काठमाडौँ । नेपाली संस्कृतिको एउटा हिस्सा बनेको मारुनी नाच हराउँदै गएको छ । परन्तु यदाकदा यसको जर्गेनाको निम्ति काम गर्नेहरू अझै यथावत छ । यसैको उदाहरण हो, प्युठान नगरपालिका । प्युठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवाजस्तै जोसिलो पारामा मारुनी देखाउँछन् । उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापुस्ताको जस्तै छ । गाउँका युवालाई साथमा लिएर माझकोटसहित प्युठानका सरायँ मेलाहरूमा मारुनी देखाउन पुन अहिले पनि पुग्छन् ।
पुनले आफूले जान्ने भएदेखि बाबुबाजेका साथमा मारुनी देखाउन थालेको बताए । गाउँमा अहिले फुर्केथुम मारुनी नाच तथा भैलो समूह गठन गरेर गुरुमुखेको रूपमा मारुनी प्रदर्शन गरिन्छ । पूजाआजा, गाउँमा देउसीभैलोसँगै जिल्लामा हुने सरायँ मेला, भाइटीकाको दिन हुने पुरभुरे (जेठो छोरो जन्मिदा मगर समुदायमा तिहारमा गरिने छैँठीको प्रकार), छैँठी, आमन्त्रण गरिएका देवालीहरूमा मारुनी प्रदर्शन गर्ने गरेको पुनले जानकारी दिए ।
‘मारुनी पछिल्लो समय संकटमा पर्दै गएको छ, युवापुस्ता वैदेशिक रोजगारी, पेसा व्यवसाय तथा शिक्षाको सिलसिलामा गाउँ बाहिर तथा विदेश जाने गरेकाले गाउन र नाच्न रहर गर्ने युवा भेटिँदैन’, पुनले भने, ‘केहीलाई साथमा लिएर सिकाउने गरेका छौँ तर उनीहरू पनि कतिबेला विदेशिने हुन् ठेगान छैन ।’ गाउँबाट टाढाटाढा नाच देखाउन जान यातायात, आभूषणको पर्याप्त व्यवस्था भए पनि युवा शक्ति नहुँदा समस्या भएको उनको भनाइ छ । पहिला आमा, दिदीबहिनीका सारी, चोलोलगायत वेशभूषा, गरगहना लगाएर नाच्ने गरिएको उनले अनुभव सुनाए ।
प्युठान–६ माझकोट निवासी शिक्षकसमेत रहेका मादले पोषण पुनले सिङ्गारु (महिला वेष), पूरसुङ्गे (पुरुष) १–१ र मादले २ गरी ४ जनाले नृत्य गर्ने बताए । माझकोटमा दसैँको अष्टमीमा बृद्धिकोटमा समुद्र बाँध्ने (मारुनी सुरुको प्रथम चरणमा देवदेवीको नाम पुकारी नाच्दै मारुनी सुरु गरिने), दसैँको पूर्णिमामा प्युठान–७ बखडी, डल्लेमा मौलो मान्नका लागि ल्याइने, तिहारमा देउसीभैलो, पूजा, पुरभुरे, देवालीमा मारुनी प्रदर्शन गरेर पुस मसान्तभित्र मारुनी विसर्जन गर्ने प्रचलन रहेको पुनले जानकारी दिए ।
उनका अनुसार मारुनीमा कृष्ण चरित्र, रामायण, महाभारत, मायाप्रेमका कथा, नारीहरूको वेदना, खुसियाली, बालापन, समय अनुसारका गीत (भाले बास्ने, घाम झुल्कने, दिउँसो, साँझ, राति, मध्यराति, बिहानी समय), सन्यासीका कुरालाई मारुनीको तालमा गाइन्छ । ‘सबै गीतहरू गाउने हो भने एक महिना लाग्छ, लिपिबद्ध छैनन्, सम्झीसम्झी गाउनु पर्छ, युवापुस्तामा सिक्ने समय र चाहना नै छैन’, पुनले भने, ‘खर्चिलो, बढी समय लाग्ने हुँदा नयाँ पुस्ताले चासो दिँदैनन्, परम्पराले अहिलेसम्म निरन्तरता पाउनुको कारण पुरानै पुस्ता नै हो ।’
