रौतहट । प्रधानाध्यापकको सरुवाको विषयलाई लिएर रौतहटको देवाहीगोनाही नगरपालिकामा अवस्था तनावग्रस्त बनेको छ । करिब ३ घण्टासम्म नगरपालिका तनावपूर्ण बनेको थियो । नगरप्रमुुख प्रेमलाल साहको विरूद्व विद्यार्थीहरू आक्रोशित बनेका थिए ।
देवाहीका मेयर साहले मनोमानी ढंगले एक विद्यालयको प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेको थियोे ।
नगरपालिकाको वडा–९ मा रहेको श्री जय किसान माविका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई अन्य विद्यालयमा सरूवा गरेपछि उनीहरू आक्रोशित बनेका हुन् ।
प्रअ प्रसादलाई श्री सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको भन्दै उक्त सरुवा रोक्नुपर्ने माग गर्दै विद्यार्थीहरू देवाही गोनाही नगरपालिका कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
मेयर साहले आर्थिक चलखेलको आधारमा प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरूले निकै आक्रोशित हुँदै मेयरविरुद्ध चर्को नाराबाजी गरेका थिए । पालिकाले अनधिकृत रूपमा प्रधानाध्यापक गुप्तालाई गर्न लागेको सरुवा रोक्नुपर्ने माग राख्दै सयौँको संख्यामा नगरपालिका अगाडि जम्मा भएका विद्यार्थीहरू प्रदर्शन गरेका थिए ।
परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियोे । नगरपालिका अगाडि ठूलो संख्यामा उपस्थित भएका नेपाल र सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । विद्यार्थीहरू उग्र हुन थालेपछि देवाहीगोनाहीका नगरप्रमुख साह एक कदम पछाडि हटेका छन् । नगर शिक्षा समितिको बैठक स्थगित गराएका थिए ।
प्रतिक्रिया