ऐतिहासिक पदक विजेता पलेशाबाट खेलाडीलाई निःशुल्क स्वास्थ्य परीक्षण शुभारम्भ

काठमाडौं । काठमाडौंको बासबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार प्यारा ओलम्प्किमा ऐतिहासिक कास्यपदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निःशुल्क स्वास्थ्य परीक्षण गरेर खेलाडीलाई निःशुल्क स्वास्थ्य परीक्षण शुभारम्भ गरिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबिच खेलाडीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने त्रिपक्षिय सम्झौता कार्यक्रमको शुभारम्भ गरिएकाे हाे । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता गरिएको हो ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रबीच उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन केन्द्रले आफ्नै स्रोतबाट गर्नेछ । उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ । सो अवसरमा मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, युवा तथा खेलकुदमन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको जनाउँदै यसबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुने विश्वास व्यक्त गरे ।– तस्बिर रासस

प्रतिक्रिया