मारुनीमा सोरठी, झुमरा, चुड्का, बाटाताललगायत फरक–फरक तालका नृत्य प्रस्तुत हुन्छन् । पुनका अनुसार मारुनी विसर्जन गरेपछि मादल, खाँकर, मुजुरा, बाँसुरी १ वर्ष बजाउन मिल्दैन । ‘गीत निकाल्ने मारुनीको मुख्यलाई प्युठानमा गुरमुखे भनिन्छ, ‘मारुनी’ नृत्यको मुख्य पात्र हुन्, मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन्, वेशभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म बदलिन पाउँदैनन्, एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्छ’, उनले भने ।
पहिला पूजा, न्वारन, छैँठी, देवाली, मेलामा अनिवार्यजसो मारुनी नाचिने गरेकामा पछिल्ला वर्षहरूमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको मादले पुनले बताए । ठूला सांस्कृतिक कार्यक्रम, महोत्सवमा संस्कृति जोगाउन पनि मारुनी नाच्ने गरिएको उनको भनाइ छ ।
समूहमा नाच्ने व्यक्तिले गुनियो, चोली, पटुका, गरगहना, घलेक, घाँगर, घाँगरी, मुजेत्रो लगाउने चलन रहेको मारुनीका जानकार लीला पुनले बताए । मगर संस्कृति संरक्षण मञ्च गठन गरी २०७८ सालदेखि मारुनी नाच प्रदर्शनी गरेका उनले युवापुस्ताले चासो नदिँदा यसवर्ष मारुनी देखाउन नसकिएको उल्लेख गरे ।
‘तिहारको लक्ष्मी पूजाका दिनदेखि सुरु गरेर माघी पर्वलाई बिदा गर्दै मारुनी विसर्जन गर्ने चलन थियो, अहिले लामो समयसम्म खट्ने युवा भेटिएनन्’, पुनले भने, ‘गत वर्ष नाचेका मारुनी यस वर्ष शारीरिक समस्याका कारण नाच्न सक्नुभएन ।’ पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति नहुँदा कहिलेकाहीँ मेला, महोत्सव तथा विविध कार्यक्रममा मात्रै सीमित बनेको उनले बताए । परम्परागत संस्कृति संरक्षणमा सरोकार भएका निकायले ध्यान नदिँदा जिल्लाका अधिकांश स्थानमा मारुनी नाच लोप हुँदै गएको जानकारहरू बताउँछन् ।
मारुनी नाच ऐतिहासिक कालदेखि नै एउटा विशेष समयमा बढी प्रचलत थियो । सामान्यतया नेपालमा असारदेखि नै पानी पर्न सुरु हुन्छ । झरीका कारण मानिस कतै जान सक्दैनन् । खोलामा बाढी आएको हुन्छ । ठाउँ–ठाउँमा पहिरो गएको हुन्छ । बाटो चिप्लो र हिलाम्मे हुन्छ । खेतीपातीको चटारो पनि हुन्छ । जब वर्षा सकिन्छ, तब मानिसमा उत्साह भरिन थाल्छ । खेतमा धान पहेँलै भएर पाक्न थाल्छन् । आँगनमा सयपत्री, मखमली, गोदावरी फुल्न थाल्छन् । दसैँ, तिहारको आगमनसँगै हाटबजारमा चहलपहल सुरु हुन्छ । मानिसमा हर्ष र खुसीको सञ्चार हुन्छ । त्यसै समयमा भेला भएर भाका हालेर मारुनीका गीत गुनगुनाउँदै नाच्ने प्रचलन ग्रामीण भेगमा धेरै पहिले नै थियो ।
यसरी परापूर्वकालदेखि दसैँतिहारको आगमनसँगै मारुनी गाउने र नाच्ने परम्परा रहे पनि यसमा कमी आएको छ । मारुनी पश्चिममा नृत्य र पूर्वमा गाथाको रूपमा चर्चित छ । लोकगीत, गाथा वा नृत्य न त कहिल्यै पुरानो हुन्छ, न त नयाँ नै हुन्छ । यो त जंगलको त्यो वृक्ष हो, जसको जरा अतीतको गहिराइमा भासिएको हुन्छ । यसमा निरन्तर नयाँ हाँगा, पात पलाइरहन्छ ।
वीरता, उमंग, हर्ष, विरह, शृंगार आदि धेरै रसको अनुभव यस मारुनी नाचमा हुन्छ । वास्तविक संस्कृति, प्रथा, परम्परा आदि लोकगीतमा नै अन्तर्निहित हुन्छ । लोकगीतमा लोकजीवनको दर्शन हुन्छ । लोकगीतकै एक अंश मारुनी भएकाले यसमा पनि ती सबै लागू हुन्छ ।
