बिहीबार रातिदेखि शनिबार अपरान्हसम्म लगातार भएको भीषण वर्षाका कारण धेरै ठूलो धनजनको क्षति भएको छ । सयौँ मानिसको मृत्यु भएको छ, सयौँ बेपत्ता भएका छन्, सयौँ घाइते भएका छन् । गण्डकीदेखि पूर्वका सबैजसो सडकमा क्षति पुगेको छ । कैयौँ जलविद्युत् उत्पादन केन्द्रहरू क्षतिका कारण बन्द भएका छन् । निजी तथा सरकारी भवनहरूको पनि त्यति नै ठूलो क्षति भएको छ । खेतीपाती रहेको कति जग्गा जमिन बगरमा परिणत भयो ? भन्ने लेखाजोखा छैन । २०७२ सालको भूकम्प यताको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति मानिएको छ । यदि, पूर्वसूचना नभएको भए २०७२ सालको विनासकारी भूकम्पको भन्दा पनि ठूलो धनजनको क्षति हुने रहेछ भन्ने कुरा स्पष्ट देखिएको छ । तर, पूर्व सूचना हुँदाहुँदै पनि, मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन पटकपटक बुलेटिन प्रकाशित गर्दा पनि, सरकारले राजमार्गहरूमा रात्रीकालिन यात्रा नगर्न सूचना जारी गर्दा गर्दै पनि निकै ठूलो धनजनको क्षति भएको छ । कतिपय मानवीय क्षति लापरबाहीका कारण भएको छ भने कतिपय क्षति राज्य संयन्त्रमा रहनेहरूको कमजोरीका कारण भएको छ ।
शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा राजधानी काठमाडौँ उपत्याका तथा आसपासका क्षेत्रमा भएको वर्षाले यस अघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको मौसम विज्ञान विभागले जनाएको छ । विगतमा पनि काठमाडौँ उपत्यकाका कतिपय ठाउँमा भीषण वर्षा नभएको होइन । तर विगतमा उपत्यकाको सबै जलाधार क्षेत्रमा एकैचोटी एकनासले लामो अवधिसम्म भीषण वर्षा भएको थिएन । उदाहरणका लागि हनुमन्ते जलाधार क्षेत्रमा भीषण वर्षा हुँदा बल्खु जलाधार क्षेत्रमा त्यति ठूलो वर्षा हुँदैनथ्यो । बागमती जलाधार क्षेत्रमा भीषण वर्षा हुँदा नख्खु जलाधार क्षेत्रमा त्यति ठूलो वर्षा हुँदैनथ्यो । तर यसपटक काठमाडौं उपत्यकाका उत्तर, दक्षिण, पूर्व, पश्चिम सबै दिशाका खोला तथा नदीका जलाधार क्षेत्रमा एकैचोटी लामो समयसम्म भीषण वर्षा भयो ।
जसका कारण चोभारको गल्छीले पानीको बहाव धान्न नसक्दा बागमती नदीको बाढी प्रवाहमा गतिरोध उत्पन्न भयो । यसको प्रभाव बागमतिका सबै सहायक खोलाहरूमा पर्यो । जसका कारण उपत्यकाका करिब १० प्रतिशत घरहरू आंशिक तथा पूर्ण डुबानमा परे ।
भीषण वर्षा हुँदै छ भन्ने अग्रिम सूचना पाउँदापाउँदै उच्च सतर्कता अपनाउन नसक्नु त कमजोरी हुँदै हो, भीषण वर्षा आरम्भ भइसकेपछि र डुबान बढ्दै गएपछि थप सतर्कता अपनाउँदै उद्धारको काम समयमै हुन नसक्नु झन् ठूलो कमजोरी हो । यो ममिलामा राज्य संयन्त्रमा रहनेहरूको कमजोरी स्पष्ट देखिएको छ । जति मानवीय क्षति भएको छ, समयमै उद्धार गरिएको भए र राज्य संयन्त्रमा रहनेहरूले थोरै पनि स्वविवेक पुर्याएको भए त्यसको आधाभन्दा कम क्षति हुन्थ्यो । उदाहरणका लागि ललितपुरको एउटा परिवार ४ घण्टासम्म टहराको छानामा चढेर बचाउ, बचाउ भन्दै गुहार मागिरह्यो, तर हेर्दाहेर्दै टहरो ढल्यो, उनीहरू बाढीमा बगे ।
धन्न स्थानीय सहासी युवाहरूले जोखिम मोलेरै उद्धार गरेका कारण ४ मध्ये ३ जनाको ज्यान बच्यो । यो घटनामा नेपाल प्रहरीको ठूलो कमजोरी देखिन्छ । त्यसो त काठमाडौँको नागढुंगाभन्दा करिब डेढ किलोमिटरर पश्चिमतर्फ झ्याप्ले खोलामा शनिबार बिहानीपख लेदो सहतिको पहिरो खस्दा काठमाडौँ आउँदै गरेका कैयौँ सवारी साधनहरू घण्टौसम्म सडकमै थुनिए । केही घण्टापछि माथिबाट पहिरो खसेर ती थुनिएका कतिपय सवारी साधनहरू पुरिए ।
यो दुर्घटनमा करिब १०० जना जतिको ज्यान गएको अनुमान गरिएको छ । ती थुनिएका सवारी साधनहरूलाई सुरुङमार्गमार्फत उपत्यका प्रवेश गर्ने बन्दोबस्त समयमै मिलाइएको भए मानवीय क्षति हुने थिएन । यो मामिलामा पनि नेपाल प्रहरी चुकेकै हो ।
गत वैशाख ३ गते ‘ब्रेक थ्रुु’ गरिएको यो सुरुङ मार्ग यसअघि नै आपतकालीन अवस्थामा प्रयोगमा ल्याइसकिएको थियो, तर यसपटक यस्तो आपत पर्दा पनि किन समयमै प्रयोगमा ल्याइएन ? भन्ने प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन । यो गम्भीर त्रुटी गृह मन्त्रालयको हो या भौतिक पूर्वाधार मन्त्रालयको हो ? छानबिन हुनु जरुरी छ ।
प्रतिक्रिया