इलाम । इलामको देउमाई नगरपालिकाले नगरको तर्फबाट वितरण गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरेको छ । देउमाई नगरपालिकाले नगरको तर्फबाट सामाजिक सुरुक्षा कार्यक्रमअन्तर्गत वितरण गर्दै आएको ‘ग’ वर्ग अपांगता भत्ता, एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्ष माथि), तेस्रो लिंगी भत्ता र ज्येष्ठ नागरिक पोसाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो ।
नगरको तर्फबाट सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा भत्ता वितरण कार्य कार्यपालिका बैठकले स्थगन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रराज ऐक्तेनले बताए ।
देउमाई नगरपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई मासिक ५०० रुपैयाँ दरले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । त्यस्तै ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गर्दै आएको थियो ।
देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महलालाई मासिक १ हजार र सबै तेस्रो लिंगीलाई मासिक ५०० रुपैयाँ वितरण गर्दै आएको थियो । त्यसैगरी नगरभित्रका ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई वार्षिक रूपमा २ हजार रुपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको थियो । देउमाईले नगरको तर्फबाट सामाजिक सुरक्षा भत्तामा मात्र करोडौँ खर्चँदै आएको थियो । चालु आर्थिक वर्ष २०८१÷०८२ देखि सबै कार्यक्रम स्थगन गरिएसँगै करोडौँ रकम बचत हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई ‘सामाजिक सुरक्षा सम्बन्धी ऐन, २०७५ र सामाजिक सुरक्षा वितरण कार्यविधि, २०७७ मा भएको व्यवस्था विपरीत हुने गरी स्थानीय तहहरूद्वारा अपांगता भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएका सन्दर्भमा उक्त कार्य नगर्न÷नगराउन आवश्यक व्यवस्था मनाउने’ भनी परिपत्र गरेको थियो । सो परिपत्र प्राप्त भएपछि कार्यापालिका बैठकले सामाजिक सुरक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो ।
देउमाई नगरपालिकाले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घ रोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । देउमाईले सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत ५ हजारका दरले २ पटकसम्म, दाहसंस्कार कार्यक्रमअन्तर्गत एकमुष्ठ ५ हजार र दीर्घ रोगीलाई एकपटक ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
इलाम
प्रतिक्रिया