‘सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सफल’

रौतहट । भनिन्छ गर्दा के हुँदैन ? मधेस प्रदेशको धेरैजसो विद्यालयहरूमा अर्काले सहयोग गरे विद्यालय सुधारछु भन्ने पर्खाईमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिहरू हुन्छन् । तर, आफैँले गर्दा सुधार हुँदोरहेछ भन्ने जल्दाबल्दा उदारहण हो श्री प्राथमिक विद्यालय भीमडाबर ।


रौतहटको गरुडा नगरपालिका–७ भीमडाबरमा रहेको प्राथमिक विद्यालयका प्रधान शिक्षक रिंकु यादवले आफ्नो लगन र मिहिनेतले विद्यालयलाई सुन्दर बनाएकी छन् । करिब २०० विद्यार्थी नियमित रूपमा पढन आउने विद्यालयको विद्यार्थीलाई आफ्नो निजी लगानीमा टाइ बेल्ट प्रदान गरी निजी विद्यालयजस्तो अनुभूति गराएकी छन् ।


अभिभावकसँग नियमित रूपमा भेटघाट गर्दै आफ्नो कमीकमजोरीको बारेमा सल्लाह गरी सुधार गर्दै आइरहनुभएकी प्रधान शिक्षक यादव विद्यालयको भौतिक विकासको क्षेत्रमा पनि प्रगति गराएकी छन् । एउटा एनजिओसँग समन्वय गरी विद्यालयलाई मर्मत गराउनुका साथै नगरपालिकाको सहयोगले विद्यालयको भौतिक संरचना परिवर्तन गरी धेरै राम्रो बनाउन सफल भएकी छन् ।


विद्यालयमा अभिभावकहरू नियमित रूपमा आउने गरेको र पढाइका साथै भौतिक र अतिरिक्त क्रियाकलाप समेतले अभिभावक सन्तुष्ट रहेको प्रधान शिक्षक यादवको भनाइ छ । आवश्यकताअनुसार विद्यालयमा स्वास्थ्य शिविर राखी विद्यार्थीको स्वास्थ्य परीक्षण गराई नियमित रूपमा विद्यालय खाजाको गुणस्तरीय बनाएका कारण अभिभावक र विद्यार्थीको आकर्षण विद्यालयप्रति बढेको छ ।


विद्यालयमा सबै घन्टी र सबै विषय पढाइ भइरहेको प्रधान शिक्षक यादवको भनाइ छ । निजी विद्यालयको सरह पढाइ र अन्य सुविधा विद्यालयमा प्राप्त भइरहेकोले अभिभावक पनि धेरै सन्तुष्ट रहेको यादवको दाबी रहेको छ । विद्यार्थी, अभिभावक र शिक्षक सबै सन्तुष्ट रहेकाले आफ्नो मिहिनेत सफल भएको प्रधान शिक्षक यादवको भनाइ रहेको छ ।

प्रतिक्रिया