निर्देशक केशवदेखि विभिन्न कलाकारहरूलाई म्युजिक अवार्ड प्रदान

काठमाडौँ । निर्देशक केशव कोइरालादेखि विभिन्न कलाकारहरूलाई म्युजिक अवार्ड प्रदान गरिएको छ । चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड–२०२४ समारोहमा वरिष्ठ अभिनेता शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रूपमा सम्मानित गरिएको छ ।

स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेसनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रूपमा आयोजना गरेको अवार्ड समारोहमा अभिनेता श्रेष्ठले पाकिस्तानी फिल्ममा समेत अभिनय गरेर नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गरेकोमा उक्त सम्मान अर्पण गरिएको हो । सम्मानित विभिन्न विधाका कलाकर्मी, श्रष्टाहरूलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहितको व्यक्तिहरूले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए ।

समारोहमा विभिन्न सर्जकहरूलाई बेस्ट अवार्ड प्रदान गरिएको थियो । पप आधुनिक विधातर्फ समीर राई ‘बेस्ट लिरिसिस्ट’, सुमन राई ‘बेस्ट सिंगर’, साक्षी लम्साल ‘बेस्ट मोडल’ तथा गोपाल ढकाल ‘बेस्ट म्युजिक भिडियो डाइरेक्टर’ उत्कृष्ट भए । बेस्ट फेसन डिजाइनर फर म्युजिक भिडियोबाट दिलमाया मगर, सरिता भारतीले बेस्ट सिंगर, प्रशान्त मगरले बेस्ट कोरियोग्राफर, केशव कोइरालाले बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जित्न सफल भएका थिए ।

३ दशकदेखि निर्देशनको क्षेत्रमा सक्रिय व्यस्त भिडियो निर्देशक तथा कोरियोग्राफर केशव कोइरालाले योगेश तामाङको स्वर, संगीत रहेको जुनको किरण बोलको गीतको भिडियोबाट बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

प्रतियोगिताको निर्णायकहरूमा गीतकार दयाराम पाण्डे, सञ्चारकर्मी राजेन्द्र बानिया, निर्देशक देवेन्द्र पाण्डे, छायांकार रविन्द्र बराल तथा अभिनेता दिनेश केसी रहेका थिए । समारोहमा कोरियोग्राफर विवेक श्रेष्ठ, समाजसेवी सबित श्रेष्ठ, मोडल अनुपम श्रेष्ठ, हेयर स्टाइलिस्ट सोन के. शर्मा, मेकअप आर्टिस्ट सोनाली शिल्पकार, ब्युटिसियन करुणा पुरी, व्यवसायी सम्झना श्रेष्ठ, अभिनेता तथा कोरियोग्राफी कृष्ण रसाल लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया