मानव तस्करीमा मुछिएपछि राजीनामा

विराटनगर । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । केही दिनअघि प्रदेश सरकारको स्वीकृति नलिईकन विदेश गएका मन्त्री अधिकारीको चौतर्फी आलोचना भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।

मन्त्री अधिकारीलाई मानव तस्कर गिरोहसँगै जापान पुगेको आरोप लागेको छ । सो आरोपपछि पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मेरो निजी जापान भ्रमणको विषयलाई लिएर केही टीकाटिप्पणी बाहिर आए,’ उनले भने, ‘राजनीतिमा नैतिक खडेरी रहेकाले यस्ता टीकाटिप्पणी सुनिसकेपछि पदमा बसिरहन उचित लागेन ।’


नेकपा एमालेबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–२ को (ख) बाट प्रदेशसभामा निर्वाचित अधिकारी ४ जेठ २०८१ मा आन्तरिक मामिलामन्त्री भएका थिए । उनले ११ कात्तिकदेखि १५ कात्तिकसम्म जापान भ्रमण गरेका थिए । जापान भ्रमणका विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मौखिक जानकारी गराए पनि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको थिएन ।

विवादमा आएसँगै मन्त्री अधिकारीले आफू दलालको फन्दामा परेको स्वीकार गर्दै मार्गप्रशस्त गर्न राजीनामा दिएको बताइएको छ । मन्त्री अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुन निम्तो आएको थियो । उनलाई पठाइएको निम्तोमा अक्टोबर २९ देखि नोभेम्बर ३ सम्म कार्यक्रमको तालिका थियो । उनलाई जापान जाने व्यवस्थापन मोरङ घर भई काठमाडौँ बस्दै आएका एक एमाले कार्यकर्ताले मिलाएका थिए ।

अधिकारीका अनुसार २५ अक्टोबरमा भिसा लाग्यो । उनी २७ अक्टोबरमा जापानका लागि उडे । टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए । तर, आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर हिँडेका उनी हङकङ पुगेपछि झस्किए । हङकङमा ट्रान्जिटका बेला उनीसँगै कार्यक्रममा सहभागी हुन हिँडेको भन्दै ३ जना नेपाली भेट्न आए । भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटाले उनलाई भेटेका थिए ।

तीनै जनाको साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोसी प्रदेशको सहायक स्तरको कर्मचारीको परिचयपत्र थियो । मन्त्रालयको परिचयपत्र बोकेका ३ जनालाई सोधीखोजी गर्दा टोकियोमा पुगेपछि नफर्किने जबाफ दिएका थिए । अवैध रूपमा मानिस ओसारपसार गर्ने समूहले आफूसँगै ३ जनालाई जापान पुर्याउन लागेको थाहा पाएपछि अधिकारी झस्किएका थिए ।

टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा नगई आफूसँग गएका तीनै जनालाई लिएर नेपाल फर्किए । ‘कार्यक्रममा गएको भए उनीहरू लुक्ने थिए, त्यसैले गइनँ,’ उनले भने, ‘सँगै नेपाल फर्किएर उनीहरूलाई प्रहरीको जिम्मा लगाएँ ।’ अधिकारीका अनुसार ३ जनालाई जापान लैजाने भनेर पैसा पनि उठाएको देखिएको छ । हङकङबाटै नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी राजन अधिकारीलाई जानकारी गराएको मन्त्री अधिकारीको भनाइ छ । यहाँ आएपछि प्रहरीलाई जिम्मा लगाएको भन्दै उनले भने, ‘अनुसन्धानका लागि प्रहरी महानिरीक्षकलाई पनि जानकारी गराएको छु ।’

प्रहरी विशेष ब्युरोले पनि अधिकारीले ३ जनालाई अनुसन्धानका लागि जिम्मा लगाएको स्वीकार गरेको छ । मन्त्री अधिकारीले आफू विमानस्थलबाटै फर्किएको दाबी गरे पनि प्रहरी स्रोतका अनुसार उनीहरूलाई जापान सरकारले डिपोर्ट गरेको थियो ।

प्रतिक्रिया