इन्द्रप्रसाद र रवितासँग ललितकला संवाद

काठमाडौँ । कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग ललितकला संवाद सम्पन्न भएको छ । बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा कलाकार इन्द्रप्रसाद र रवितासँग ललितकला संवाद सम्पन्न भएको हो ।

ललितकला संवाद मुख्यतः युनेस्कोले प्रदान गर्ने Recognition for sustainable Development 2023 अवार्ड जित्न सफल भक्तपुरस्थित ‘सिकमी छेँ’मा केन्द्रित रह्यो ।

कलाकारद्वय इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारले परम्परागत नेवारी वास्तुकला अन्तर्गतको मौलिक शिल्पकला तथा आधुनिक प्रविधिको सर्वोत्तम उदाहरणका रूपमा लिन सकिने यस सिर्जनाको प्राविधिक र कलात्मक पक्ष निर्माण गरिनुको उद्देश्य लगायतका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाभित्र मुख्य रूपमा ध्यानाकर्षण कम हुने वास्तुकला क्षेत्रप्रति प्रतिष्ठान र राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले शिल्पकार परिवारले वास्तुकलाको नमुनाका रूपमा बनाएको घर वास्तवमै नमुना रहेको बताए ।

उनले संककटमा रहेको यो नेवारी शैलीको ज्ञानलाई आगामी पुस्तामा पुस्तान्तरण गर्दै शिल्पकार परिवारको वास्तुकला, काष्ठकला तथा नेपाली मौलिक वास्तुकलाको ज्ञानलाई संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राखे । ‘आगामी दिनमा हामी ओझेलमा परेका यस्ता विभिन्न कलाको क्षेत्रमा क्रियाशील तथा अग्रज कलाकारहरूलाई समेट्ने प्रयास गर्नेछौँ’, दर्शनधारीले भने ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राई, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य त्रैलोक्यमान बनेपाली, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्यद्वय प्रदीप शाक्य, चन्द्रकुमार राई, अग्रज कलाकार गौतमरत्न तुलाधर तथा विभिन्न कलाकार, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया