काठमाडौँ । वाइवाइ मनी प्रालिले नेपालमै पहिलो पटक विभिन्न देशका सिम कार्डको कारोबार सुरु गरेको छ । नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत दर्ता भई नेपाल दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर वाइवाइ मनी प्रालिले यस्तो कार्यको थालनी गरेको हो ।
काठमाडौँको सामाखुसीमा प्रधान कार्यालय रहेको वाइवाइ मनी नेपाल दुरसञ्चार प्राधिकरणबाट विदेशी सिम कारोबारको अनुमति पाउने पहिलो नेपाली कम्पनी बनेको कम्पनीका कार्यकारी प्रमुख ताराबहादुर थापाले बताए ।
उनले भने ‘वाइवाइ मनी नेपालले हाल क्यानडा, अमेरिका, युके, कोरिया, जापान र अस्ट्रेलियाको सिम कार्डहरू वितरण गरिरहेको छ । केही दिन भित्रमा साउदी अरेबिया, न्युजिल्यान्ड, आयरल्यान्ड तथा अन्य देशको सिम कार्ड पनि वितरण गर्ने तयारी छ ।’
वाइवाइ मनीले उक्त सिम कार्डहरू निःशुल्क उपलब्ध गराउँदै आएको थापाले बताए । वाइवाइ मनी नेपालसँग विभिन्न देशका पोस्ट्पेड तथा प्रिपेड प्लानहरू उपलब्ध रहेको उनले जानकारी दिए ।
थापाले भने, ‘नेपाली विद्यार्थीहरू र कामदारलाई लक्षित गरी वितरण गरिने यी सिम कार्डहरू नेपालबाट विदेश जाने नेपाली खेलाडीहरू, फिल्मकर्मीहरू, बिरामीहरू, पेन्सनबाहकहरू, विभिन्न सभा, सम्मेलन तथा तालिमका लागि विदेश जाने नेपालीहरू, डिपेन्डेन्टहरू तथा राजनीतिक भ्रमण र साधारण घुमफिरको लागि जानेहरूलाई समेत उपलब्ध हुनेछ ।’
साथै वाइवाइ मनी नेपालसँग संसारका २ सय देशको इ–सिम पनि रहेको जनाएको छ । इ–सिमहरु अत्यन्तै सस्तो मुल्यमा उपलब्ध रहेको थापाले बताए ।
साथै, उनले वाइवाइ मनी नेपालले विदेशका विभिन्न टेलिकमसँग सम्झौता गरी ती देशहरुमा नेपाली नागरिकलाई मोबाइल्, ल्यापटप तथा विभिन्न ग्याजेटहरु मासिक किस्ताबन्दीमा उपलब्ध गराउँदै आइरहेको बताए । सिम प्लानसँग उपलब्ध हुने यस्ता मोबाइलहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको थापाले बताए ।
प्रतिक्रिया