सामुदायिक विद्यालयमा खेल प्रशिक्षण सुरु गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ । स्वर्णिम योजना ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी गराउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले जानकारी दिनुभयो । यसका लागि १२ हजार १२१ जना विद्यार्थी आवेदनमार्फत इच्छा व्यक्त गरेका छन् ।

पोखरेलका अनुसार कार्तिकमसान्तभित्र छनोट प्रक्रिया सम्पन्न गर्ने योजना छ । छानिएका विद्यार्थीहरुलाई मंसिर १ गतेदेखि तालिम दिइनेछ । छनोट र तालिम सामुदायिक विद्यालयका विद्यार्थीबिच हुनेछ । प्रतियोगिताका लागि भने संस्थागत विद्यालयका विद्यार्थीलाई पनि अवसर दिइनेछ । यसअन्तर्गत मंसिर, पुस र माघ गरी करिब ३ महिना तालिम दिएर माघको अन्तिम महिनामा प्रतियोगिता आयोजना गर्ने तयारी छ ।

जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा तालिम सञ्चालन हुनेछ । जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । खेलका तालिम चलाउन नियमित कक्षा अगाडि, पछाडि, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिनेछ ।

यसरी आयोजना हुने प्रतियोगितालाई अन्तरराष्ट्रिय मापन पद्धतिअनुसार सञ्चालन गरिनेछ । यसमा हार र जितभन्दा पनि खेल क्षेत्रको प्रवर्धनका मानकहरुलाई नतिजा प्राप्तिको सूचक बनाइनेछ ।

प्रशिक्षणका लागि १७ विधाका खेल छानिएका छन् । यसरी छानिएका खेलहरु क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो–खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ–स्पोर्टस्, जुडो, व्याटमिन्टन, चेस र उसु हुन् ।

महानगरपालिकाले पुस्तकरहित शुक्रबारका कार्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्मका बालबालिकाका लागि २२ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’ तथा कक्षा ९ र १० का बालबालिकाका लागि १० विधामा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कक्षा ११ र १२ मा ड्रोन र रोवोटिक्सका कक्षा सञ्चालन तयारी गरेको छ । कार्यक्रम महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा कार्यान्वयन गरिएको छ ।

प्रतिक्रिया