बैंकक । थाईल्याण्डको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जंगलमा खस्दा बेपत्ता भएका ९ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् ।
विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जंगलमा खसेर दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् ।
दुई पाइलट तथा सात जना यात्रुसहित ९ जना सवार जहाज बैंककको सुवर्णभूमि विमानस्थलबाट थाइल्याण्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको् छ ।
दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा जानकारी दिए । स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए ।
दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेका छन् । खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अंग तथा विमानका टुक्राहरू फेला पारेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ । तर चोन्लेटीले वेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने उल्लेख गरे ।– रासस, एएफपी
प्रतिक्रिया