जिम्बाबेका बाबु तथा भारतीय आमाकी छोरी डेमोक्र्याट उम्मेद्वार कमला ह्यारिसका पक्षमा बाइडेन, हिलारी क्लिन्टन, बाराक ओबामा र मिचेल ओबामाको संयुक्त अभियानलाई इतिहासकै हेभिवेट चुनावी अभियानको रूपमा हेरिएको छ ।
एजेन्सी । संसारको सबैभन्दा शक्तिशाली देश संयुक्त राज्य अमेरिकाका नागरिकले ५ नोभेम्बरमा आफ्नो नयाँ राष्ट्रप्रमुख चुन्दै छन् । विगतमा भन्दा अहिलेको अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासकै रोचक मोडमा पुगेको छ । डेमोक्र्याटको राष्ट्रिय सम्मेलनमा पार्टीको इतिहासकै लोकिप्रिय वक्ताहरूले विगतमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल ‘विकृत’ भएको आरोप लगाउन थालेका छन् भने पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिचेल ओबामाको बलियो साथ अहिले डेमोक्र्याट उम्मेद्वार कमला ह्यारिसलाई छ । ह्यारिसका लागि यो सबैभन्दा ठुलो बल पनि हो ।
केन्याली मुलका बाराक ओबामा सन् २००८ मा अमेरिकाको राष्ट्रपति चुनिएका थिए । अहिले डेमोक्र्याटले जिम्बाबेका बाबु तथा भारतीय आमाकी छोरी ह्यारिसलाई उम्मेद्वार बनाएको छ । यसले संसारका मानव जाती एक हौँ भन्ने मान्यतालाई अंगीकार गरेको डेमोक्र्याटहरूको मत छ ।
‘होप एन्ड चेन्ज’ को नारामा डेमोक्र्याटहरू एकजुट भएका छन् । केही अघिसम्म डोनाल्ड ट्रम्पको लगातारको आक्रमण सहन नसकेर आजित जो वाइडेनले राष्ट्रपति पदको दाबेदारी त त्यागे, तर त्यस समयसम्मको सर्वेक्षणले धेरै राज्यमा रिपब्लिकलाई अघि देखाएको थियो । वाइडेनको बढ्दो उमेरका कारण अर्को कार्यकालका लागि उपयुक्त नहुने मुद्दाले नै डेमोक्र्याटलाई आजित पारेको थियो । अहिले त्यो बुढ्यौलीको मुद्दा रिपब्लिकतर्फ सोझिएको छ ।
यो निर्वाचन संसारकै लागि चासोको विषय पनि हो । मूल रूपमा गाजामा इजरायली हमालामा सहयोग र रुसविरुद्ध लडिरहेको युक्रनेलाई दिइएको साथको नितरन्तर हुने कि नहुने भन्ने मुद्दाका लागि पनि यो निर्वाचनलाई हेरिएको छ । आप्रवासीप्रति कठोर मानिएका ट्रम्पको पराजयमा खुसी हुने अश्वेत अमेरिकनहरू पक्कै पनि धेरै हुनसक्छन् । यसलाई पनि ह्यारिसको अर्को शक्ति र साथको रूपमा हेरिएको छ ।
न्युयोर्क टाइम्सले अगस्ट महिनामा गरेको सर्वेक्षणमा ह्यारिसलाई ४ प्रतिशत सहुलियत छ । द टेलिग्राफको सर्वेक्षण भने फरक छ । टेलिग्राफको सर्वेक्षणअनुसार ट्रम्पलाई १ प्रतिशत सहुलियत छ । फ्लोरिडामा १२ देखि १५ अगस्टको बीचमा गरिएको सर्वेक्षणमा ट्रम्पलाई ५ प्रतिशत सहुलियत देखिएको छ भने अहिलेको गतिविधिले ट्रम्पलाई ८ प्रतिशत सहुलियत मिल्ने देखाएको छ ।
रेडफिल्ड एन्ड विन्सटन स्ट्रेटेजिकका लागि टेलिग्राफले गरेको पछिल्लो सर्वेक्षणमा दुवै बराबरी छन् । टेलिग्राफलाई मात्रै आधार नमानेर अन्य सबै सर्वेक्षणलाई आधार मान्ने हो भने अहिले मिचिगन, नर्थ क्यारोलिना, नाभाडा, पेनेसेल्भिनिया र भर्जिनियामा ह्यारिस अघि छिन् । जर्जियामा भने ट्रम्प अघि छन् । एरिजोनामा पनि ह्यारिस नै अघि छिन् ।
ट्रम्पले अमेरिकामा बढ्दै गएको मुद्रास्फितीलाई लिएर बाइडेनमाथि बढी आक्रमण गरेका थिए । सो आक्रमणलाई पार गर्न ह्यारिस सफल हुने विश्वास अधिकांश अमेरिकीहरूले गर्न थालेका छन् । जुलाई महिनामा ह्यारिसमा पक्षमा आएको यो परिवर्तन मात्र होइन, बाइडेन, हिलारी क्लिन्टन, बाराक ओबामा र मिचेल ओबामाको संयुक्त अभियानलाई इतिहासकै हेभिवेट चुनावी अभियानको रूपमा हेरिएको छ ।
प्रतिक्रिया