जनकपुरधाम । जनकपुरको प्रख्यात कलेज मध्ये एक रहेको मिट क्याम्पसलाई केही व्यक्तिले जबरजस्ती बदनाम गर्ने प्रयास गरिरहेको क्याम्पस प्रमुख मनोज साहले आरोप लगाएका छन् ।
मंगलबार सौर्यकर्मीसँग कुराकानी गर्दै प्रमुख साहले जनकपुरधामको शिक्षा क्षेत्रलाई देशव्यापीरूपमा उत्कृष्ट बनाउँदै लग्दै गरेको अवस्थामा मिट क्याम्पसलाई विवादमा ल्याएर बदनाम गर्ने षड्यन्त्र भएको आरोप लगाए । उनले भने, ‘आफूले जनकपुरधाम उपमहानगरपालिकाकै शिक्षा नीति अनुरूप काम गरिरहेको र यसमा केही फेरबदल भएर आफू परिवर्तन गर्न तयार रहेको अवस्थामा सूचना माग्ने नाममा होहल्ला र विवाद निम्त्याउनु शिक्षा क्षेत्रलाई धराशायी तुल्याउनु खोज्नु हो ।’
शुल्क बढी लिएको आधार बनाएर सूचना माग्ने नाममा नेविसंघका पदाधिकारी अराजक रूपमा प्रस्तुत भई धाकधम्की दिएको उनले आरोप लगाए । उनले सूचना माग्न कसैलाई पनि नरोकेको बताउँदै सूचना माग्ने प्रक्रिया गलत रहेको बताए । ‘हामीहरूको आधिकारिक निकाय स्थानीय तहबाट सहज रूपमा उहाँहरूले सूचना पाउन सक्नुहुन्छ’, उनले भने, ‘तर त्यहाँ नगई बिना कुनै सूचनाको एक्कासि क्याम्पसमा आएर अराजक ढंगले प्रस्तुत हुनु गलत हो ।’
उनले हरेक सूचना सबैलाई दिन नमिल्ने बताउँदै विद्यार्थीको नामावलीसहित अभिभावकको विवरण दिनु तिनीहरूको गोपनीयता रहेकोले भोलिको दिनमा ती सूचनाको दुरुपयोग हुन सक्ने हुँदा त्यस्ता सूचना दिनबाट पन्छिएको बताए ।
‘यदि उहाँहरूलाई शुल्कमै आपति छ भने उच्च मावि तहका आधिकारिक निकाय स्थानीय तह हो । त्यसले ग्रेड निर्धारणको माध्यमबाट जुन दररेट निर्धारण गर्छन् हामी त्यसै अनुरूप लिन्छौँ’, उनले भने ।
नेविसंघका साथीहरूले जनकपुरधाममा आएर शुल्क बढी लियो भने फिर्ता र समयोजन गर भनी धाक धम्की दिइरहेका छन् । तर काठमाडौँमा कक्षा ११ र १२ को अढाइ लाख रुपैयाँसम्म शुल्क लिइरहेका छन् । त्यहाँ गएर किन बोल्दैनन् प्रतिप्रश्न गर्दै साहले भने हामीहरू नेपालभरिमै सस्तो दरमा पढाइरहेको अवस्थामा यहाँ आएर अराजकता मचाउनु न्यायोचित भएन । यसप्रति सम्बन्धित पार्टी र संगठनले पनि चासो लिन जरुरी छ ।
यता निजी क्याम्पसहरूको संगठन हिसान धनुषाका अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधामका क्याम्पसहरूले शिक्षामा ल्याएको गुणस्तरीयता र न्यून शुल्कका कारण विद्यार्थी काठमाडौँ लगायतका क्षेत्रमा लाखौँ तिर्न नगई यहीँ पढिरहेको र काठमाडाँै लगायतका क्षेत्रमा विद्यार्थी यहाँबाट जान बन्द भएपछि त्यहीँबाट यहाँ भाँडभैलो मच्चाउने रणनीति स्वरूप भइरहेको बताएका छन् ।
सूचना माग्ने नाममा बिनाकुनै जानकारीको एक्कासि क्याम्पसमा प्रवेश गरी यतिकै शुल्क, यति विद्यार्थीलाई छात्रवृत्ति दिनु लगायतका धाकधम्की दिनु, विद्यार्थीलाई जानकारी गराउने बहानामा बिनाइजाजत कक्षाकोठामा गई पढाइमा बाधा गरी त्रासको वातावरण बनाउनु गलत रहेको उनले बताए ।
उनले भने, ‘हामीहरूको यहाँको अभिभावकीय निकाय स्थानीय तह हो । हामी उच्च मावि तहका निजी क्याम्पसहरूले लिइरहेको शुल्कदेखि लिएर छात्रवृत्ति र विद्यार्थी संख्याको विवरण उपलब्ध प्रत्येक वर्षमा बुझाउँदै आएका छौँ । त्यहाँबाट सहज ढंगबाट लिन सकिन्छ नभई त्यहाँबाट लिखित स्वीकृति लिएर आएमा दिन सक्छाँै । नभए राष्ट्रिय सूचना आयोगको प्रक्रियामा आएर विधिपूर्वक हामी सूचना उपलब्ध गराउनेछौँ ।’
प्रतिक्रिया