मधेसमा नक्कली नोटको बिगबिगी

जनकपुरधाम । मधेसमा पछिल्लो समय नक्कली नोटको बिगबिगी बढ्दै गएको पाइएको छ । मधेस प्रदेश प्रहरीको तथ्यांकलाई हेर्ने हो भने मधेसका ८ वटै जिल्लामा नक्कली नोटको कारोबार बढेको छ । एक किसिमले मधेस प्रदेश नक्कली नोट कारोबारीका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गइरहेको छ आभास भएको छ ।

प्रदेश प्रहरीका अनुसार मधेसबाट दिनहुँ नेपाली तथा भारतीय नक्कली नोट बरामद हुँदै आइरहेको छ । प्रदेश प्रहरीको तथ्यांकअनुसार प्रदेशका ८ वटै जिल्ला गरेर पछिल्लो आर्थिक वर्षमा लगभग ३६ लाख रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको छ । प्रहरीका अनुसार १ वर्षमा ३५ लाख ८६ हजार ३२० रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद भयो । यही अवधिमा १५ हजार २२० मूल्य बराबरका भारतीय नक्कली रुपैँयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रदेशका सबै जिल्लाहरूबाट प्रहरीले धमाधम नेपाली नक्कली नोट बरामद गर्न थालेका छन् । मुख्यगरी प्रदेशका ४ वटा जिल्लाबाट नक्कली नेपाली नोट बरामद भएको प्रहरीको अभिलेखमा उल्लेख छ । प्रहरी तथ्यांकअनुसार सबैभन्दा बढी रौतहट जिल्लाबाट प्रहरीले २० लाख १६ हजार रुपैयाँ बरामद गरेको छ । बाराबाट १३ लाख ८९ हजार ५०० रुपैयाँ बरामद गरेको छ । यस्तै पर्साबाट १ लाख ६४ हजार, सर्लाहीमा १६ हजार ८२० रुपैँयाँ बरामद भएको प्रहरीको तथ्यांक छ ।

सोही १ वर्षको अवधिमा प्रहरीले ३ जिल्लाबाट भारतीय रुपैँयाँ बरामद गरेकोे विवरण छ । प्रहरीले सर्लाही, रौतहट र बारा जिल्लाबाट भारतीय रुपैँयाँ बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार सर्लाहीबाट १३ हजार ३२०, बाराबाट १ हजार र रौतहटबाट ९०० भारतीय रुपैँयाँ बरामद भएको हो ।
गत वर्ष नक्कली नेपाली नोटसहित प्रदेशभरबाट ३८ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा १ जना महिलासमेत रहेको छ । नक्कली नोटको कारोबारमा पक्राउ पर्नेमा रौतहट जिल्ला अग्रस्थानमा परेको छ । उक्त जिल्लाबाट मात्र प्रहरीले १६ जनालाई पक्राउ गरेको विवरण छ ।

त्यसपछिको सूचीमा बारा जिल्ला छ । त्यहाँबाट समेत प्रहरीले १२ जनालाई पक्राउ गरेको जनाएको छ । यसैगरी सर्लाहीबाट ६ जना, पर्साबाट १ जना महिलासहित ४ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका १ जना महिलासहित ३८ जनामध्ये केही माथि भने मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार प्रदेशभरबाट १५ जनामाथि मुद्दा दर्ता भएको छ । सबैभन्दा बढी मुद्दा बारामा दर्ता भएका छन् । बारामा ५ जनामाथि प्रहरीले मुद्दा दर्ता गरेको तथ्यांक छ । प्रहरीका अनुसार सर्लाहीमा ४ जनामाथि मुद्दा दायर भएको छ । यस्तै रौतहटमा ४, पर्सा २ जनामाथि मुद्दा दायर गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश प्रहरीका प्रवक्ता सुबासचन्द्र बोहराले मधेसमा पछिल्लो समय नेपाली नक्कली नोट बढी बरामद भइरहेको स्वीकार गरे । उनले भने, ‘पछिल्लो समय बरामद भइरहेको नेपाली नक्कली नोटलाई लिएर हामी पनि चिन्तित भएका छौँ, यसको बारेमा अध्ययन गर्न विशेष टोलीले नै परिचालन गरिएको छ । खुल्ला सीमाका कारण नेपाली नक्कली नोट बरामद भइरहेको बुझिएको छ ।’

तर, यसको नियन्त्रणका लागि हामीले बैग्लै रणनीति बनाएर काम गरिरहेको उनको भनाइ छ । यद्यपि चालु आर्थिक वर्षको १ महिनाको अवधिमा खासै नक्कली नोट बरामद नभएको र सो कारोबारमा संलग्न पनि पक्राउ नपरेको उनले बताए । बोहराले भने, ‘पछिल्लोे समय नक्कली नोटका कारोबार बढेको छ, तर चालु आर्थिक वर्षमा अलि अलि बरामद भएका छन् तर ठूलो परिमाणमा भने बरामद भएका छैनन् ।’ प्रदेश प्रहरी नक्कली नोट कारोबारलाई नियन्त्रण गर्नका लागि निरन्तर अनुगमनमा लागेको बोहराले जानकारी दिए ।

प्रतिक्रिया