सामुदायिक पूर्वाधार उत्थानशिलता कार्यक्रम : आठबिसकोटमा सडक स्तरोन्नति सुरु

आठबिसकोट । बेलायत राजदुताबास काठमाडौंको आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा सञ्चालित सामुदायिक पूर्वाधार उत्थानशिलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजनाअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११ को झ्याम खोला गोहिरी तुसारे सडक स्तरोन्नति अगाडि बढेको छ ।

वडा नम्बर ११ का कामदार, सप्रोस नेपालका कर्मचारी, विश्व खाद्य कार्यक्रमका प्रतिनिधी, स्थानीय विपद आपत्कालिन सञ्चलान केन्द्रका प्रमुख, वडाध्यक्ष र नगरपालिकाका प्रमुखको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा विश्व खाद्य कार्यक्रमका मुकेशकुमार शर्माले कामका लागि नगदअन्तर्गत १८ देखि ५९ वर्ष उमेर भएका विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीहरुले काम गर्न मिल्ने, मादक पदार्थ सेवन गरेर काममा आउन नमिल्ने तथा कामका लागि छनोट भएका लाभग्राहीले प्राविधिकको सल्लाह अनुरुप ४० दिन बराबरको काम गर्नुपर्ने बताए । साथै, उनले लाभग्राहीले दुई किस्तामा जम्मा रकम रु ३६००० स्वयं लाभग्राहीको खातामा प्राप्त हुने जानकारी दिए।

कार्यक्रममा आठबिसकोट– ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले सम्पूर्ण कामदारलाई तोकिएको काम तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे । साथै, उनले वडाबासी सबैलाई समेट्न नसकिएको र परियोजनाको निर्देशिका अनुरुप कामका लागि नगदअन्तर्गत ४०८ घरधुरी, तालिमका लागि नगदअन्तर्गत ४० घरधुरी र निशर्त नगद सहायताअन्तर्गत ८८ घरधुरी छ्नोट भएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति अर्थात आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले कार्यक्रमलाई सम्बोधन गर्दै यो कार्यक्रमले भूकम्पबाट अति प्रभावित आठबिसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ का गरिब व्यक्तिलाई लक्षित गरी केही महिनाको खाद्य सुरक्षा होस् भन्ने हेतुले सञ्चालन हुनुका साथै स्तरोन्नतिको लागि छनोट भएका ग्रामीण सडकले यहाँका व्यक्तिको जिवनस्तर उकास्न मद्दत गर्ने बताए ।

उनले यी सडक स्तरोन्नतिको लागी नगरपालिका र विश्व खाद्य कार्यक्रमको संयुक्त लगानी रहेको र वडा नम्बर ११ को यो सडक करिब २.५ किलोमीटरमा लगानी हुने रकमले बार्है महिना सवारीसाधन चल्न सक्ने विश्वास व्यक्त गरे । साथै नगरप्रमुख केसीले खाद्य सुरक्षा अभिवृद्धि परियोजनाले सबै प्रकारका घरधुरीलाई समेटेको अर्थात काम गरी खानेलाई कामको लागि नगद, तालिमको लागि नगद र काम गर्न नसक्ने घरधुरीको लागी निशर्त नगद सहयोग गरिरहेको बताए ।

त्यसैगरी यो कार्यक्रममा समावेश नभएका घरधुरीलाई अन्य कार्यक्रममा समेट्ने गरि संघ सस्थासँग समन्वय गर्ने उनले बताए । साथै, प्रमुख केसीले आर्थिक सहयोग गर्ने बेलायत राजदूतावास काठमाडौं, विश्व खाद्य कार्यक्रम र कार्यक्रम सञ्चालन गर्ने सप्रोस नेपाललाई आभार तथा धन्यवाद ज्ञापन गरे ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया