हेटौँडा । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका १० वटा विद्यालयलाई सर्वोत्कृष्ट विद्यालयको रूपमा सम्मानित गरेको छ । शिक्षा दिवसका अवसरमा बुधबार हेटौँडामा आयोजित कार्यक्रममा २०८० सालको एसइई परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने ५ वटा सामुदायिक तथा ५ वटा संस्थागत विद्यालयलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो ।
उत्कृष्ट विद्यालयहरूलाई पुरस्कृत गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले शिक्षालाई प्रमुख महत्वका साथ हेरेको बताएका छन् । केही सामुदायिक विद्यालयहरूले निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको सन्दर्भ राख्दै लामाले भने, ‘अभिभावक, शिक्षक र विद्यार्थी सबै लागिपरेर गरेपछि सफल हुँदो रहेछ त । अब अहिले कतिपय ठाउँमा त सामुदायिकमै विद्यार्थी भर्ना गर्न पनि सोर्स लगाउनुपर्नेसम्म भइसकेको छ ।’
मुख्यमन्त्री लामाले संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सबै सामुदायिक विद्यालयहरूलाई पनि संस्थागत विद्यालयहरू जत्तिकै सक्षम बनाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे । उनले सम्मानित भएका उत्कृष्ट विद्यालयबाट सकारात्मक ऊर्जा लिएर अरू विद्यालयहरू अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।
३५ जनाभन्दा बढी विद्यार्थी परीक्षामा सम्मिलित गराई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरूलाई प्राप्त औसत जिपिएका आधारमा प्रथमदेखि पाँचौँ स्थानमा आउन सफल उत्कृष्ट ५–५ वटा विद्यालय छनौट गरिएको निर्देशनालयका महानिर्देशक दिपेन्दै सुवेदीले जानकारी दिए । सम्मानित हुनेहरूमा सामुदायिकतर्फ भक्तपुरको मेधा माध्यमिक विद्यालय प्रथम, काठमाडौँको बलम्बु माध्यमिक विद्यालय द्वितीय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय विदुर तृतीय, काठमाडौँको तरुण माध्यमिक विद्यालय बालाजु चौथो र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल पाँचौँ भएका छन् । यस्तै संस्थागततर्फ ह्विज किड्स इन्टरनेसनल स्कुल बालुवाटार, रिलायन्स इन्टरनेसनल एकेडेमी कपन, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्ण, शाङ्करी स्कुल छाउनी र माउन्ट ग्लोरी इंग्लिस बोर्डिङ हाइस्कुल चागल पहिलोदेखि पाँचौँ स्थानमा पुरस्कृत भएका छन् । पुरस्कृत पाँचै वटा संस्थागत विद्यालय काठमाडौँका हुन् । पहिलोदेखि पाँचौँ स्थानमा आउने विद्यालयहरूले क्रमशः नगद १ लाख, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
सोही कार्यक्रममा ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कृत गरिएको छ । बागमती प्रदेशभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच भएको निबन्ध लेखन प्रतियोगितामा बाँसबारी माध्यमिक विद्यालय काठमाडौँकी कक्षा १० कि छात्रा स्मृति चौलागाईं प्रथम भएकी थिइन् । यस्तै स्याउरी भुमे मावि शिवपुरी, नुवाकोटकी सुमना बुढाथोकी द्वितीय र भालेश्वर माध्यमिक विद्यालय पनौती, काभ्रेपलाञ्चोककी अविना कार्की तृतीय भएकी थिइन् । विजेताहरूले क्रमशः नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
मकवानपुर
प्रतिक्रिया