अन्तिम खेलमा आज नेपालको यूएईसँग प्रतिस्पर्धा, जित्नै पर्ने दबाबमा नेपाल

आईसीसी महिला यु– १९ टि– २० विश्वकप एसिया छनोट

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी महिला यु– १९ टि– २० विश्वकप एसिया छनोटअन्तर्गत पाचौँ खेल आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज यूएईसँग खेल्ने खेल अन्तिम रहनेछ भने यस खेल नेपाललाई जित्नै पर्ने दबाब छ ।

उक्त खेल दुबईमा दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । साथै, यस अन्तिम खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्‍नै पर्ने दबाब परेको हो । यसअघि भएको खेलमा यूएईले नेपाललाई १३ रनले हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै चार जीत र १ हारसहित नेपाल ८ अंकको साथमा दोस्रो स्थानमा छ । आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन भने रनरेटमा पनि अगाडि आउनुपर्ने छ । पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ ।

त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ । यीभन्दा कम अन्तरको जीत हासिल गरे पनि नेपाल रनरेटमा पछाडि पर्दै दोस्रोमै सीमित भएर विश्वकप खेल्नबाट वञ्चित हुने छ ।

हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलोपटक आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यस पटक कप्तान पुजा महतो उत्कृष्ट लयमा देखिएकी छन् । त्यस्तै प्रदर्शन आजको खेलमा अन्य खेलाडीबाट पनि हुन सके नेपाली यु–१९ महिला टोलीले पहिलो पटक विश्वकप खेल्ने छन् ।

नेपालले थाइल्याण्ड र कुवेतलाई दुवै भेटमा फराकिलो अन्तरले हराएको छ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने यु–१९ विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया