जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका ९ थुनुवामध्ये सात जना पक्राउ परेका छन् ।
लागूऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन् ।
उनीहरुलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
यसअघि आजै लखौरीबाट लागूऔषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो ।
राति भेन्टिलेसन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए । आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर उनीहरु फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो ।
अझै धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया पक्राउ पर्न बाँकी रहेको बताइएको छ ।
एक साथ ९ जना थुनुवा हिरासत फोडेर फरार भएपछि घटनाको सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रवक्ता दिपक भारतीले घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिने बताउँदै प्रदेश प्रहरीले पनि छानबिन समिति बनाउने बताए । घटनास्थलको प्रकृति हेर्दा भेन्टिलेसनको रड ह्याक्सो ब्लेडले काटेर थुनुवा फरार भएको देखिएको उनले बताए ।
‘थुनुवा कक्षमा रड काट्ने ह्याक्सो ब्लेड कहिले गयो, कसको लापरबाहीले गयो सबै छानबिन हुन्छ’, उनले भने । अहिले फरार रहेका दुई जनालाई पक्राउ गर्न जनपथ, सशस्त्र र दंगा प्रहरी परिचालन गरिएको प्रवक्ता भारतीले जानकारी दिए ।
प्रतिक्रिया