देशलाई ४७ प्रतिशत राजस्व वीरगन्जले दिन्छ । तर, वीरगन्जलाई बजेट दिने बेलामा ६ वटै महानगरभन्दा तल्लो स्थानमा राखिन्छ । तर, पनि आन्तरिक आय बढाएर भए पनि जनताले अनुभूत गर्ने गरी काम गरिरहेका छौँ । फोहोर र अव्यस्थित सहरको उपमा बनेको पर्साको वीरगन्ज महानगरपालिका पछिल्लो समय व्यवस्थित र सफा सहरका रूपमा परिणत हुँदै गएको छ । सडकमा भएका खाल्डाखुल्डीले सहरलाई कुरूप त बनाएको थियो नै, दुर्घटनाको जोखिम पनि उत्तिकै थियो । तर, २०७९ सालको स्थानीय तह निर्वाचनमा राजेशमान सिंह प्रमुख (मेयर) निर्वाचित भएर आएपछि भने यो सहरले बिस्तारै रूप परिवर्तन गर्दै गएको स्थानीयको अनुभव छ ।
मेयर सिंहको अढाई वर्षको कार्यकालमा महानगर क्षेत्रका सडकहरू पिच र ढलान भएर चिटिक्क हुँदै गएका छन् भने सहरको फोहोर व्यवस्थापन गरिएकाले सफा र स्व्च्छसमेत बनेको छ । ‘उज्यालो वीरगन्ज’ अभियानअन्तर्गत सडकमा बत्ती जडान गरी रातको समयमा वीरगन्ज झकिझकाउ बनेको छ । वीरगन्ज महानगरमा भएको पछिल्लो विकासका बारेमा त आम नगरबासीले चर्चा गरेकै छन् । सँगै अनियमितताको चाङ लागेको आरोप पनि उत्तिकै छ । प्रस्तुत छ– वीरगन्ज महागनरबाट हुने विकास निर्माणका काम र लाग्ने गरेको आरोपबारे मेयर सिंहसँग सौर्यकर्मी बलिराम यादव र पवनप्रसाद साहले गरेको कुराकानीको सम्पादित अंशः
महानगरमा विकास निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?
विभिन्न कारणले विकास निर्माणमा पर्याप्त बजेट छुट्याउन सकिएको छैन । तर पनि पहिलेभन्दा चुस्त गतिमा विकास निर्माणको काम हुँदै छ । बजेट अभावले सोचेजति काम गर्नचाहिँ सकिएको छैन । जुन कुरा मैले स्वीकार्नुपर्छ ।
तपाईंले नेतृत्व सम्हालेको अढाई वर्षमा सम्झन लायक काम के–के भए ?
सहरको सफाइमा धेरै जोड दिएका छौँ । जसको नतिजा पनि देखिएको छ । वर्षांैदेखि फोहोर र प्रदूषित वातावरण रहेको वीरगन्ज अहिले स्वच्छ र सफा देखिएको छ । विगतमा अँध्यारोमा परिणत भइसकेको वीरगन्जलाई पुनः उज्यालो वीरगन्जतर्फ उन्मुख गरेका छौँ । सहरी क्षेत्र सँगसँगै ग्रामीण क्षेत्रका वडालाई समेटेर सडक ढलान, नाला निर्माणलगायत आश्यक संरचना निर्माण हुँदै आएको छ । बजेटले भ्याउने योजनालाई टेन्डर गरेर समग्र क्षेत्रको विकासमा जोड दिइरहेका छौँ ।
महानगरको विकास सहर केन्द्रित भयो भन्ने आरोप छ नि ?
यो प्रश्न मभन्दा पहिलेका मेयरलाई सोध्दा उचित होला कि ! पूर्वमेयरले पनि त ५ वर्षको पूरै कार्यकाल काम गर्नुभएको हो । आरोप विपक्षीले लगाउने हो, त्यसबाट म अलिकति पनि विचलित छैन । सबै वडामा विकास निर्माणको कामले गति लिएको छ । म आफैँ सम्पूर्ण वडाका जनतासँग समन्वय र सहकार्य गरी आवश्यकताअनुसार काम गर्दै आएको छु । प्रत्येक वडाबासीलाई अनुभूति हुने गरी काम गरिरहेको छु ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्तो उपलब्धि भएको छ ?