मारुनीको उत्पत्तिका बारे अझै यकिन छैन । पश्चिममा मारुनी नृत्यको रूपमा र पूर्वमा गाथाको रूपमा चर्चित छ । मारुनी गाथा कोसी प्रदेशमा उर्वर रूपमा फस्टाएको पाइए पनि यसलाई ठेट पूर्वेली भाकामा भने राख्न मिल्दैन । मारुनीका लय भने पूर्वमा नै अधिक चर्चित छ । हीरादेवी वाइबा, कविता आले, देवीप्रसाद ओली, भानु ओली, तुलसी पराजुली आदिका ठेट मारुनी र मारुनी लयमा आधारित भाकाहरू जनजिब्रोमा झुन्डिन सफल छन् । भर्खर दसैँमा घर फर्किन लागेका लाहुरेको मनमा उत्पन्न भावनालाई मारुनी लयको माध्यमबाट पोखिएको पुरानो गीत अहिले पनि त्यति नै चर्चित छ ः
त्यस्तै अरूण उपत्यकाको संकलनमा रहेको पैसाझारे मारुनी गीत पनि त्यति नै चर्चित छ । मारुनीका समला, टप्पा, ख्याली, मसले, विरहिणी आदि रागरागिनी हुन्छन् । पूर्वमा चर्चित हीरादेवी वाइबाको स्वरमा रहेको समला रागको मारुनीमा लाहुर जान लागेका खसमलाई भनेको मारुनी अझै पुरानो पुस्तालाई याद छ ।
मारुनी भाका खस, मगर, कुम्हाल जातिमा प्रचलित छ । सायद पश्चिमबाट बसाइँ सर्दै पूर्व जाँदा उनीहरूले भाका पनि लिएर गए र त्यहाँको माटो अनुरूप मारुनी गाथा बनाएर गाए कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।
मारुनी परम्परागत नृत्य भएकोले यसमा प्रयोग हुने बाजा पनि परम्परागत नै हुन्छन् । यसमा मुख्य रूपमा प्रयोग हुने बाजा भनेको मादल हो । मादलमा पनि गुरुले बजाउने छुट्टै मादल हुन्छ । अरू समूहले बजाउने मादल छुट्टै हुन्छ । अर्को प्रमुख बाजा खाँकर हो । जुन काँस र पित्तलको धातुले बनेको हुन्छ । गोडामा लगाउँदा घुँघरूझैँ छमछम बज्छ । अर्को प्रमुख बाजा भने मुजुरा नै हो ।
मारुनी नाच दसैँतिहारमा सुरु गर्ने नृत्य भए पनि कतै भने तिजदेखि नै सुरु हुन्छ । प्रायः स्थानमा दसैँको कालरात्रिदेखि यो नाच सुरु हुन्छ । यो नाच सुरु गर्नका लागि ‘नाच बाँध्नु’ भनिन्छ । विशेष गरी तिहारको देउसी र भैलोमा मारुनी गीत र नृत्यको छुट्टै आकर्षण हुन्छ । पूर्व र पश्चिममा नाच्ने तरिका र गीतको ताल भने फरक रहेको पाइन्छ ।
नृत्यमा मारुनी भन्ने छुट्टै हुन्छ जसमा पुरुषले महिलालेझैँ कपडा लगाएर सिँगारिएको हुन्छ । अनेकौँ हाउभाउले मनोरञ्जन दिन पुर्सुङ्गे, ल्वाँगे, ढँटुवारे, झिल्के, पाङ्दुरेहरू हुन्छन् । मारुनीमा अनैकौँ लोककथा, पौराणिक कथा जोडिने भए पनि एउटै निश्चित दायरामा भने बाँधिएको छैन । आफ्नो आफ्नो वर्ग अनुरूप आफ्ना मनका बहहरू पोख्नलाई यसको लय पछ्याइएको पाइन्छ । मारुनी एउटा नदी हो जसमा अनेकौँ भँगाला मिसिएका छन् । यो अति झन्झटिलो, बोझिलो हुनाले पछिल्लो चरणमा आएर लोपोन्मुख अवस्थामा पुगेको छ । कुनै समय दसैँतिहार आउँदा यी भाकाहरू खुब गुन्जिन्थ्यो तर केही समय यता आएर यी भाका सुन्न पाइँदैन । मूलतः यसमा गुरु मुख्य हुन्छ । तर गुरुहरूको निधनपछि उत्तराधिकारीको अभावमा यो भाका लोप हुने अवस्थामा पुगेको हो ।
