कास्कीमा डेंगुबाट तीन जनाको मृत्यु, ३७ सयभन्दा बढी संक्रमित

गण्डकी । कास्कीमा डेंगु संक्रणबाट तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालका अनुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेंगु संक्रमण देखिएको हो ।

यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेंगुको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए ।

जनघनत्व बढी भएका ठाउँमा संक्रमण छिटो फैलने हुँदा पोखरा डेंगुको ‘हट स्पट’ बनिरहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयले डेंगुको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका संक्रमितसमेत रहेको जनाएको छ ।

संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे ।

पछिल्लो तीन महिनामा डेंगु संक्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताए । ‘डेंगुलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘संक्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुन सक्छ, यसैले डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।’

धवलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले डेंगु संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए । डेंगु संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्न उनले आग्रह गरे ।

डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न नहुने डा प्रधानले बताए । ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगुको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उनको भनाइ छ ।

‘अधिकांश संक्रमित सामान्य उपचार र हेरचाहपछि निको हुन्छन्, कतिपयमा डेंगुले जटिलता ल्याउन सक्छ, त्यसैले सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ’, उनले भने ।– रासस

प्रतिक्रिया