सहकारी पीडितलाई रविले भने – तपाईंहरुलाई दशकौँदेखि ठग्नेहरूलाई चिन्ने बेला भएको छ

फाइल तस्विर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूले हिरासतमा रहेका सभापति रवि लामिछानेलाई भेटेका छन् । उपसभापतिद्वय डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, पार्टी प्रवक्ता मनिषा झा लगायतका नेताले लामिछानेलाई भेटेका हुन् । उनीहरूले लामिछानेसँग भेटेर अनौपचारिक संवादमा आधारित रही केन्द्रीय समितिद्वारा सन्देश तयार पारेको बताएका छन् । सन्देशमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको बताइएको छ ।

सन्देशमा भनिएको छ, ‘हिरासतबाहिर राखेर गर्न सकिने अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको छ । सत्ता सञ्चालकले प्रतिशोधको ज्वाला यसरी दन्काउँदै छन् कि उनीहरू सभापतिसँगै नागरिकमा जागेको आशा र वैकल्पिक राजनीतिक शक्तिप्रति बढेको विश्वास निमोठ्न चाहन्छन् । प्रतिशोधविरुद्ध शान्तिपूर्वक ऐक्यबद्धता जनाउनेहरूलाई दमन गरिएको छ । यो देश अब त्रासको ताप र छहारीमुनि बाँच्न सक्नेहरूका लागि मात्रै हो । हिरासतको जीवन सहज‌ कसैका लागि पनि सहज हुँदैन । तर, सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हताश हुनुभएको छैन । राणा शासन मुर्दावाद भनेर यो देशमा जनताको पक्षमा आवाज बुलन्द गरेका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द एवं विभिन्न कालखण्डका सङ्घर्षमा लड्नुभएका दर्जनौँ सहिदहरूको स्मरणले मलाई निष्ठाभाव‌ र निडर हुने ताकत दिएको छ। अनि तपाईँहरूले देश र विदेशबाट दिनुभएको माया र आशीर्वादले दरिलो मुटु । भनेर हरेक भेटमा उहाँले आफ्नो मनोबल उच्च राख्दै हामी सबैको हौसला बढाइराख्नुभएको छ । अनि भेट्न जाने सबै जनालाई विश्वासका साथ रवि लामिछानेमाथि अन्याय भयो भन्ने सन्देश प्रवाह गरिरहनुभएका र अवसरहरू गुम्ला भन्ने डर नराखी बोलिराख्नुभएका दलभित्र र दलबाहिर एवं देशभित्र र देशबाहिर रहनुभएका समस्त आदरणीय शुभेच्छुक आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई मनैदेखि आभारी रहेको कुरा पनि सुनाइदिन भन्नुभएको छ ।’

यस्तै सभापति निर्दोष रहेको बताउँदै रास्वपाले दशकौँदेखि ठग्ने वास्तविक ठगहरूलाई चिन्ने बेला आएको दाबी गरेको छ ।

पार्टीले अन्तिममा भनेको छ, ‘५० औँ वर्ष राजनीति गर्दै आएकाहरूले यो समस्यालाई कहिल्यै गम्भीर भएर समाधान गर्ने प्रयास गरेनन् । गरिब जनताको बचत हिनामिनाले अहिले राज्यसत्तामा कब्जा जमाएकाहरूलाई छुन्थ्यो भने सहकारीको समस्या धेरै पहिला नै समाधान भइसक्ने थियो होला । सुधार र नियमन भन्दै आठ वटा त सुधार आयोग नै बने तर पुराना दलको नियन्त्रणमा रहेको यो क्षेत्रमा कुनै सुधार भएन । बरु सहकारी ऐन २०७४ सम्म आइपुग्दा सहकारीको मूल अवधारणामै प्रहार गरियो । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरू मात्र होइन सबैलाई थाहा छ भनिएका सहकारीसँग रवि लामिछानेको कुनै सम्बन्ध थिएन र छैन, न पदाधिकारी थिए न सदस्य‌ न कर्मचारी न ऋणी नै । यो तथ्य संसदीय छानबिन प्रतिवेदनमा पनि स्पष्ट उल्लेख छ । ११२४ पृष्ठको प्रतिवेदनले भन्छ ९ सहकारी संस्थाबाट रकम ल्याउने प्रक्रियामा रवि लामिछानेको संलग्नता देखिएन । दुःख गरेर दैनिक १० र २० रुपैंया जम्मा गर्नुभएका देशैभरका तमाम सहकारी पीडितको न्यायको मागमा राष्ट्रिय स्वतन्त्र पार्टीको सधैँ ऐक्यबद्धता रहनेछ । तर, पीडितका समस्यालाई यसरी नै राजनीतिकरण गरेर व्यक्तिगत प्रतिशोधको औजार बनाइँदै लगिने हो भने समस्या समाधानतर्फ होइन विकराल बन्नेछ । यी र यस्ता समस्या दशकौँदेखि यो देशमा जकडिएको दलीयकरणको दुष्चक्रको एउटा उपक्रम मात्र हो भन्ने कुरामा हामीलाई शङ्का छैन ‌र यी सबै समस्याको समाधान गर्न नै हामी राजनीतिमा आएका हौं । यो लडाई जति तपाईंको हो, हाम्रो पनि हो । सहकारी पीडित देशैभरका तमाम आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हाम्रो अनुरोध छ, तपाईंहरुलाई दशकौँदेखि ठग्ने वास्तविक ठगहरूलाई चिन्ने बेला भएको छ । बचत फिर्तासँगै उनीहरूसँग जवाफ पनि माग्ने बेला हो यो ।’

प्रतिक्रिया