धेरै स्थानमा यो नाच हराउँदै गए पनि यसको संरक्षणमा कसैको चासो नभएको होइन । मकवानपुरको गाउँगाउँमा नाच्ने गरिए पनि बिस्तारै हराउँदै गएको अवस्थामा मकवानपुरको विकट कैलाश गाउँपालिका–१ र २ का युवा भने मारुनी नृत्यको संरक्षणमा जुटेका छन् ।
मारुनी भाका खस, मगर, कुम्हाल जातिमा प्रचलित छ । मारुनी नाचमा नयाँ पुस्ताको खासै रुचि छैन । यद्यपि कैलाश–१ र २ का युवाले समूह बनाएर मारुनी नृत्य नाच्ने गर्छन् । मारुनी नृत्यमा रामायण, महाभारत आदि धार्मिक ग्रन्थका कथालाई लोक गाथामा मिलाएर गाउने गरिन्छ । मारुनी नृत्य समूहका एक सदस्य आफूले १० वर्षअघि नै यो नाच नाच्न सुरु गरेको बताउँछन् । अर्का युवाले पनि ५ वर्षदेखि मारुनी नृत्य नाच्दै आएका छन् । आफ्नो पारिवारिक सदस्यबाट नाच सिकेका उनीहरू संस्कृति र परम्परा जगेर्नामा जुटेका छन् ।
कैलाश गाउँपालिका–१ र २ को सिमानामा रहेको गुप्तेश्वरी गुफा मेलामा युवाहरू मारुनी नाच्ने गरेका छन् । उनीहरूसँग केही वृद्ध पनि मारुनीमा लय मिलाउँदै थिए । मारुनी नाचमा गाउने समूहमा केही मात्र युवा हुने गरेका छन् भने अधिकांश ६० वर्ष माथिका थिए । गलामा मादल भिरेर वृद्धहरू मारुनी नृत्यका लागि ताल मिलाउँदै गाइरहेको समयमा सीमित युवाहरू सोही तालमा नाच्दै थिए । आफूले बुबाहरूको पुस्ताबाट मारुनी नाच सिकेको बताउने उनी आफूभन्दा पछिको पुस्ताले मारुनी नाच्न नै नचाहने गरेको गुनासो गर्छन् । यद्यपि मारुनीमा इच्छा देखाएका भाइबहिनीको समूह बनाएर नाच सिकाउने गरेको उनको भनाइ छ ।
चाडपर्व, मेला महोत्सव र सभा समारोहमा मारुनी नाच्न बोलाउने गर्दा आफूहरूले थोरै पारिश्रमिक लिएर नाच्ने गरेको उनले बताए । मारुनी नाचेर जीविकोपार्जन हुने अवस्था नरहेकाले पनि नयाँ पुस्ताको चासो कम रहेको उनको भनाइ छ । मारुनी नृत्यका लागि स्थानीय पालिकाले केही सहयोग गरे पनि जीविकोपार्जनमा अन्य पेसा व्यवसाय गर्नुपर्दा नाच्ने मानिसहरू नै नहुने अवस्थामा पुगेको यसको जगेर्नामा सक्रिय युवाहरू बताउँछन् ।
पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेका कारण मारुनी नाच लोप भएको मनोजको बुझाइ छ । उनका अनुसार बुढा बुबा–बाजेहरू मादल र खाँकर बजाउने तथा मारुनी गाउने समूहमा रहने गरेका छन् भने २ जना नाच्ने र ७–८ जना गाउने टोलीमा हुन्छन् । हाल आफ्नो मारुनी समूहमा ५ जना नाच्नेसहित गाउने र बजाउने गरी २५ जना रहेको उनको भनाइ छ । ‘मारुनी नै यो नाचको मुख्य पात्र हुन् । मारुनी नाचका लागि २ जना मारुनी, ३ मादले, १ जना खाँकर र ६ देखि १० जनाले मारुनी गीत गाउने प्रचलन छ ।
मारुनी गीतको मुख्य गायकलाई रौरा भनिन्छ’, त्यहाँका एक युवाले भने, ‘मारुनी नाचको आफ्नै विधि र परम्परा छ । मारुनी नाच दसैँ, तिहार, देउसी, भैलीमा नाचिन्छ । २ जना पुरुष मानिसलाई महिलाको कपडा (चोलो, गुन्यु, चुरा, पोते, तिलहरी आदि), गहनाहरू पहिर्याएर मारुनी बनाइन्छ । मारुनीहरू मादलेसँगै अगाडि पछाडि घुमेर नाच्दछन् ।’
प्रतिक्रिया