साहित्यमा गद्यात्मक सृजना हो कथा । लघुकथाभन्दा ठूलो र उपन्यासभन्दा सानो आख्यानात्मक सृजना नै कथा हो जुन आफैँमा पूर्ण हुन्छ । महाभारतले सत्यम्, शिवम्, सुन्दरम् अभिव्यक्त गर्ने आख्यान मानेको छ कथालाई भने डा.इश्वर बरालले ‘एकोन्मुख प्रभाव उत्पन्न गरेर केबल एक उद्देश्यको प्राप्ति नै इष्टार्थ हुनाले कथा एक प्रमुख पात्रको जीवनको कुनै अंगको र त्यस जीवनसम्बन्धी कुनै एक मुख्य घट्ना वा भावदशाको मात्र उद्घाटन गर्छ’ भनेका छन् ।
कथाकार विजय सापकोटा चर्चामा आउन कम रुचाउने तर पाठकका मनोभावना र मनका गहिराइमा पुगेर पत्रपत्र केलाउन सक्ने स्रष्टा हुन् । उनका यस अघि ‘गाउँ खोज्दै जाँदा’ (कवितासङ्ग्रह), ‘आमाको माया’ (बालउपन्यास), ‘उडान’(तन्नेरीउपन्यास), ‘काभ्रेली साहित्यको रूपरेखा’ लगायतका कृति बजारमा आइसकेका छन् । यसैगरी पत्रपत्रिकामा थुप्रै नियात्रा, समीक्षा, कविता र कथाहरू प्रकाशित भएका छन् ।
कथालाई माया गर्नेहरूप्रति समर्पित यो अनावरण कथासंग्रहभित्र जम्मा ११ कथा रहेका छन् । जसमा आरेमको ट्यांका, पटाक्षेप, अन्तिम वाक्य, निमित्त, विजेता, गिर्खा, अन्तरण, जंगलीफूल, धसन्तान, बाहिर अन्धकार थियो र मुक्त शीर्षकका कथाहरू रहेका छन् । प्रत्येक शीर्षकका आफ्नै मनोभाव गति र लय रहेका छ्न् । पढ्दै जाँदा अझ कुतूहल जगाउने, अब के होला भन्ने जिज्ञासा लगाउने र मनभित्रको ऐंठनलाई अझ कस्न सक्ने विषयहरू कथामा प्रसस्त रहेका छन् । मानवीय अनुभुति र संवेदनालाई गहन अर्थबोधका साथ यस संग्रहभित्रका कथाहरू प्रस्तुत गरिएको छ ।
उनका कथाहरूमा मनभित्रका उथलपुथल, चेतन, अवचेतन र मसिना मनको संवेदनशील कणहरूलाई समेत केलाएर कथा लेखिएको पाइन्छ । आफ्नै भूगोल र वातावरण वरिपरि छरिएर रहेका विषयलाई टपक्क टिपेर कथामा उतार्न सक्नु नै विजय सापकोटाले आफ्नो असल कथाकारको क्षमता यस पुस्तकभित्र प्रस्तुत गरेका छन् ।
आरेमको ट्यांका शीर्षकभित्र कुनै क्रान्तिकारी राजनीतिक पार्टीभित्र क्रियाशील केही युवाजमात हुन्छन् जसको पार्टी कार्यालय दैनिक चलाउने पात्र हुन्छ आरेम । जो म मरेपछि मेरो लाशमा पार्टीकै झन्डा ओडाउनु है भन्ने युवाहरूले राजनीतिमा लागेर के पाए ? अन्तिम अस्थामा क्रान्तिले के दियो र आममान्छेको जीवनस्तरमा के परिवर्तन ल्यायो ? वर्गीय समाजले आरेमको चोखो प्रेम पनि सफल हुन दिएन भन्दै गहन चिन्तनका बीच कथा सकिन्छ ।
कथा अन्तरणमा एउटा पशु (खसी) घरमा पालिएकोसँग मान्छेको प्रेम कति गहिरो र संवेदनशील हुन्छ भन्ने कुरा देखाइएको छ । मान्छेभित्रका प्रेम, भावना, रिस, क्षुब्धता, मनको वेचैनीको चिरफार यस कथामा पाउन सकिन्छ ।
अन्तिम वाक्य कथामा हाम्रै छरछिमेकमा देखेभोगेका महिलाका मनोभावनासँगको खेलवाड, मानसिक हिंसा र बालबालिकाको मनोदशा आदिलाई औँल्याउँदै कथा लेखिएको छ । एक अबोध महिला एक्लै हुँदा आफ्नो घरमा पनि सुरक्षित हुन सक्दैनन् आफ्नै दाजु, ससुरा वा अन्य पुरुष पात्रबाट यौनिक हिंसामा पर्न सक्छ्न् । बाल मस्तिष्कमा आघात पर्दा बालबालिकाले आफ्नै ज्यानलाई खतरामा पार्न सक्छन् भन्ने मनोभाव यसमा दर्शाइएको छ ।
त्यस्तै बाहिर अन्धकार थियो कथाभित्र आफ्नो बालापन मनका उकुसमुकुस मन भित्रको बाल सुलभ प्रेम, अरूका अन्यायपूर्ण व्यवहारले समाजमा मान्छे कसरी विद्रोह गर्छ र क्रान्तिकारी बन्छ भन्ने कुरा मिहीन तरिकाले औँल्याएर कथाभित्र सुक्ष्म रूपमा राखिएको छ । गाउँका बडाहरूले तल्ला जात भनिएकाहरूका खेतिबारी हड्पेर बास उखेल्नाले त्यै भुँइमान्छे कसरी क्रान्तिकारी बनी बन्दुक समाउन बाध्य हुन्छ भन्ने पनि यस कथा भित्रको मूलमर्म रहेको छ ।
यसरी यस पुस्तकभित्र जुन जुन शीर्षकका कथा पढ्यो त्यै भित्र हराएर पढ्न मनलाग्ने एकप्रकारको एकोहोरो लगाव बसिरहन्छ पाठकहरूमा । आफ्नै गाउँघर, सहर परिवेश, आफ्नै मनको मनोवृत्ति मनोभावलाई सर्लक कथामा देख्न र भेट्न् पाउने कथाको पुस्तक हो अनावरण ।
युवायुवतीको संघर्ष, मनोविज्ञान र आजको घटनाक्रमलाई जोड्ने कथा गिर्खो, जंगली फूल, विजेता समाजसेवा गर्दागर्दै पनि पाएको हन्डर र ठक्करले भरिएको कथा निमित्त र पटाक्षेपभित्र सोझो र सिधा हुँदा राजनीति गर्ने बाठा र अवसरवादीले अर्काको इज्जत र प्रतिष्ठामा कसरी माटो छर्छन्, समाजमा गर्न नहुने काम गर्छन् र अन्त्यमा मरण पनि त्यस्तै किसिमको हुन्छ भन्ने देखाइएको छ ।
समाजमा गरिब जनजातिको पारिवारिक लगायतका अवस्थाको भग्न कहानीलाई प्रस्तुत गरिएको कथा हो मुक्त । उमेरमै पति गुमाएकी आमा र तत्कालीन सशस्त्र द्वन्द्वको क्रममा राज्यद्वारा बेपत्ता पारिएको लक्का जवान छोरो, ज्वाइँको जिम्मामा छोडिएकी छोरीलाई ज्वाइँले घर न घाटको अवस्था पुर्याइदिए पछिको गोमाको परिवारको चित्रण गरिएको छ ।
दर्दनाक छ कथा, रुवाउँछ । यो आम भुँइमान्छेको प्रतिनिधिमूलक कथा हो । समग्रमा भन्नुपर्दा पात्र र तीनको चरित्र चित्रणमा कथाकारले न्याय गरेका छन् । समाजका लुकेका मसिना मसिना सत्य उजागर गर्ने कथाकारको प्रयासले सार्थकता पाएको छ । विशेषतः समाजमा आर्थिक, सामाजिक, राजनीति र सांस्कृतिक कारणबाट हेपाइमा परेका भुइँमान्छेका दुःख, दर्द, उनीहरूले देखेका सपना जस्ता विषयले कथाहरू बुनिएका छन् । कथाहरूमा मनोवैज्ञानिकता पनि परेका छन् । त्यस्तै पात्रहरूका विवश चरित्रहरू कथाहरूमा पढ्न पाइन्छ । विषयका आधारमा कथाहरू प्रायः सामाजिक छन् भने तत्वगत आधारमा घट्नाप्रधान र चरित्रप्रधान लाग्छन् ।
यसैगरी प्रवृत्तिको आधारले हेर्दा कथाहरू यथार्थवादी र प्रगतिवादी लाग्छन् । कथाका पात्रहरू सजीव देखिन्छन् । त्यहाँ स्थिरभन्दा नि गतिशील पात्रहरूको बाहुल्यता पाइन्छ । कथाको भाषशैली सरल छ । रूपविन्यासले भरिपूर्ण सजावटले कथा झन् सुन्दर देखिएका छन् । कथाका तत्व वा घटकहरूलाई गहिरो प्रभाव पार्नसक्ने गरी कथाबस्तु बुनिएको छ । उनले कथामा उठान गर्न खोजेका कथानक निर्माण वर्तमान समाज हो । यसो हेर्दा लाग्छ आन्तरिक दृष्टिविन्दुमा कथाकारले आफूलाई पनि कहीँ न कहीँ समाहित गरेको छ । उसले समाजको मनोदशा टपक्क टिपेको छ । कथाहरूमा समकालीन सत्य उजागर भएको छ । शब्द, बाक्य, पदावली, अनुच्छेदजस्ता भाषाका तत्वहरूको सुन्दर बनोटले कथामा बान्की थपेका छन् ।
कथाहरू सन्देशप्रद उद्देश्यले लेखिएका देखिन्छन् । समाजको यथार्थता चित्रिततर्फ कथाहरू लक्षित छन् । कथानकता हाम्रै वरिपरिका साना साना घट्नाहरूलाई मिहीन ढंगले टिपिएर लेखिएका छन् । उनका कथाहरू पाठकले कल्पना गरेभन्दा फरक ढंगले टुंयाइएका छन् । यो उनको कथाको थप विशेषता हो ।
विजयका कथाका स्रोत भनेकै हाम्रै समाजका अवयवहरू हुन् । उनमा देखिएको उच्चस्तरको राजनीतिक, सामाजिक र मानवीय चेतको मसीले लेखिएका कथाहरू सु–स्वादु र पठनीय छन् । विजय सापकोटा चर्चामा त्यति देखिँदैनन् किन हो कुन्नी तर उनको ‘अनावरण’ अब्बल पुस्तक बनेको छ कथा रूचाउने पाठकहरूका निमित्त । पाठकहरूको मनमा कथाहरूले विशेष प्रभाव पार्न सक्छन् । कथाको पुस्तकहरूको लिस्टमा यो पुस्तक पनि उत्कृष्ट पुस्तक हो भन्नेमा दुई मत नरहला । अनावरणलाई परिमार्जित द्वितीय संस्करणको प्रकाशन कलम प्रकाशनले गरेको हो । यति सुन्दर कथाकृतिका निम्ति विजय सापकोटालाई हार्दिक बधाई ।
प्रतिक्रिया