कुशवाहा समुदायका विभिन्न व्यक्तित्व सम्मानित

राजविराज । लवकुश जयन्ती २०८१ को अवसरमा कुशवाहा समुदायका जनप्रतिनिधि, विद्यार्थीसहित विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । कुशवाहा कल्याण समाज सप्तरीद्वारा सप्तरीको रुपनी गाउँपालिका–६ दुधैलामा सोमबार आयोजित एक समारोहका बीच उनीहरू सम्मानित भएका हुन् ।

कुशवाहा कल्याण सम्मज सप्तरीका कार्यबाहक अध्यक्ष गिरधर कुमार मेहताको अध्यक्षता तथा कुशवाहा कल्याण समाज सप्तरीका पूर्वअध्यक्ष हंशनारायण मेहताको प्रमुख आतिथ्य तथा रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको विशिष्ट आतिथ्यमा उनीहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा कुशवाहा समुदायका जननिर्वाचित तिरहुत गाउँपालिका–१ का वडा अध्यक्ष शिवनारायण मेहता, रुपनी गाउँपालिका–६ का वडा सदस्य सूर्य नारायण मेहता, कन्चनरूप नगरपालिका–९ का वडा सदस्य राजकुमार मेहता रहेका छन् ।

यसैगरी एसइई परीक्षा २०८० मा कुशवाहा समाजबाट जिल्लामै उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण ३ जना छात्रछात्रालाई सम्मान गरिएको छ । सम्मानित हुने छात्रछात्रामा रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका रविन्द्रकुमार मेहता, तिरहुत गाउँपालिकाकी काजलकुमारी मेहता र विष्णुपुर गाउँपालिकाका प्रदीप मेहता रहेका छन् ।

यस्तै आप्रवासी हकहित संरक्षण केन्द्र मधेस प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सिंहा, मधेस प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा ज्याभलिन थ्रो खेलमा प्रथम स्थान हाँसिल गरेका रुपनी गाउँपालिका–६ का मजोजकुमार मेहता र हालसालै शिक्षक सेवाबाट शिक्षकमा नाम निकाल्न सफल रुपनी गाउँपालिका–६ की नुतन कुमारी मेहता सम्मानित भएका छन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समाजका पूर्व अध्यक्ष मेहता, विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष यादवले प्रशंसा–पत्र प्रदान गरी, टीका लगाएर र दोसल्ला ओढाएर सम्मान गरे । विविध विद्याबाट कुशवाहा समाजको नाम उच्च राख्न योगदान पु¥याएकाले लवकुश जयन्ती २०८१ को अवसरमा उनीहरूलाई सम्मान गरिएको कुशवाहा कल्याण समाज सप्तरीका कार्यवाहक अध्यक्ष गिरधर मेहताले जानकारी दिए ।

प्रतिक्रिया