पूर्वराजा ज्ञानेन्द्र शाह ४ दिने भुटान भ्रमणबाट आइतबार स्वदेश फर्किएका छन् । भुटानका राजाको आमन्त्रण उनी असोज १७ गते घटस्थापनाको दिन सपरिवार थिम्पु प्रस्थान गरेका थिए । व्यक्तिगत रूपमा पूर्वराजा शाह भ्रमणमा निकै रुची राख्छन् । भ्रमणका लागि भुटानका राजाले आमन्त्रण गरेदेखि नै नेपालको राजनीतिक तथा कूटनीतिक वृत्तमा विशेष चर्चा हुन थालेको थियो ।
भ्रमणका क्रममा भुटानको राजदरबारले जुन किसिमको स्वागत सत्कार तथा आतिथ्यता प्रदान गर्यो त्यसलाई लिएर नेपालका राजावादीहरू उत्साहित हुनु स्वभाविकै हो । सरसर्ती हेर्दा राजनीतिक तथा कूटनीतिक क्षेत्रमा खासै हैसियत नभएको सानो देश हो भुटान ।
नेपालमा राजतन्त्र पुनर्वहालीको पक्षमा माहौल बढाउने सामथ्र्य राख्ने हैसियत भुटानका राजपरिवारको छैन । तै पनि राजावादीहरू उत्साहित किन भइरहेका छन् ? भन्ने प्रश्नलाई विज्ञहरूले विभिन्न कोणबाट विश्लेषण गरेका छन् । भुटानले गरेको आमन्त्रण र सत्कारलाई भारतसँग जोडेर हेरिएको छ । किनकी भारतको स्वीकृतिविना भुटानले एक पाइला पनि कूटनीतिक कदम चाल्न सक्ने अवस्था छैन ।
भुटानको रक्षा र परराष्ट्र मन्त्रालय भारतको अधिनमा छ । भुटान भनेको भारतको अर्धउपनिवेशिक देश हो । त्यसैले भारतको संकेतमै भुटानले नेपालका पूर्वराजालाई वहालवाला राजाको जस्तै सत्कार गरेको विश्लेषण गरिएको हो । ६ महिनाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको भुटान भ्रमणसँग पूर्वराजा शाहको यो भ्रमण जोडिएको राजावादीहरूको भनाइ छ ।
नेपालबाट राजतन्त्र भारतकै कारण फालिएको र भारतले चाह्यो भने पुनवर्हाली हुने विश्लेषण गर्नेहरू पनि धेरै छन् । भारतले नेपाललाई भुटानजस्तै अर्धउपनिवेश बनाउने प्रस्ताव राजासमक्ष राखेको तर राजाले नमानेका कारण गणतन्त्र आएको दावी राजावादीहरूले गर्दै आएका छन् । यदि पूर्वराजा शाह नेपाललाई भुटानी मोडलमा लैजान तयार हुने हो भने राजतन्त्र पुनवर्हालीका लागि भारतले मद्दत गर्ने विश्लेषण धेरैको छ ।
भारतको पक्षमा कलम चलाउँदै आएका नेपालका केही पत्रकारहरूको प्रतिक्रिया पढ्ने हो भने यो विश्लेषणलाई नजरअन्दाज गर्न मिल्दैन । तर, पूर्वराजा शाहले नेपाललाई भुटानी मोडलमा लगेरै भए पनि पुनवर्हाली हुन चाहेका हुन् त ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्छ । किनकी पूर्वराजा शाहले अघि सार्ने गरेको राष्ट्रवादको अस्त्रसँग भुटानी मोडल कहीँ कतै मेल खाँदैन । राष्ट्रवादको अस्त्र र भुटानी मोडल परस्पर विरोधी हुन् ।
विगत डेढ–२०० वर्षको विश्व इतिहास हेर्दा जननिर्वाचित राष्ट्रप्रमुख विस्थापित भई राजतन्त्र सुरु भएका उदाहरण छैनन् । तर फालिएको राजतन्त्र पुनवर्हाली भएका छिटफुट उदाहरणहरू छन् । जनताले चाहे भने राजतन्त्र पुनर्वहाली गर्न नसक्ने होइनन् । लोकतन्त्रको अनुभूति जनताले गर्न पाएनन् भने राजतन्त्र ठीक भन्ने माहौल बन्न सक्छ । पछिल्ला केही वर्षहरूको अवस्था हेर्ने हो भने जनताले लोकतन्त्रको अनुभूति गर्ने वातावरणमा ह्रास हुँदै गएको छ ।
सत्ता सञ्चालकहरू यो मामिलामा चुकेकै कारण पूर्वराजा शाहको लोकप्रियता बढेर गएको छ । यही अवस्थाले निरन्तरता पाउँदै गयो भने राजतन्त्र पुनवर्हालीको पक्षमा जनता सडकमा नआउलान् भन्न सकिन्न । पूर्वराजा शाह पुनवर्हालीको अभियानमा छन् भन्ने कुरा छर्लंग छ । तर भुटानका राजपरिवारसँगको हिमचिमले लोकप्रियता बढाउँदैन भन्ने हेक्का उनले राख्न सकेको देखिन्न ।
मातृभाषा नेपाली भएकै कारण भुटानका राजाले लाखौँ जनता लखेटेको विभत्स घटना कालो इतिहासका रूपमा कहिल्यै नमेटिने गरी अंकित भइसकेको छ । लखेटिएका जनताले मात्रै होइन नेपाली मातृभाषा भएकाहरू चाहे विश्वका जुनसुकै देशमा बसेका होउन्, उनीहरूले भुटानको राजतन्त्रलाई ज्यादै घृणा गर्छन् ।
सामान्य विवेक पुर्याउन नसकेकै कारण २४० वर्षको विरासत जोगाउन नसकेर ज्ञानेन्द्र शाह पूर्वराजा बनेका हुन् । उनी हँसिलोअनुहार बनाएर भुटानबाट फर्केको भिडियो दृश्य देशविहीन बनेका लाखौँ नेपाली भाषीका लागि कत्ति पनि प्रिय हुन सक्दैन ।
प्रतिक्रिया