जबसम्म वीरगन्जबासी शिक्षित र स्वस्थ रहँदैनन्, तबसम्म वैभव वीरगन्ज असम्भव छ । त्यहीअनुरुप हामी अघि बढिरहेका छौँ । महानगरअन्तर्गत ९० वटा सामुदायिक विद्यायलय छन् । म निर्वाचित भएको २९ महिनाको अवधिमा ८ वटा त्यस्ता विद्यालय तयार पारेका छौँ, जो पढाइलगायत हरेक कुरामा अब्बल सावित हुँदै आसपासका निजी विद्यालय बन्द गर्ने अवस्थामा पुर्याएका छन् । कतिपय त बन्द पनि भइसके । विरोधका बाबजुद शिक्षक दरबन्दी मिलान गरेको छु ।
यस्तै, अहिले ३२ वटै वडामा स्वास्थ्य चौकी छन् । जसमध्ये ३ वटामा बर्थिङ सेन्टर सुरु गरेका छौँ । जनतालाई नारायणी अस्पतालभन्दा कम शुल्कमा ल्याबबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौँ । यहाँको परीक्षणको गुणस्तर मापनका लागि जनकपुरस्थित स्वास्थ्य निर्देशानालयमा पठाएर जाँच गराउने गरेका छौँ ।
आधुनिक शिक्षाका लागि कस्तो नीतिगत व्यवस्था गरिएको छ ?
महानगरभित्रका ३० वटा विद्यालयलाई डिजिटल स्कुलका रूपमा परिणत गरेका छौँ । गुणस्तरीय शिक्षा प्रदान गर्ने योजनाअनुसार आधुनिक प्रविधिको व्यवस्थापन गरेर डिजिटल रूपमा समेत पठनपाठन सुरु भइसकेको छ ।
पेसाबाटै पलायन हुने अवस्थामा पुगेका किसानलाई कृषिमा आत्मनिर्भर हुने गरी कुनै योजना बनाउनुभएको छ ?
हामीले यसको सुरुआत वडा–३१ को सोलकपुरबाट गरिरहेका छौँ । त्यहाँका महिला दिदीबहिनीहरूलाई नगदेबाली लगाउन प्रोत्साहन गर्दै च्याउ खेती लगायतमा सघाउने गरेका छौँ । नगदे बाली कसरी लगाइन्छ ? खेती गर्ने तरिकालगायत विषयमा सीपमूलक तालिम सञ्चालन गरी आवश्यक प्रविधिसहितको सहयोग दिने काम गरेका छौँ । दिनभर कामै नगरी बस्ने दिदीबहिनीहरूलाई सीपमूलक तालिम दिएर खेतीका लागि जमिनसमेत उपलब्ध गराइरहेका छौँ । बजेटको अभावमा कृषि क्षेत्रमा गर्न सक्ने जतिको काम गर्न नसकिए पनि आउँदो दिनका लागि यसलाई प्राथमिकतामा राखेका छौँ ।
निर्वाचनअघि चुनाव जित्नका लागि अनेक विषयमा काम गर्ने आश्वासन बाँडिन्छ । जितेर आइसकेपछि तिनको कार्यान्वयन कत्तिको सहज हुने रहेछ ?
