काठमाडौँ । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले बल्ल कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
केन्द्रमा कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि माओवादी केन्द्र लामो समय पर्ख र हेरको अवस्थामा रहेको थियो । तर, पार्टीबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब बढेसँगै समर्थन फिर्ता लिएको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए । गत साउन ११ गते कोसी प्रदेश सरकारबाट माओवादी बाहिरिएको थियो । कोसी प्रदेशसभा एमाले संसदीय दलका नेता कार्की नेतृत्वमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको नयाँ सरकार गठन भएको थियो ।
उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधारमन्त्री गणेशप्रसाद उप्रेती, वन, वातावरण तथा पर्यटनमन्त्री नारायणबहादुर मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन, वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर सामेल भएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै अब मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रतिक्रिया