इलाम । पछिल्लो समय इलाममा किसानको ड्रागन फ्रुट (सिउँडी) खेतीमा आकर्षण बढ्दै गएको छ । राम्रो आम्दानी हुने भएपछि परम्परागत खेती मासेर व्यावसायिक ड्रागन फ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रविन इङनाम लिम्बूले ड्रागन फ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । उनले १ बिघा क्षेत्रमा लगाइएका ३ हजार बिरुवाबाट फलेका फल बिक्रीबाट ८ लाख र विरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका हुन् । ‘गतवर्षसम्म फल र बिरुवाबाट १२ लाख आम्दानी गरेको थिएँ’, उनले भने, ‘यस वर्ष बिरुवाहरू वयस्क हुँदै गएकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानीसमेत बढ्ने अपेक्षा गरेको छु ।’
उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । ३ वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट रोपेका छन् । उनले उत्पादन गरेको ड्रागन फ्रुट र बिरुवाको बजारको समेत समस्या छैन । व्यापारीहरू बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उनले उत्पादन गरेको ड्रागन झापाको दमकमा नै खपत हुने गरेको छ । ‘उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापा दमकका व्यापारीहरू बगानमा नै आउँछन्’, उनले भने, ‘बगानबाट प्रतिकिलोग्राम २०० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुने गर्दछ ।’ उनले उत्पादन गरेको विरुवा गाउँपालिका, वडा कार्यालय, स्थानीय फर्म तथा स्थानीय किसानहरूले नै खरिद गर्न गरेका छन् । बिरुवा सरकारी दररेटअनुसार प्रतिगोटा १०० रुपैयाँका दरले बिक्री हुने गरेको उनले बताए ।
उनले सुरुमा परीक्षणका लागि केही विरुवा रोपेका थिए । त्यहाँबाट राम्रो फल उत्पादन भएपछि फार्म दर्ता गरी परम्परागत खेतीलाई विस्थापन गरी व्यावसायिक रूपमा ड्रागन फ्रट खेती सुरु गरेका हुन् । अहिले लिम्बूको व्यावसायिक ड्रागन फ्रुट खेतीले ५ जनाको परिवारलाई स्वरोजगारसमेत बनाएको छ । आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको बताए । राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माईतराज लिम्बूले समेत व्यावसायिक ड्रागन फ्रुट खेती थालेका छन् । उनले ६ कठ्ठा जमिन लिजमा लिएर ४०० बोट ड्रागन फ्रुट रोपेका छन् ।
उनको सबै बोटहरूले उत्पादन समेत दिन थालेका छन् । ‘छथरे ड्रागन फ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका हुन् । ‘मैले ड्रागन फ्रुट खेतीबाट वार्षिक अढाई लाख रुपैयाँ आम्दानी गर्दै आएको छु’, उनले भने, ‘अन्य परम्परागत खेतीको तुलनामा मिहिनेत कम र फाइदा पनि बढी हुने रहेछ ।’
ड्रागन फ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती बिस्तार हुँदै आएको छ । ड्रागन फ्रुट फलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०÷१५ दिनसम्म नबिग्रने हुन्छ । ड्रागन फ्रुट वर्षमा ६ महिनासम्म निरन्तर फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । गर्मी समयको जेठ दोस्रो सातादेखि मंसिर दोस्रो सातासम्म मुख्य रूपमा फल दिने गर्दछ । ड्रागन फ्रुटको बिरुवा रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।
समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू विरुवा वृद्धि गर्न सकिन्छ । एकपटक बिरुवा लगाएपछि समयसमयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बू भनाइ छ ।
ड्रागन फ्रुटका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रसस्त घाम लाग्ने र समुन्द्री सतहदेखि १५ सय मिटर उचाइसम्म भएको जमिनमा गर्न सकिन्छ । यो फल वार्षिक ५० देखि १५० सेन्टिमिटर वर्षा र २० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने कृषि विज्ञहरू बताउँछन् ।
इलाम
प्रतिक्रिया