काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने गरी सरकारले अर्को गृहकार्य सुरु गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै सरकार र घिसिङबीच सुरु भएको आन्तरिक द्वन्द्व संसद्हुँदै संसद्को लेखा समितिसम्म पुगिसकेको थियो । अहिले फेरि विवरणको नाममा १५ बुँदे स्पष्टिकरण सोधेर निर्देशक घिसिङसँग प्रतिसोध साँध्ने तयारीमा सरकार देखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले स्पष्टिकरणको शैलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई डेडिकेटेड र ट्रंक लाइन, पोल र ट्रान्सफर्मर खरिदलगायतका १५ विषयमा विवरण माग गरेका छन् । ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बसेको प्राधिकरणको बैठकबाट घिसिङलाई १५ वटा बुँदा उल्लेख गर्दै १५ दिनभित्र ती विवरण बुझाउन निर्देशन दिएको हो ।
यसअघि संसदको सार्वजनिक लेखा समितिमा समेत उद्योगीहरुले नतिरेको विद्युत बक्यौता भन्दा घिसिङको विषयमा बढी छलफल भएको थियो । समितिले पनि बक्यौताको विषयमा कुनै निर्णय दिन सकेन । यसले बक्यौता विवाद समाधानको साटो थप गिजोलिन पुगेको थियो । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने उद्योगको काटिएका विद्युतलाइन तुरुन्त जोड्न प्रधानमन्त्री केपी ओलीले दिएको ठाडो आदेश मान्न आलटाल गरेपछि काटेकापछि प्रधानमन्त्री ओली घिसिङसंग रुष्ट थिए । घिसिङले लिखित आदेश मागेपछि विद्युत नियमन आयोगलाई प्रयोग गरी पत्र पठाएर उद्योगको लाइन जोडिएको थियो ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरू र सञ्चालक समितिले गरेका निर्णयहरूसहित स्पष्टिकरण दिन निर्देशक घिसिङलाई भनिएको छ । घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत पेस गर्न सरकारले भनेको छ ।
त्यसैगरी प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको पद र योग्यता बारेको विवरण, फस्र्योट हुन बाँकी बेरुजुको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।
तर, मन्त्री खड्काले भने यसलाई स्पष्टिकरण माग्ने भन्दा पनि रेकर्डका लागि उक्त विवरण माग गरिएको बताइसकेका छन् ।
यस्ता छन् माग गरिएका १५ बुँदे विवरण
१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरू ।
२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी) ।
३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरूका व्यावसायिक संस्थाहरूसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारी पत्रहरूको विवरण ।
४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूमा रहेको प्राधिकरणको सेयर संरचना एवं ती कम्पनीहरूको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको विवरण । साथै, ती कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरूको विवरण ।
५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूको विगत ४ वर्षको वित्तीय विवरण ।
६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरूबाट ‘पावर निकासी’ पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरूको विवरण ।
७. हिमाल पावर लिमिटेडद्वारा प्रवद्र्धित ६० मेगावाटको खिम्ति–१ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण/प्रतिवेदनहरू ।
८. विगत ४ आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम, स्वीकृत भएको रकम, भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।
९. विगत ४ वर्षमा भएका सञ्चालक समितिका सदस्यहरूको विदेश भ्रमणसम्बन्धी विवरण । ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोत सम्बन्धी विवरण ।
१०. डेडिकेटेड फिडर/ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू ।
११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्था सहित) ।
१२. हाल बोलपत्र आव्हानको लागि तयारी भइरहेको स्मार्ट मिटरलगायतका वस्तु÷सामाग्रीहरूको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकमसहित) ।
१३. नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरूमा सिमेन्टेड पोल प्लान्ट स्थापना गरी उत्पादन गरेका पोलहरूको लागत मूल्य, बोलपत्रहरूबाट खरिद भएमा विभिन्न पोलको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरूको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।
१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।
१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को–को कार्यरत रहेका छन् ? उनीहरूको पद र योग्यता खुलेको विवरण ।
प्रतिक्रिया