निजगढमा सामूदायिक आँखा अस्पताल सेवा सञ्चालनमा

निजगढ । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ नगरपालिका –९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आज उद्घाटन गरि सेवा सुचारु ग्रिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहद्वारा समुद्घाटित यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको बताइएको छ । जसले स्थानीय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउने प्रष्ठिानले जनाएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले भने, ‘यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ, दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा यो अर्को महत्वपूर्ण कदम हो, यो अस्पताल आशा र समपर्णको प्रतिक हो जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई अगाडि बढाउँछ ।’

द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको सुरुआतभएको र जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको बताए । उनले भने, ‘हाम्रो कामको केन्द्रमा सधैँ एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने र पुनसर््थापना गर्ने उद्धेश्यमा लागीपरेका छौँ ।’

वर्तमानमा, नेपालमा करिव ९३,३०० जना दृष्टिविहिन छन् र करिव ७,८२,७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेस प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ ।

प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६.८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ ।

प्रतिक्रिया