्वकपमा भने दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको थियो ।
भारत र दक्षिण अफ्रिकाबीच जोहन्सवर्गको कीर्तिमान अचम्मकै थियो । सामसनको स्ट्राइक रेट १९४ दशमलव ६४ क्रिजमा उत्रेका ३ भारतीय ब्याट्सम्यान मध्ये सबैभन्दा कम हो । अर्कातर्फ दक्षिण अफ्रिकी बलर जेन्सनको इकोनोमी १० दशमलव ५० सो टोलीको सबैभन्दा राम्रो इकोनोमी हो ।
यो विशाल स्कोरमा दक्षिण अफ्रिकाको कमजोर फिल्डिङ नै मुख्य कारण बनेको थियो । अभिशेष शर्मा पहिलो बलमा जीवनदान पाउन सफल भए भने वर्माको पनि २ पटक क्याच छुटेको थियो । भारतीय ब्याट्सम्यानको कैयौँ खराब सर्ट सुरक्षित स्थानमा गएर खसेको थियो ।
१४ दशमलव १ ओभरमा २०० रनको आँकडा भारतले पार गरिसकेको थियो । सो आँकडा यसवर्ष भारतले नवौँपटक पार गरेको हो । भारतले २३ छक्का प्रहार ग¥यो २ वटै आइसिसीको पूर्ण सदस्य बीचको खेलमा यो पनि सर्वाधिक हो । पूर्ण सदस्यको विरुद्धमा भारतले यस वर्ष खेलेका २६ खेलमा २४ मा जित हात पारेको छ ।
सो खेलमा बर्मा र सामसनले दोस्रो विकेटका लागि २१० रनको अविजित साझेदारी गरे । भारतले टी–२० अन्तर्राष्ट्रिय दोस्रो विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी हो । टी–२० अन्तर्राष्ट्रियमै २०० रनभन्दा बढीको साझेदारी भएको यो आठौँपटक हो ।
सामसन एउटै क्यालेन्डर वर्षमा ३ टी–२० शतक प्रहार गर्ने पहिलो खेलाडी हुन सफल भएका छन् । यसैगरी खेल जीवनमा ३ टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने उनी नवौँ खेलाडीसमेत भए ।
प्रतिक्रिया