काम गर्ने क्रममा आउने चुनौतीलाई स्वीकार गरेर नै यो ठाउँमा आएको छु । बाचा गरेअनुसारको काम गर्न प्रयासरत छु । तर, मचाहिँ आभागी मेयर परेँ । किन भने कोरोनाकालपछि देशमा जुन हिसाबले आर्थिक तरलता आयो, त्यसको कारण देखाउँदै २० प्रतिशत काट्ने भने पनि ३० प्रतिशत बजेट काटिएर आउँछ । केही दिनअघिको मात्र कुरा हो, सडक बोर्डले २ करोडको योजना पारित गर्यो । तर, त्यसमा ७५ लाख काटेर सवा करोडमा झारिदियो । यी सबै कारणले सोचेको जति काम गर्न सकिने अवस्था छैन ।
वीरगन्ज महानगरको बजेट ३५० करोडभन्दा माथि थियो, त्यो आज घटेर तल आएको छ । संघ र प्रदेश सरकारले दिने अनुदानमा धेरै नै गिरावट आएको छ । यद्यपि हामी यसबारे निरन्तर संघ र प्रदेश सरकारसँग समन्वयमै छौँ । तर पनि कति गुहार्ने भन्दै आन्तरिक आय वृद्धि गर्दै २ वर्षमा साढे १३ करोड रुपैयाँ बढी उठाएका छौँ । कडाइका साथ अनुगमनलाई तीव्र गर्दै आन्तरिक राजस्व बढाउनेतिर लागेका छौँ । यसको मूल्यांकन वीरगन्जबासीले गरिरहेका छन् ।
आन्तरिक सुशासन चुस्त नभएको गुनासो छ नि ? सार्वजनिक खरिद, ठेक्कालगायतमा कानुनविपरीतका कार्य भन्ने सुनिन्छ ।
विपक्षीहरूको कामै विरोध गर्ने हो । केही ५÷६ जना व्यक्तिहरूले यस्ता कुरा उठाइरहेका छन् । मेयरले राष्ट्रिय झन्डामा पनि घोटाला गर्यो सम्म भ्याए । ३६ हजारको राष्ट्रिय झन्डामा कति घोटाला गर्नु ? त्यो गर्नुपर्ने हुन्छ मेयरलाई ? ३६ हजारको झन्डामा मेयरले कति कमिसन पाउँछ ? भ्रष्टाचार भनेको १÷२ रुपैयाँ पनि हो । तर, त्यो २२ फिटको राष्ट्रिय झन्डा ३६ हजारमा कसैले उपलब्ध गराइदिन्छ भने म चुनौती दिन्छु । पहिले शंकराचार्य गेटमा लगाइने ठुलो झन्डा १ महिनामै च्यातिन्थ्यो । त्यसकारण मविरुद्ध केही मसाला नपाएपछि राष्ट्रिय झन्डामा घोटाला गर्यो भनेर बदनाम गरियो ।
अर्काे, ठेक्कापट्टामा अनियमितताको प्रश्नमा वीरगन्ज महानगरको प्रायः योजना ठेक्का ई–बिडिङबाट हुन्छ । यदि इ–बिडिङ नगरी, स्थानीय सरकारको कानुनविपरीत मैले आफ्नो मान्छेलाई ठेक्का दिएको छु भने त्यहाँ मेरो गल्ती हुन्छ । जस्तै, ट्याक्टर खरिदमा पनि आरोप लगाइयो । त्यो त खुला इ–बिडिङ प्रक्रियाबाट किनेको हो नि ! विश्वको कुनै पनि कुनाबाट कोही पनि सप्लायर्सले टेन्डर भर्न सक्थ्यो ।
तपाईले सुशासन र पारदर्शिताको कुरा गर्दै गर्दा महानगरमा बेरुजुको चाङ लागेको महालेखाको प्रतिवेदनले नै देखाएको छ नि ?
बेरुजुको चाङ राजेशमान सिंहको पालामा लागेको हो र ? विगतको बेरुजुभन्दा झन्डै ४८ करोडको बेरुजु घटाएका छौँ । आउने बेलामा अझै कम गर्दै जाने नीति छ । वीरगन्ज चिनी मिल कारखानाले दिनुपर्ने राजस्व नेपाल सरकारले दिँदैन । त्यसलाई पनि बेरुजुमा राखिदिने ? त्यसरी त लाखौँ, करोडौँ बेरुजु पुग्छ नि ! बेरुजु भनेपछि नेता अथवा कर्मचारीले लियो भन्ने सोच्नुभएन नि ! अब चिनीमिल, नेसनल ट्रेडिङले नै पैसा दिँदैनन् । यो सबै बेरुजुमै राखिदिएको छ ।
चालु आर्थिक वर्षमा महानगरको स्रोत र बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?
हामीले राखेको लक्ष्य प्राप्त गर्छाैं । जुन कार्यन्वयन पनि हुन्छ । छठ पर्वपछि पुनः कडाइका साथ नक्सापासदेखि लिएर सम्पति करलगायत सबैमा कडाइका साथ कर उठाउन प्रस्तुत हुनेछौँ । कर नतिर्नेलाई पनि करको दायरामा ल्याउने नीतिअनुरूप काम गर्दै छौँ ।
फोहोरमैला र ट्राफिक व्यवस्थापनका लागि महानगरले के–कस्तो पहल गरेको छ ?
