महिला यु– १९ टि– २० विश्वकप छनोट : नेपाललाई यूएईले दियो ८४ रनको लक्ष्य

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी महिला यु– १९ टि– २० विश्वकप एसिया छनोटअन्तर्गत पाचौँ खेल आज नेपालले घरेलु टोली यूएईले नेपाललाई जितका लागि ८४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला बलिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो ।

युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१, रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।

आज दिउँसो ३ः१५ बजेबाट सुरु भएको अन्तिम यस खेलमा यूएईलाई जित्नै पर्ने नेपालमाथि दबाब छ । यस अन्तिम खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्‍नै पर्ने दबाब परेको हो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.३ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको छ ।

यसअघि भएको खेलमा यूएईले नेपाललाई १३ रनले हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित नेपाल ८ अंकको साथमा दोस्रो स्थानमा छ ।

आज भएको खेलमा नेपालले जितेर मात्र पुग्दैन भने रनरेटमा पनि अगाडि आउनुपर्ने छ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया