काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले कमलादीस्थित एक सिनेमा हलमा कार्यक्रमको आयोजना गरी बुधबार साँझ ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । एक्सनका दृश्यलाई प्राथमिकताका साथ समावेश गरिएको पाइन्छ । भारतीय कलाकारहरूलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।
कार्यक्रममा निर्देशक पन्त, नायिका एवं निर्माता नतिा ढुंगाना, नायक हरिहर अधिकारी, नायिका गरिमा शर्मालगायत उपस्थित थिए । फिल्मका अन्य कलाकार रेखा थापा, विपना थापा, सञ्चिता लुइँटेल उपस्थित थिएनन् । त्यस्तै, यस फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहान भने अनुपस्थित रहे । उनीहरू प्रिमियरमा भने उपस्थित हुने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ ।
कार्यक्रममा ढिला आइपुगेकी नायिका शर्माले सडक दुर्घटनामा परेर अलमलमा परेको सुनाइन् । ढिला आएकामा माफी माग्दै उनले भनिन्, ‘दुर्घटना भयो । खुट्टामा चोट लाग्यो । त्यही भएर म ढिला आइपुगेँ ।’
निर्मातासमेत रहेकी नीताले फिल्मको लगानीबारे पनि खुलाइन् । भारतका चल्तीका कलाकारहरूलाई लिएर पनि फिल्म ६ करोडमा लगानी निर्माण सम्पन्न भएको उनको भनाइ छ । उनले स्पष्ट पारिन्, ‘प्रचार र कलाकारका प्राविधिको पारिश्रमिकका सबै गरेर ६ करोड लगानी भएको छ ।’
त्यस्तै, लेखकसमेत रहेका हरिहरले भने फिल्म आफूले सोचेकोभन्दा उत्कृष्ट बनेको बताए । उनले भने, ‘मैले कथा लेख्दा सोचेको भन्दा फिल्म उत्कृष्ट बनेको छ ।’ नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको लेखक हरिहर र प्रतीक पौडेलले मिलेर लेखेका हुन् । पटकथा निर्देशक पन्त र हरिहरले लेखेका हुन् । यो फिल्म नेपाली, हिन्दी र तेलगु भाषामा प्रदर्शन हुने बताइएको छ । नेपालमा हिन्दी र नेपाली २ भाषामा प्रदर्शन गर्ने योजनामा निर्माता नीता रहेकी छन् ।
प्रतिक्रिया