आमाको किरिया गर्दै साउदी हिँडेका छोरा

हेटौँडा । परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न यतिखेर साउदी उडिसकेको हुनुपर्ने छिरिङ तितुङ आमाको अन्तिम संस्कार गर्दैछन् । छोरालाई ‘राम्ररी जानू है भनेर बिदा भएकी उनकी आमा आइतबार आफैँ राम्ररी घर फर्किन सकिनन् । मकवानपुरको बकैया–६ घर भएकी आमा नानीमाया तितुङलाई आइतबार मध्यान्ह घर नजिकैको कैलेनी खोला पार गर्ने क्रममा खोलाले बगायो । सोमबार बेलुकीको जहाज चढेर साउदी जानुपर्ने छिरिङलाई आफन्तले आमालाई खोलाले बगाएको खबर दिए । उनी बीचैबाट फर्कनुपर्यो ।

बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनका अनुसार खोलामा पानीको बहाव एक्कासि बढेपछि फूलमाया बेपत्ता भएकी थिइन् । ‘फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले मान्छे बगाएको देखेपछि बचाउन खोजेका रहेछन् तर सकेनन्’, भोम्जनले बताए । आइतबार प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दिनभर खोजी गरे पनि नानीमायालाई भेटाउन सकिएको थिएन । सोमबार दिउँसो मात्र उनको शव बाराको कोल्हवी नगरपालिका–२, बकैया खोलाको किनारमा झाडीमा अड्किएको अवस्थामा भेटिएको हो ।

३ छोराहरूमध्ये जेठा छिरिङलाई वैदेशिक रोजगारीमा जाँदै गर्दा बिदाइ गर्न नानीमाया श्रीमान् राजकुमारसहित शनिबार निजगढ पुगेकी थिइन् । आइतबार बिहान छोरालाई बिदा गरेर एक्लै घर फर्कंदै गर्दा उनलाई खोलाले बगाएको हो । उनका श्रीमान् राजकुमारलाई पनि श्रीमती घर हिँडेपछि निजगढमै कुकुरले टोकेर घाइते भएका छन् । कुकुरले टोकेपछि छोरालाई जहाज चढाउन काठमाडौँ हिँड्न नभ्याउँदै उनले श्रीमतीलाई खोलाले बगाएको खबर पाएका थिए ।

नानीमायाको शव पोस्टमार्टमका लागि सोमबार कलैया अस्पताल लगिएको छ । वडाध्यक्ष भोम्जनका अनुसार पोस्टमार्टमपछि बकैयामा नानीमायाको अन्त्येष्टी गरिने भएको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया