काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएको छ । प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै क्यानका सचिव पारस खड्काले यस्तो बताएका हुन् । एनपिएलको पहिलो संस्करण अन्तर्राष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्ने बताउँदै यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने जानकारी दिए ।
उनले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान गर्न सकिन्छ ।’ खड्काका अनुसार फ्लडलाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको क्यानको आँकलन छ । क्यानको आयोजनामा पहिलो संकरणको एनपिएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ । सरकारले त्रिवि मैदानमा फ्लडलाइट जडान गर्ने निर्णय गरिसकेको छ ।
राजेश हमाल लुम्बिनी लायन्समा
लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपिएलका लागि आफ्नो ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो । नेपाली चलचित्र उद्योगमा दशकौँ लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन् । नेपाली चलचित्रको क्षेत्रमा उनको असाधारण योगदानले उनलाई ‘महानायक’ को रूपमा पनि चिनिन्छ । ब्रान्ड एम्बेसेडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भई नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन् ।
ब्रान्ड एम्बेसेडरको रूपमा नियुक्त भएपछि हमालले आफ्नो विचार राख्दै भने, ‘लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपिएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवद्र्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपाली क्रिकेटको प्रवद्र्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्रान्ड एम्बेसेडरको रूपमा स्वागत गर्दै भने, ‘चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्राउन पाउँदा हामी निकै खुसी छौँ । हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रूपमा एनपिएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडि बढिरहेका छौँ र सोही अनुरूप कप्तान, कन्सुल्टेन्त कोच तथा ब्रान्ड एम्बेसेडर साइन गरेका छौँ । म आफँै पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकोले मलाई गर्वको महसुस भइरहेको छ ।’
लुम्बिनी लायन्सको यो नयाँ घोषणाले यस फ्रान्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँ उत्साह र ऊर्जा थप्ने विश्वास लिएको छ ।
प्रतिक्रिया