बाख्रा चोरेको आरोपमा कुटपिटबाट एक युवकको धनगढीमा मृत्यु

सुदूरपश्चिम । कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार बाख्रा चोरेको आरोपमा कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जंग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको सदस्य र राष्ट्रिय दलित पत्रकार संघका जिल्ला सहसचिव रहेको जनाइएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ कैलालीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ । बाख्रा चोरेको आरोपमा भुललाई शनिबार राति सोही ठाउँमा सामूहिक कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोहराले बताउनुभयो ।

प्रतिक्रिया