काभ्रे । पछिल्लो समय पशुपालक किसानलाई बिमाको दाबी रकमसमेत कम्पनीले भुक्तानी नदिएर ढिला गरिएको भन्दै जिल्लाभर पशुपंक्षी बिमा कार्यक्रम प्रभावित बनिरहेको बेला पनौती नगरपालिकाले कम्पनीसँग सम्झौता गर्दै एक फरक खाले बिमाको कार्यक्रम लागू गरेको छ । जिल्लाको पनौती नगरपालिकाले नगरका सबै पशुपालक कृषकको पशुपंक्षी बिमा निःशुल्क गरिदिन कार्यक्रम सुरू गरेको छ । उक्त कार्यक्रम भदौ ३० गतेदेखि वडा–५ देखि सुरु गरिएको छ ।
आइतबार बिहान चन्द्रप्रसाद न्यौपानेको पशु फार्मको दर्जन बढी भैँसी र बाख्राबाट नगर प्रमुख रामशरण भण्डारीले पशु प्राविधिक विजय तिमल्सिना, शिशिर दाहालको सहयोगमा ट्याग लगाएर कार्यक्रमको सुरुआत गरेका छन् । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड बनेपा र पनौती नगरपालिकाबीच भएको सम्झौताअनुसार बिमा प्रारम्भ भएको नगरका पशु सेवा शाखा प्रमुख लीलानाथ सापकोटाले बताए ।
पशुपक्षी शाखा प्रमुख सापकोटाले नगरका सबै किसानले पालेका पशुधनीको २ लाख बराबरको बिमा हुने बताए । किसानको लागतबिना पशु बिमा गरिने तर पशु क्षति भए, बिमा अवधि सकिएको खण्डमा पशुसेवा शाखामा जानकारी दिन अपिल गर्दै यस कार्यक्रममा सहयोग गर्न नगरका सबै पशुपालक किसानलाई अपिल गरेका छन् । नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले आर्थिक वर्ष २०८१÷०८२ का लागि स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत निःशुल्क पशुपक्षी बिमा कार्यक्रमको सुरुआत गरेको हो ।
यसमा पशु सेवा शाखाले ८ हजार घरधुरीका ४० हजार पशुपंक्षीमा बिमा कार्यक्रम लागू हुने अनुमान गरेको छ । शाखाले बिमा गर्दा १० प्रतिशतको आउने अभिकर्ता (वैधानिक) कमिसन झण्डै ६० लाख रुपैयाँ नगरको खातामा जम्मा गरिने व्यवस्था मिलाएको र सो कमिसनको रकम पनि सोही कार्यक्रममा खर्च गरिने चिकित्सक दीपिका रेग्मीले बताइन् ।
नगरप्रमुख रामशरण भण्डारीले यो कार्यक्रमले पशुपालक किसानलाई राहत मिल्ने बताउँदै यस अभियानले भावी दिनमा स्वरोजगार बढाउने अपेक्षा गरे । नगर उपप्रमुख गीता बन्जाराले यो कार्यक्रम पशुपालक कृषकहरूको हितमा प्रोत्साहन गर्न ल्याइएको, भन्दै जसले पशुपक्षीको स्वास्थ्य जोखिम र सुरक्षित गर्न र स्थानीय नश्लको संरक्षण पाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा वडा–५ का वडा अध्यक्ष विनोद खत्रीले सो अभियानमा आफूहरू प्रत्यक्ष सहभागी हुने बताउँदै असहज परिस्थिति आए प्राविधिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले यस कार्यक्रमले किसान र नगरको सम्बन्ध थप प्रगाढ हुने बताए । कार्यक्रममा वडा अध्यक्षहरू कृषि समिति संयोजकसमेत रहेका मोहनबहादुर भण्डारी, एनएलजी इन्स्योरेन्सका क्षेत्रीय निर्देशक राजेश मोहन प्रधान, वडा अध्यक्ष सविन ताम्राकारलगायत उपस्थिति थियो ।
पशु बिमाको प्रिमियम शुल्क पशुको जात र पशुजन्य पदार्थहरूको उत्पादनको आधारमा पशुको मूल्य निर्धारण नेपाल सरकारले गर्ने गरेको छ जसको कुल बिमांक रकम प्रिमियममा हाल ८० प्रतिशत सरकारले अनुदान दिने गरेको थियो जसको २० प्रतिशत नगरले बेहोर्नेसहित गरी शतप्रतिशत निःशुल्क बिमा कायम हुनेछ । यसअघि किसानले कुल बिमांकको प्रतिपशु ५ प्रतिशत तिर्दै आएका थिए ।
प्रतिक्रिया