वीरगन्जको मेन रोड मात्र चिटिक्क परेर वीरगन्ज सफा हुँदैन । वीरगन्ज महानगरका हरेक वडा र टोलका सडक पनि चिटिक्क र सफा हुनुपर्छ । वीरगन्जको फोहोरमैला व्यवस्थापनको सवालमा वीरगन्ज महानगरले गरेको काम सबैमा जगजाहेर नै छ । वीरगन्जको घन्टाघरमा ट्राफिक लाइट जडान गरेर ट्राफिक व्यवस्थापनको सुरुआत गरिएको छ । हामीले लाइट जडान गरे पनि ट्राफिक प्रहरीले भने नियमित सञ्चालन गरेको छैन । ट्राफिक व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरेर र वीरगन्ज महानगरको आन्तरिक स्रोतबाट आकासे पुल निर्माण गर्न लागेका छौँ । ट्राफिक प्रहरीसँग समन्वय गरेर बसपार्कलगायत ठाउँमा ट्राफिक बत्ती जडान कार्यलाई अगाडि बढाएका छौँ ।
बर्सेनि चाडपर्वका बेला सिर्सिया नदी प्रदूषण नियन्त्रणका कुरा जोडतोडले उठ्छ । तर, पनि सिर्सिया नदी प्रदूषणमुक्त हुन नसक्नुको कारण के पाउनुभएको छ ?
कसैको मनमा जहिले पनि चोरी नै गर्ने, खराबै गर्ने नियत छ भने म के गर्न सक्छु र ? व्यापारीहरूलाई फोहोर प्रशोधित गर्ने प्लान्ट बसाउँदा पैसा लाग्ने, बिजुलीको पैसा लाग्ने जस्ता सोच छ । तर, वार्षिक ३ लाखको जरिमाना तिर्दा ध्यान जाँदैन । व्यापारीहरूले ७÷८ करोड लगानी लगाएर फोहोर व्यवस्थापन गर्ने प्लान्ट बसाउँदैनन् । बरु वार्षिक ३ लाख जरिमाना तिर्न तयार छन् । यी यावत् सोचका कारण सिर्सिया नदी पहिलेको भन्दा अहिले सफा भए पनि प्रदूषणमुक्त हुन सकेको छैन ।
हामीले कडाइ गरेपछि ४÷५ दिन सफा गरिदिन्छन् । अलिकति अनुगमनमा ढिलाइ गरियो भने खासगरी कपडा, तेल लगायतका उद्योगले कालो पानी फाल्न थाल्छन् । तसर्थः जस्तो देवता त्यस्तै पूजा गर्ने योजनासहित राजेशमान अगाडि बढ्छ ।
नारायणी रंगशालालाई तपाईंले मुख्य एजेन्डामै राख्नु भएको थियो । तर, अवस्था त उस्तै छ त ?
वीरगन्ज महानगरसँग भएको आर्थिक क्षमताअनुसार क्रिकेट ग्राउन्ड बनाइँदै छ । डेढ महिनापछि हुन लागेको एलिड कप प्रतियोगिताको पूर्वतयारीमा नारायणी रंगशालाको क्रिकेट ग्राउन्ड बनाइरहेका छौँ । बंगलादेशका कोच आएर पिच बनाउँदै छन्, त्यस्तो पिच नेपालमै छैन । अहिलेसम्म नभएको मधेस प्रदेशको सबैभन्दा ठुलो धनराशिको फुटबल वीरगन्ज गोल्डकप हामीले नै सुरुआत गराएका छौँ । राज्यले वीरगन्जलाई बजेटलगायत हरेक कुरामा विभेद गर्दै आएको छ । देशलाई ४७ प्रतिशत राजस्व वीरगन्जले दिन्छ । तर, वीरगन्जलाई बजेट दिने बेलामा ६ वटै महानगरभन्दा तलो स्थानमा राखिन्छ । काठमाडौँ, भरतपुर, चितवनको रंगशाला बन्छ । तर, वीरगन्जको रंगशाला किन बन्दैन ? तसर्थः कहीँ न कहीँ वीरगन्जलाई पछाडि पार्ने षड्यन्त्र पहिलेदेखि नै छ ।
तपाईंमाथि नक्कली बाबु बनेर अर्कैकी छोरीलाई नागरिकता दिलाएको आरोप छ नि ?
म कानुनी राज्य मान्ने व्यक्ति हो । अनुसन्धान प्रक्रियामा सघाउँदै जे परिणाम आउँछ, त्यसलाई स्वीकार्नेछु । यदि गलत गरेको छु भन्ने कानुनी दायरामा आउनुपर्छ, आउँछु ।
प्रतिक्रिया